मेडिकल कलेजबाट पुराना लगानीकर्ता बाहिरिँदै, नयाँ भित्रिँदै



काठमाडौं । गतवर्षको भदौमा काठमाडौं मेडिकल कलेजका पुराना लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिए । काठमाडौं मेडिकल कलेजमा ४७ प्रतिशत सेयर किनेर नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा प्रवेश गरे ।

काठमाडौं मेडिकल कलेज किनेको एकवर्ष नहुँदै डा. शर्माले नेपालगञ्जको नेपालगञ्ज मेडिकल कलेज समेत किन्ने निर्णय गरेका छन् । डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर किन्ने निर्णय भइसकेको छ ।

पछिल्लो एकवर्षमा ४ वटा मेडिकल कलेजको स्वामित्व किनबेच भएको छ ।

काठमाडौंको अर्को मेडिकल कलेजको स्वामित्व वीरगञ्जमा नेशनल मेडिकल कलेज सञ्चालन गरेका बसुरुद्धिन अन्सारीले किने । रुपन्देहीको देवदह मेडिकल कलेजको ३० प्रतिशत स्वामित्व पाल्पाको लुम्बिनी मेडिकल कलेजले लियो ।

कोभिड १९ को प्रकोप बढेपछि मेडिकल कलेजको व्यवसाय समेत ओरालो लाग्यो ।

मेडिकल कलेजमा नै लामो समय बिताएका र स्थापित भएका लगानीकर्ताले कोभिड १९ को प्रकोपपछि वित्तीय व्यवस्थापन गर्न चुनौती थियो । यस्तोमा लगानीकर्ताका लागि बिकल्प भनेको व्यवसायबाट बाहिरिने हो ।

काठमाडौं मेडिकल कलेजका पूर्वप्रिन्सिपल तथा पूर्वलगानीकर्ता डा. चन्दा कार्की मेडिकल कलेज सञ्चालन खर्च निकै बढेको हुँदा अहिलेको आम्दानीले कलेज चलाउन नै मुस्किल पर्ने स्थिती देखिएको बताउँछिन् ।

‘आम्दानी नभएपछि लगानीकर्ताले सेयर बिक्री गरेर बाहिरिनु स्वभाविक हो,’ कार्कीले क्लिकमाण्डूसँग भनिन् ।

कार्कीको अनुभवमा पछिल्लो समय समाजमा मेडिकल कलेजका लगानीकर्तालाई ‘भिलेज’को रुपमा प्रस्तुत गरेपछि मनोबल समेत कमजोर हुँदै गएको छ ।

जसले गर्दा पुराना लगानीकर्ताले सेयर बेचेर नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम बढेको छ । जसमा राजनीतिक दलका नेतासँग अत्यन्त निकट रहेका संचालकले मेडिकल कलेज किन्न सफल भएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज किनेपछि तीनवटा मेडिकल कलेजका सञ्चालक रहेका डा. सुनिल शर्मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग निकट छन् ।

डा. शेखरको जोडमा नै उनले मोरङबाट नेपाली कांग्रेसबाट टिकट समेत पाएका थिए । निर्वाचन जित्न सफल नभएपनि डा शर्मा निजामतिदेखि सबै क्षेत्र ‘मिलाउने’ विशेषता छ ।

नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेन्द्र कनोडिया पनि कलेज व्यवस्थापन गर्न कठिनाई भएपछि नै सेयर बेच्ने मनस्थितीमा पुगेका हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका कनौडिया २०७४ सालको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा मेयरको चुनाव लडेका थिए । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएपनि डा शर्माको जस्तो ‘मिलाउन’ सक्ने विशेषता डा. कनोडियासँग थिएन । जति डा. शर्मासँग थियो ।

लगानी अनुसारको प्रतिफल समेत आएको कलेज व्यवस्थापन गर्न र सञ्चालन गर्न समेत कठिनाई भएपछि नेपालगञ्ज मेडिकल कलेजका सञ्चालकले समेत सेयर बिक्रीको निर्णय लिएका हुन् ।

डा. कनोडिया नजिक रहेका एक डाक्टरका अनुसार घट्दो आम्दानी तथा कर्मचारी व्यवस्थापन तथा बढ्दो खर्चको व्यवस्थापन मिलाउन कठिनाई थियो । अहिलेसम्म लगानीको प्रतिफल समेत आएको र सेयरको बिक्री गर्दा राम्रो रकम आउने भएपनि बिक्रीको निर्णयमा पुगेका हुन् ।

‘अनावश्यक दबाब आउने तथा खर्च व्यवस्थापन गर्न कठिनाई हुँदै जाने अवस्था आयो, यो लगानी अनुसारको राम्रो मूल्य आएपछि बिक्री गरेर बाहिरिनु नै राम्रो हो,’ हालै एउटा मेडिकल कलेजबाट बाहिरिएका एक लगानीकर्ताले भने ।

अब कलेज सञ्चालन गर्न सक्ने भनेको शर्मा, अन्सारी, अर्याल तथा प्रसाईजस्ता राजनीतिक दलका नेतासँग व्यक्तिगत रुपमा सम्बन्ध भएको व्यक्तिले भएको उनले बताए ।

यस्तै अवस्था नेपाल मेडिकल कलेजका लगानीकर्ताको थियो । खर्च व्यवस्थापन गर्नुपर्ने र कर्मचारी व्यवस्थापन नै चुनौतीपूर्ण भएपछि नेपाल मेडिकल कलेजका लगानीकर्ताले सेयर बेच्ने निर्णय लिए ।

नेपाल मेडिकल कलेजको सेयर लिएका अन्सारी माओवादी हुँदै नेकपा एमाले निकट भएका व्यवसायी हुन् । केपी ओली प्रधानमन्त्री भएका बेला उनको सिंगापुरमा उपचार भएको थियो । त्यो बेला ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीसँग उनले सिंगापुरमा खिचेको तस्विर समेत सार्वजनिक भएको थियो । ओलीले अन्सारीलाई चिकित्सा शिक्षा आयोगको सदस्य बनाएका थिए ।

‘मिलाउन’ सक्ने क्षमता भएका व्यक्तिले मात्र अब मेडिकल कलेज सञ्चालन गर्न सक्ने अवस्था आएका एकजना चिकित्सकले बताए ।

‘अब मेडिकल कलेज संचालन गर्न सक्ने भनेको डा. शर्मा, अन्सारी, खुमा अर्याल तथा दुर्गा प्रसाईजस्ता व्यक्तिहरुले हो,’ ती चिकित्सकले भने ।

राजनीतिक रुपमा नेताहरुसँग नजिक रहेका व्यक्तिको हातमा मेडिकल कलेजको स्वामित्व बढ्दै जादा चिकित्सा शिक्षामा भने थप बिकृति देखिन सक्ने खतरा यो क्षेत्रका सरोकारवालाको छ ।


क्लिकमान्डु