
काठमाडौं । भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिन भारतले स्वीकृति दिएको हो ।
उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि ईण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो ।
ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कुटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको हो । नेपालमा सुख्खा याममा हुने विद्युत समस्याको समाधानका लागि भारतसरकारसँग थप विद्युत माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु खुसीको कुरा भएको मन्त्री खड्काले बताए ।
‘नेपाली जनतालाई २४सै घण्टा विद्युत दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो , हल्लाको पछि कोही पनि नलागौँ’ उनले भने ।
नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्ति सँगै लोडसेडिङ हुने हल्ला चलेको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो ।
प्रतिक्रिया