सुनिल शर्माले किनेपछि केएमसीको ब्यापार बढ्यो, गोल्डेन सेयरबाट मेडिकल बिजनेशमा छिरेर अर्बपति



काठमाडौं । कांग्रेस सांसदसमेत रहेका मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्माले किनेपछि काठमाडौं मेडिकल कलेज (केएमसी)को ब्यापार बढेको छ ।

बिराटनगरस्थित नोवल मेडिकल कलेजबाट मेडिकल व्यवसायमा स्थापित भएका शर्माले २०७७ भदौमा काठमाडौं मेडिकल कलेजको ४४ प्रतिशत सेयर किनेका थिए ।

शर्माको प्रवेश भएको वर्ष अर्थात् २०७७ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँको ब्यापार गरेको केएमसीले २०७८ मा १ अर्ब २८ करोड ८० लाख र २०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

केएमसीको व्यवस्थापनमा अनुभवी नयाँ प्रवर्द्धकको रणनीतिले व्यापार बढेको हो । शर्माको प्रवेशसँगै सुविधा विस्तार गरिएको थियो, जसले कम्पनीको सञ्चालन आम्दानी पनि बढाएको छ । कम्पनीले २०७७ मा १४ प्रतिशत रहेको सञ्चालन आम्दानी २०७९ मा बढाएर ३३ प्रतिशत पुर्याएको छ ।

प्याथोलोजिकल सेवाहरूको आउटसोर्सिङ, उपभोग्य खर्चमा कमी र अन्य खर्च कटौति गर्ने रणनीति लिएका कारण बिरामीको संख्या घटे पनि आम्दानी बढाउन सफल भएको हो ।

शर्माको प्रवेशसँगै केएमसीले सेवा विस्तारमा ठूलो लगानी गरेको छ । जसकारण ब्यापार पनि बढेको हो । सन् २००९ मा स्थापना भएको केएमसीले ५५६ शैयाको अस्पताल सञ्चालन गरिरहेको छ भने डे केयर सेवालाई भक्तपुरको दुवाकोटमा विस्तार गरेको छ ।

थप लगानीलाई आधार मानेर विश्लेषण गर्ने हो भने कम्पनीले बढाएको आम्दानी अझै पर्याप्त छैन । सुविधा थप्न र सुविधाको स्तरोन्नतिका लागि पछिल्ला ३ वर्षमा केएमसीले २ अर्ब ४७ करोड रुपैयाँ लगानी बढाएको छ । केएमसीले १ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ ।

नेपालमा पनि विशेषगरी काठमाडौंमा धेरै मेडिकल कलेज रहेको र अन्य अस्पतालहरूबीच पनि तीव्र प्रतिस्पर्धा रहेका अस्पतालमा बिरामीहरुको संख्या सँगै ब्यापार घट्दोछ । पछिल्लो समय सरकारी अस्पतालहरूको स्तरोन्नति पूर्वाधार र आधुनिक चिकित्सा उपकरणहरूले थप प्रतिस्पर्धी बनानेका कारण निजी मेडिकल कलेजहरू मूल्य निर्धारण दबाबमा छन् । अधिकांश मेडिकल कलेज तथा अस्पतालहरु नाफामा सञ्चालन हुन सकिरहेका छैनन् ।

तर, डा. शर्मा भने मेडिकल कलेज चलाएर छोटो समयमै अर्बपति बन्न सफल भएका व्यक्ति हुन् ।

बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले २ वर्षको अवधिमा थप २ वटा मेडिकल कलेज किनेका थिए । २०७७ मा केएमसीको ४४ प्रतिशत सेयर १ अर्ब ७० करोडमा किनेका शर्माले २०७८ मा नेपालगञ्ज मेडिकल कलेजको ४७ प्रतिशत सेयर ९५ करोडमा किनेका थिए ।

शर्मा ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । अहिले उनी काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुन् ।

गोल्डेन सेयरमा छिरेका शर्माको मेडिकल बिजनेशमा साम्राज्य

बिराटनगरका शर्मा नोबल कलेजमा मेडिकल कलेजको लाइसेन्स दिलाउने बेलामा ५ प्रतिशत सेयरसहित प्रवेश गरेका थिए ।

तत्कालीन समयमा बिराटनगरका डाक्टर ज्ञानेन्द्र गिरीको समूहले मेडिकल कलेज चलाउने तयारी गरेको थियो । तर, मेडिकल कलेजको अनुमति भने पाएको थिएन । नेपाली कांग्रेस त्यसमा पनि कोइराला परिवारसँग नजिक रहेका शर्माको नोबलमा प्रवेशसँगै नोबेलले काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजको लाइसेन्स पायो । लाइसेन्स र विवाद नोबल मेडिकल कलेजमा शर्माको प्रवेशसँग भयो ।

उनको मातहतमा नोबल मेडिकल कलेज नआउँदासम्म विभिन्न खाले विवाद भए । शर्मालाई साझेदारलाई तत्कालीन माओवादी निकट वाइसिएलको सहयोगमा अपहरण गरेको समेत आरोप लाग्यो । यद्यपि उनलाई लागेको अपहरणको आरोपको पुष्टी भने भएको छैन ।

नोबल कलेजका साझेदारलाई हटाउन सफल भएपछि शर्माको आर्थिक अवस्था भने निकै सुधार हुँदै गयो । मेडिकल कलेज सञ्चालन गरेर अर्बपति व्यवसायीमा डा. शर्मा चिनिन थाले ।

कोइराला परिवारको राजनीतिक शक्तिको भरपपुर उपयोग गरेर शर्मा ब्यवसाय र राजनीति दुबैमा सफलता हासिल गरिरहेका छन् । कांग्रेस नेता डा. शेखर कोइरालासँग निकट रहेका शर्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ३ बाट टिकट समेत पाए । डा. शेखरको जोडबलमा नै शर्माले टिकट पाएका थिए । यद्यपि २०७४ सालको निर्वाचन भने डा. शेखर तथा डा. सुनिल दुबैले जित्न सकेनन् । तर, २०७९ को चुनाव भने मोरङबाट दुबैले जितेका छन् ।


क्लिकमान्डु