
काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौं हुन लागेको राजावादीहरुको प्रदर्शनमा राप्रपाले समर्थन जनाएको छ ।
राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्रको पुनर्स्थापना तथा संघीयताको खारेजीको मागसहित काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रममा राजावादी दल राप्रपाले खुला समर्थन जनाएको हो ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्तासहित आम जनतालाई प्रदर्शनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन् ।
‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन तथा आन्दोलनमा सक्रिय सहभागिता जनाइ आन्दोलनलाई बल दिन राप्रपा पार्टी पंति तथा आम जनसमुदायलाई हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, प्रवक्ता श्रेष्ठले राप्रपाको नक्कली लेटरहेड प्रयोग गरी भोलिको आन्दोलन स्थगित गरिएको भन्दै गलत सूचना फैलाइएको बताएका छन् ।
श्रेष्ठले भ्रममा नपर्न अनुरोध गर्दै यस किसिमको कार्यको भर्त्सना गरेका छन्। साथै, समान विचारधारा भएका सबै पक्षसँग सहकार्य, कार्यगत एकता तथा मोर्चाबन्दी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने पार्टीको प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया