धावनमार्ग मर्मत गर्दा अब विमानस्थल बन्द नहुने, २ नयाँ वायुसेवासहित पुरानै तालिकामा उडान हुने

1.9k
Shares


काठमाडौं । आगामी सातापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थल बन्द नहुने भएको छ । हाल रातको समयमा विमानस्थल पूर्ण बन्द गरेर मर्मत हुँदै आएको भए पनि चैत १९ देखि मर्मतका लागि कुनै पनि उडान नरोकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार यस अघि धावनमार्ग बन्द गरेर मर्मत हुँदै आएको ट्याक्सीवेको मर्मत अब अप्रिल १ देखि भने उडान अवतरण नरोकि नै हुने भएको छ ।

अप्रिलदेखि समर सेड्युल सुरु भएसँगै विहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल चल्ने भएको छ । अब दैनिक १८ घण्टा विमानस्थल सञ्चालन हुने छ । यसअघि विहान ३ बजेसम्म नै उडान हुने थियो । अब १२ बजेसम्म विमानस्थल खुल्ने भएकोले त्यसपछिको उडानलाई तीन घण्टा अगाडि नै व्यवस्थापन मिलाउन सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

ट्याक्सी वेको सबै काम सकिन डेढ २ वर्ष नै लाग्ने भए पनि उडान अवतरण रोकेर गर्नु पर्देन । समर सेड्युलसँगै गत वर्षको भन्दा यो वर्ष धेरै उडान हुने भएको छ ।

अगामी समर सेड्युलदेखि नेपालमा दुई वटा नयाँ अन्तर्राष्ट्रिय वायुसेवाको उडान थप हुने भएको छ । एयर इन्डिया र स्पाइसजेटको उडान हुने भएको छ । यी दुबै वायुसेवाले दिउँसोको समयका लागि स्लट पाएको पनि विमानस्थलका महाप्रवन्धक निरौलाले बताए । यी दुबै वायुसेवाले उडान तयारी गरिरहेकोले छ ।

नेपालमा आउने तयारी गरिरहेको भारतीय वायुसेवा स्पाइसजेट कोभिड अगाडि नेपालमा नियमित उडान गर्ने वायुसेवा हो । कोभिडपछि यो वायुसेवाले आगामी समर सेड्युलदेखिन पुनः नेपालमा नियमित उडान गर्ने भएको छ ।

नेपाल आउने तयारी गरेको एयर इण्डिया एक्सप्रेस भने पहिलोपटक नेपाल आउने भएको छ । यो वायुसेवाले पनि आगामी समर सेड्युलबाटै उडान गर्ने भएको छ ।

सातामा ४ वटा उडान गर्दै आएको क्याथे प्यासिफिकसले पनि हप्तामा सातै दिन उडान गर्ने भएको छ । अब मौसमले साथ दिएको अवस्थामा उडान अवतरणमा समसया नहुने भएको छ ।