विदेशी फुटसल लिग खेल्ने पहिलो खेलाडी बने विक्रान्त, पुगे माल्दिभ्स

154
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल खेलाडी विक्रान्त नरसिंह राणा विदेशी फुटसल लिग खेल्ने पहिलो खेलाडी बनेका छन् । राणालाई माल्दिभ्सको क्लब इमिग्रेसनले अनुबन्धन गरेको हो ।

राणा माल्दिभ्समा हुने सीएमसी फुटसल कपमा इमिग्रेसनबाट खेल्नेछन् ।

दुई साता अघि भएको क्लब र राणाबीचको सम्झौताअनुसार उनी बिहीबार माल्दिभ्स उडेका छन् । क्लब र राणाबीच जुन १ देखि जुलाइ १७ सम्मको सम्झौता रहेको छ ।

घरेलु फुटसलमा परिचित विक्रान्त गत जनवरिमा थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपालका लागि सर्वाधिक गोलकर्ता हुन् ।

प्रतियोगितामा १८ गोल गरेको नेपाल तेस्रो भएको थियो । प्रतियोगितामा विक्रान्तले ५ गोल गरेर तेस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।

घरेलु फुटसलमा विक्रान्त विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै आएका छन् । आफ्नो फुटसल करियरको सुरुवात देखि नै उनी ढुकु फुटसल क्लबमा आबद्ध छन् ।

विक्रान्त खेल्न लागेको सीएमसी फुटसल टुर्नामेन्ट त्यहाँको पुरानो र प्रशिद्ध फुटसल प्रतियोगिता हो । सन् २००६ देखि सुरु भएको यो लिग माल्दिभ्सको राजधानी मालेमा एक महिना चल्नेछ । प्रतियोगितामा सहभागी टोलीले पोर्चुगल, इरान, किर्गिस्तान जस्ता देशका खेलाडी आबद्ध गर्ने गरेकामा राणा पहिलो नेपाली बनेका छन् ।

थाइल्यान्डमा साफ फुटसलकै क्रममा माल्दिभ्सका कोचले विक्रान्तलाई मार्क गरेका थिए । अग्ला कदका राणा टिममा पिभोटको भुमिका निर्वाह गर्छन् ।