७ वटा अस्पतालको आम्दानी वार्षिक पौने ८ अर्ब, कुन अस्पतालले कति कमाए ?



काठमाडौं । नेपालमा मेडिकल कलेज सञ्चालनको बहस चलेको लामो समय भइसक्यो । मेडिकल कलेज सञ्चालनबारे तर्क वितर्कहरु पनि कैयन भए ।

जसरी पनि मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य लिएका समूह र त्यसइतरका समूहबीच बहस हुन थालेको लामो समय भइसकेको छ । यद्यपि यो अझै टुंगिएको विषय भने होइन ।

मेडिकल कलेज सञ्चालनका लागि मरिहत्ते गर्नुको कारण हो, यसबाट हुने मनग्गे आम्दानी । विद्यार्थी पठाउँदै अस्पताल सञ्चालन गर्दा राम्रो आम्दानी हुने भएपछि उनीहरुको ध्यान त्यसतर्फ गएको हो ।

यसलाई पुष्टि गर्ने आधार विभिन्न मेडिकल कलेजहरुको वार्षिक आम्दानी हेरे मात्रै पुग्छ ।

मुलुकभर सञ्चालनमा रहेका ६ वटा स्वास्थ्य संस्थाले सन् २०२१ मा पौने ८ अर्ब आम्दानी गरेका छन् ।

चार वटा मेडिकल कलेजहरु गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर, किस्ट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, चितवन मेडिकल कलेज र २ वटा अस्पताल स्टार र अल्काले गत वर्ष ७ अर्ब ८० करोड ४० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

साथै, ६ वटा कम्पनीहरुले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १० अर्ब ८ करोड ६४ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएका छन् । यी कम्पनीहरुले ८५ करोडदेखि ३ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएका हुन् ।

कुन अस्पतालको आम्दानी कति ?

गण्डकी मेडिकल कलेज

गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले सन् २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा ८८ करोड ८० लाख र २०१८ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले कास्कीको पोखरामा अस्पतालसँगै मेडिकलसम्बन्धी एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ, बीएनएस, बीएससी एमआइटी, बीएससी एमएलटी, बीपीएच, बी–फर्मा प्रोग्रामलगायत अन्य कोर्स सञ्चालन गर्दै आएको छ ।

सन् २००७ मा स्थापना भएको मेडिकल कलेजको आम्दानी सन् २०२१ मा ११ प्रतिशतले बढेको जनाएको छ । जसमा मेडिकल कलेजले २४ प्रतिशतले नाफा कमाएको छ ।

५५० शैय्या रहेको कलेजले सन् २०२१ मा अस्पतालबाट हुने आम्दानीको हिस्सा २६ प्रतिशतले आम्दानी बढ्दा कलेजबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ । सन् २०२०/२१ का नयाँ भर्नामा ढिला हुँदा आम्दानी कम भएको कम्पनीको भनाइ छ ।

त्यस्तै, मेडिकल कलेजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९८ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि एलबी माइनस र अल्पकालीन कर्जाका लागि एफोर रेटिङ पाएको छ ।

किस्ट मेडिकल कलेज
किस्ट मेडिकल कलेज प्रालिले सन् २०२१ मा ५२ करोड ७० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । त्यस्तै, मेडिकल कलेजले सन् २०२० मा ५२ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ५० करोड ६० लाख रुपैयाँ र सन् २०१८ मा ४१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

ललितपुरमा ५५० शैय्याको अस्पतालसँगै मेडिकल कोर्स सञ्चालन गर्दै आएको मेडिकलको अध्यक्ष आशीष थापा हुन् । मेडिकल कलेजले सन् २०२१ मा २८ प्रतिशतले नाफा कमाएको छ ।

मेडिकल कलेजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।

स्टार अस्पताल
ललितपुरको सानेपामा एक सय शैय्याका साथ मेडिकल, सर्जिकल र निदान सेवाहरू प्रदान गर्दै आएको स्टार अस्पतालले सन् २०२१ मा ९० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

अस्पतालले सन् २०२० मा २३ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा ५० प्रतिशत पीसीआर टेस्ट र कोभिड–१९ को बिरामीबाट आम्दानी गरेको जनाएको छ ।

काठमाडौं मेडिकल कलेज
सिनामंगलमा ७५० शैय्याको सुविधासहित मेडिकल कोर्स सञ्चालन गर्दै आएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सन् २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी, अस्पतालले सन् २०२० मा १ अर्ब ३४ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ४५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०२१ मा अस्पताल सेग्मेन्टबाट मात्रै ५१ प्रतिशत आम्दानी गरेको जनाएको छ । साथै, मेडिकल कलेजबाट ४६ प्रतिशत मात्रै आम्दानी गरेको छ ।

मेडिकल कलेजले अस्पतालसँगै स्वास्थ्यसम्बन्धी विभिन्न कोर्स सञ्चालन गर्दै आएकोमा सन् २०२१ मा बीडीएस र बिएससी नर्सिङबाट आम्दानी गरेकोमध्ये ६ प्रतिशत हिस्सा ओगटेको छ ।

साथै, मेडिकल कलेजबाट हुने आम्दानीमा ८० प्रतिशत एमबीबीएस कोर्सको हिस्सा छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ ।

नोबेल मेडिकल कलेज
सन् २००३ मा स्थापना भएको नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सन् २०२१ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, मेडिकल कलेजले सन् २०२० मा २ अर्ब ५० करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

काँचबारी, विराटनगर र काठमाडौंमा मेडिकल कक्षा सञ्चालन गर्दै आएको मेडिकल कलेजमा नोबेल क्यान्सर अस्पताल प्रालि र नोबेल एड्भान्स इन्भिेष्टमेन्ट प्रालिको काठमाडौं मेडिकल कलेजमा २० प्रतिशत सेयर छ । कलेजले अस्पतालसँगै सीटीभीटी अन्तर्गतका विभिन्न कोर्सहरु समेत सञ्चालन गरिरहेको छ ।

मेडिकल कलेजअनुसार सन् २०२१ मा १२ प्रतिशतले आम्दानी बढेको छ । जसमा नोबेल कलेजले अस्पताल क्षेत्रबाट ५२ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै, कलेजले विभिन्न कक्षा सञ्चालन गर्दै आएपनि एमबीबीएसबाट धेरै आम्दानी हुने गरेको छ । मेडिकल कलेजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

चितवन मेडिकल कलेज


चितन मेडिकल कलेज प्रालिले सन् २०२१ मा १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । चितवन मेडिकलले सन् २०२० मा १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको आम्दानी सन् २०२१ मा २३.६९ प्रतिशतले आम्दानी बढेको छ । जसमा कलेजको आम्दानी ९.५४ प्रतिशत अर्थात् ४९ करोड ३० लाख रुपैयाँले घटेको छ ।

साथै, मेडिकल कलेजले सन् २०२१ मा ३०.०३ प्रतिशतले नाफा कमाएको छ । त्यस्तै, सन् मेडिकल कलेजले सन् २०२२ को ९ महिनाको अवधिमा १ अर्ब ५६ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ ।

मेडिकल कलेजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५८ करोड ९४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

चितवन मेडिकल कलेजका लगानीकर्ताहरुले काठमाडौंको तीनकुनेमा समेत अस्पताल निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् । काठमाडौं इन्टरनेशनल अस्पताल नाम राखिएको उक्त कम्पनीले हालै ४ अर्ब २४ करोड २० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।

सन् २०२१ मा स्थापना भएको अस्पताल निर्माणको काम सन् २०२४ सम्म पूरा गर्ने लक्ष्य लिइएको छ । अस्पतालमा ३०० बेड हुने भनिए पनि पहिलो वर्ष भने १०० बेडबाट शुरु गरिनेछ ।

अस्पतालमा डा. हरिषचन्द्र न्यौपाने र उनको परिवारको प्रत्यक्ष र अप्रत्यक्षरुपमा ७४ प्रतिशत लगानी हुनेछ । जबकी चितवन मेडिकल कलेजमा न्यौपानेको ६२ प्रतिशत सेयर स्वामित्व छ ।

अल्का अस्पताल
अल्का अस्पताल प्रालिले सन् २०२१ मा ६४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । अस्पतालले सन् २०२० मा ६१ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ६५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

अल्का अस्पतालले अल्का इन्स्टिच्यूट अफ मेडिकल साइन्सको नाममा नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ ।

अस्पतालअनुसार सन् २०२१ मा ४ प्रतिशतले आम्दानी बढेको छ । साथै, २४.५४ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा नर्सिङ कलेजबाट ४ करोड ६० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

अस्पतालले २ वटा अस्पताल सञ्चालन गर्दै आएको छ । जसमा सन् २०२१ मा आम्दानी गरेकोमध्ये सन् ८८.५७ प्रतिशत ७.०८ प्रतिशत नर्सिङ कलेजबाट आम्दानी गरेको छ । साथै, फार्मेसी, क्यान्टिन र अन्यबाट पनि आम्दानी गरेको अस्पतालको भनाइ छ ।
अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान