सामाजिक सुरक्षा कोषमा सवा ५१ अर्ब रुपैयाँ संकलन, आवद्ध हुनेमा बागमती प्रदेश अगाडि



काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आवद्ध भएको सात प्रदेशमध्ये बागमती प्रदेश पहिलो नम्बरमा पुगेको छ ।

यस्तै सबैभन्दा पुछारमा कर्णाली प्रदेश परेको छ । आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता कम्पनी र संस्थामध्ये सबैभन्दा बढी बागमती प्रदेशको भेटिएको छ ।

आर्थिक बर्ष २०७६/७७ देखि चालु आर्थिक बर्ष २०८०/८१ को फागुनसम्ममा बागमती प्रदेशबाट १२ हजार ९ सय २२ रोजगारदाता कम्पनी र संस्था योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका हुन् ।

चालु आर्थिक बर्षको फागुनसम्ममा मात्रै यो प्रदेशबाट ४६६ वटा कम्पनी र संस्था कोषमा आवद्ध भएको हो । यो अंक पनि अन्य प्रदेशको तुलनामा सय दोब्बरभन्दा बढि छ ।

यस्तै सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्याको हिसावमा पनि बागमती प्रदेश सबैभन्दा अगाडि रहेको पाइएको छ । आर्थिक बर्ष २०७६/७७ देखि चालु आर्थिक बर्ष २०८०/८१ को फागुनसम्ममा ३ लाख ७२ हजार ७ सय ७१ जना योगदानकर्ताहरु कोषमा आवद्ध भएका थिए । चालु आर्थिक बर्षको फागुनसम्मा मात्रै ४७ हजार १७६ जना आवद्ध भएको पाइएको हो ।

दोस्रोमा कोशी प्रदेश परेको छ । आर्थिक बर्ष २०७६/७७ देखि चालु आर्थिक बर्ष २०८०/८१ को फागुनसम्ममा कोशी प्रदेशको १ हजार ९ सय ६८ रोजगारदाता कम्पनी र संस्था कोषमा आवद्ध भएको थियो । चालु आर्थिक बर्षको फागुनसम्ममा ७० वटा कम्पनी र संस्था आवद्ध भएको थियो ।

योगदानकर्ताको आधारमा हेर्दा पनि दोस्रो नम्बरमा कोशी प्रदेश नै परेको छ । २०७६/७७ देखि चालु आर्थिक बर्ष २०८०/८१ को फागुनसम्ममा ४९ हजार ३ सय ४५ जना योगदानकर्तामा आवद्ध भएका थिए भने चालु आर्थिक बर्षको फागुनसम्ममा ७ हजार २ सय २१ जना योगदानकर्ताले सामाजिक सुरक्षा कोषमा आवद्धता जनाएका छन् ।

यसरी २०८० फागुनसम्मको अवधीमा १८ हजार ७ सय ५५ रोजगारदाता प्रतिष्ठानका ४ लाख ८६ हजार १ सय २५ जना श्रमिक योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको पाइएको छ ।

देशभित्रका श्रमिक र वैदेशिक रोजगारीमा रहेका नेपालीसहित २०८० फागुनसम्म ११ लाख ९९ हजार ७ सय ११ जना श्रमिक उक्त कोषमा आवद्धता जनाएका छन् । कोषमा सूचीकृत श्रमिकमध्ये वैदेशिक रोजगारमा रहेका श्रमिकको संख्या ५९.० प्रतिशत रहेको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको तथ्याँकअनुसार कोषमा योगदान गरेवापत २०८० को फागुनसम्म ५१ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ ।

२०७९ फागुनसम्म कोषमा योगदान गरेवापत ३० अर्ब ७१ करोड रुपैयाँ संकलन भएको थियो । सामाजिक सुरक्षा कार्यक्रमको चार शीर्षकमध्ये २०८० फागुनसम्म औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना शीर्षकमा सबैभन्दा बढी अर्थात ६७.५ प्रतिशत, बृद्ध अवस्था सुरक्षा योजना शीर्षकमा २६.३ प्रतिशत र अन्य दुई शीर्षकमा ६.२ प्रतिशत दावी परेको छ ।

यो अवधिसम्म दाबीवापत ८ अर्ब १२ करोड ११ लाख कूल भुक्तानीमध्ये बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ८५.४ प्रतिशत, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत ११.६ प्रतिशत र अन्य शीर्षकमा ३.० प्रतिशत भुक्तानी गरिएको पाइएको छ ।

२०८० फागुनसम्म २ लाख ८९ हजार ५ सय ३९ योगदानकर्ताको करिब ८ अर्ब १२ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी भएको छ ।


क्लिकमान्डु