४ जनाको कब्जामा मेडिकल कलेज, क्रस होल्डिङको कानून नहुँदा सीमित व्यक्तिको हातमा जाने खतरा



काठमाडौं । बिराटनगरका डा. सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर किनेपछि उनी तीनवटा मेडिकल कलेजमा प्रमुख सेयरधनी बन्नेछन् ।

डा. शर्मा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरको नोबेल मेडिकल कलेजमा प्रमुख सेयरधनी हुन् ।

एकवर्ष अगाडिसम्म नोबेल मेडिकल कलेजको मात्र सेयरधनी रहेका डा. शर्माले एकवर्षमा नै २ वटा मेडिकल कलेजको सेयर किनेका हुन् ।

वीरगञ्जका बसुरुद्धिन अन्सारी अहिले २ वटा मेडिकल कलेजको प्रमुख सेयरधनी हुन् । वीरगञ्जमा नेशनल मेडिकल कलेज सञ्चालन गर्ने अन्सारीले काठमाडौंको घट्टेकुलोमा अपार्टमेन्ट रहेको भवनमा नयाँ मेडिकल कलेज नेशनल मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाए पनि त्यो सफल भएन । गत वर्ष अन्सारीले काठमाडौंमा चलिरहेको नेपाल मेडिकल सेयरको सेयर किनेर प्रमुख सेयरधनी बनेका छन् । अन्सारी नेकपा एमालेमा केपी ओली निकट व्यवसायी मानिन्छन् ।

स्याङ्जाका खुमा अर्यालले २ वटा मेडिकल कलेज सञ्चालन गर्छन् । पोखराको गण्डकी मेडिकल कलेज तथा भैरहवाको युनिभर्सल मेडिकल कलेजका सञ्चालक अर्याल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

२०७४ सालको निर्वाचनमा स्याङ्जाको क्षेत्र नम्बर २ अर्यालले टिकटको दावेदारी प्रस्तुत गरेका थिए ।

डा. शर्मा र अन्सारी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्ति हुन् । डा. शर्मा नेपाली कांग्रेस र अन्सारीले नेकपा एमालेबाट निर्वाचन लडेका थिए । तर, निर्वाचन जित्न नसके पनि शर्मा र अन्सारीको पहुँच ठूला नेताको बेडरुम तथा किचनसम्म छ । डा. शर्मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग निकट मानिन्छन् ।

पाल्पामा लुम्बिनी मेडिकल कलेज संचालन गर्ने बुटवलका व्यवसायी गोपाल पोखरेल र उनको समूहले रुपन्देहीको देवदह मेडिकल कलेजको ३० प्रतिशत सेयर किनेको छ । लुम्बिनी मेडिकल कलेजले संस्थागत रुपमा नै सेयर किनेको हो ।

यसरी हेर्दा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजमा ९ वटा मेडिकल कलेजको स्वामित्व ४ जना व्यवसायीको हातमा छ । नेपालगञ्ज मेडिकल कलेजको स्वामित्व आएपछि तीनवटा मेडिकल कलेलमा प्रत्यक्ष नियन्त्रण डा. शर्माको हुन्छ । डा. शर्माले नोबल तथा काठमाडौं मेडिकल कलेजको व्यवस्थापन नियन्त्रणमा लिने छन् ।

वीरगञ्जका अन्सारीको हातमा २ वटा मेडिकल कलेज वीरगन्जको नेशनल र नेपाल मेडिकल कलेजमा प्रत्यक्ष नियन्त्रण छ । स्याङ्जाका अर्यालसँग गण्डकी र युनिभर्सल मेडिकल कलेज नियन्त्रण छ । यस्तै पाल्पाका पोखरेलको हातमा लुम्बिनी मेडिकल कलेज र देवदह मेडिकल कलेजको नियन्त्रणमा छ ।

नेपालमा मेडिकल कलेज सञ्चालकहरु प्रत्यक्ष रुपमा राजनीति दलका नेतासँग नजिक र राजनीतिमा जोडिएका छन् । २ भन्दा बढी मेडिकल कलेज सञ्चालन गर्ने डा. शर्मा, अर्याल र अन्सारी प्रत्यक्ष राजनीतिमा संलग्न छन् । पोखरेल भने प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । यद्यपि उनका परिवारका केही सदस्य राजनीतिमा सक्रिय छन् ।

झापामा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरेर र सरकारबाट अनुमति नपाएको बिएण्ड सी मेडिकल कलेजका संस्थापक तथा सञ्चालक दुर्गा प्रसाई केपी शर्मा ओलीसँग नजिक रहेका छन् ।

सरकारी बाहेका मेडिकल कलेजमा २ वटा मेडिकल कलेजमा भारतीय लगानी छ भने बाँकीमा नेपाली लगानी छ । जसमा पछिल्लो समय मेडिकल कलेजबाट पुराना र स्थापित लगानीकर्ता बाहिरिदा सिमित व्यवसायीको हातमा नेपालको मेडिकल कलेज जाने देखिन्छ ।

बैंक तथा वित्तीय संस्था,बीमा तथा टेलिकममा व्यवसायीलाई क्रस होल्डिङको सिमा छ । यद्यपी नियमन कडाई हुने यि क्षेत्रमा समेत व्यवसायीले कानूनी छिद्रको फाइदा उठाउदै क्रस होल्डिङ राखेर लगानी गर्छन् ।

मेडिकल कलेजमा क्रस होल्डिङको कानूनी व्यवस्था नै छैन ।

‘एउटा व्यवसायीले कतिवटा मेडिकल कलेजमा लगानी गर्न पाउने हो त्यसको कानूनी व्यवस्था छैन, यस्तो अवस्था रहेमा सीमित व्यवसायीले मात्र मेडिकल कलेज सञ्चालन गर्ने छन्,’ एक डाक्टरले भने ।

यसले नेपालको मेडिकल कलेजलाई थप व्यापारिकरण गराउने छ । पछिल्लो समय लगानी थपेका व्यवसायीको राजनीतिक पहुँचले गर्दा मेडिकल कलेजलाई थप व्यापारिकरण हुने देखिन्छ ।


क्लिकमान्डु