सरकारीकरणको बाटोमा निजी बैंक, कुन बैंकमा कुन सरकारी निकायको सेयर कति ?



काठमाडौं । निजी स्वामित्वका बैंक विस्तारै बिस्तारै सरकारीकरण हुने बाटोमा लागेका छन् । भारतमा सरकारी बैंकको निजीकरण गर्नुपर्ने बहश चलिरहँदा नेपालमा भने निजी क्षेत्रले चलाएका बैंकहरुमा विस्तारै सरकारी संस्थाहरुको दबदबा बढ्दो छ ।

निजी कम्पनी वा व्यक्तिले गरेको लगानीलाई क्रस होल्डिङ मानेर मर्जरमा जान नियामक राष्ट्र बैंकले भने दबाब दिएपनि क्रस होल्डिङ भएका सरकारी निकायलाई भने राष्ट्र बैंकले खासै दबाब दिएको देखिँदैन । जसकारण २०४८ सालको आर्थिक उदारीकरणको नीतिका कारण बैंकिङ क्षेत्र निजी क्षेत्र प्रवेश गरी सेवामा ठूलो क्रान्ति गरेको निजी क्षेत्र खुम्चिन थालेको छ ।

बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी गर्ने सरकारी संस्था तथा निकायहरुमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा कम्पनी र बीमा संस्थान हुन् । यी सरकारी निकायहरुहरुले आधा दर्जन बढी वाणिज्य बैंकहरुमा सेयर लगानी गरेका छन् ।

बैंकहरु मर्ज भएर संख्या घट्ने र सरकारी संस्थाको लगानी बढ्दै गएमा निजी बैंकको सरकारीकरण हुने खतरा समेत देखिएको छ । केही समयअघि हिमालयन बैंकमा संचय कोषका प्रमुख प्रशासक र लक्ष्मी बैंकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक अध्यक्ष भएर काम गरे । संचालकका रुपमा संचयकोषका प्रतिनिधि नेपाल एसबिआई र एनएमबि बैंकमा समेत छन् । अहिले पनि हिमालयन बैंकमा सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल सञ्चालक छन् ।

नेपाल बैंक, कृषि विकास बैंकमा सरकारको ५१/५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकमा ९९.९७ प्रतिशत सेयर स्वामित्व रहेको छ। तर, निजी स्वामित्वका बैंकमा पनि सरकारी संस्थाको लगानी बढ्दो छ । नेपाल बैंकमा भने कर्मचारीे सञ्चय कोषको पनि ३.६४ प्रतिशत सेयर स्वामित्व छ ।

२०८० असार मसान्तसम्म बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा १५ वटा बैंकमा सरकारी स्वामित्वका ५ वटा निकायको ४८ अर्ब ३२ करोड ६२ लाख २० हजार ८४ रुपैयाँको ४८ करोड ३२ लाख ६२ हजार २०१ कित्ता अर्थात् समग्र स्वामित्वको १३.०७ प्रतिशत लगानी छ ।

पूर्णसरकारीसहित सरकारी स्वामित्वका बैंक तीन बाहेक निजी स्वामित्वका बैंकमा सरकारी संस्था तथा निकायको स्वामित्व भने ४.९५ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी गर्ने सरकारी संस्था तथा निकायको पहिलो स्थानमा कर्मचारी सञ्चय कोष हो । नागरिक लगानी कोष, राष्ट्रिय बिमा कम्पनी र बिमा संस्थान, नेशनल ट्रेडिङ कम्पनी र सरकारका विभिन्न निकायको १५ बैंकमा लगानी छ।

नेपालमा लामो संघर्षपछि निजी क्षेत्रले एउटा तहमा पुर्याएका बैंकमा सरकारी संस्थाहरुको लगानी बढ्दै जाँदा बैंकिङ क्षेत्रमा विस्तारै अख्तियार दुरुपयोग अनुसन्धान प्रवेश गर्ने हो कि भन्ने खतरा पनि बढ्दै गएको छ ।

२०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारी संस्थाबाट बढी लगानी गर्ने संस्थामा कर्मचारी संचयकोष पहिलो स्थानमा छ । कोषले विभिन्न ९ वटा बैंकमा १० अर्ब ४५ लाख ७८ हजार २९३ रुपैयाँ लगानी छ ।

२०८० असार मसान्तसम्म कर्मचारी संचयकोषको नेपाल बैंकमा ५३ करोड ४८ लाख २३ हजार ७०० रुपैयाँको ५३ लाख ४८ हजार २३७ कित्ता अर्थात बैंकको चुक्ता पुँजीको ३.६४ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै प्राइम बैंकमा कोषको १९ करोड ४७ लाख ४३ हजार ४०० रुपैयाँको १९ लाख ४७ हजार ४३४ कित्ता अर्थात चुक्ता पुँजीको १ प्रतिशत स्वामित्व छ ।

ग्लोबल आइएमई बैंकमा कोषको १ अर्ब ६९ करोड ७१ लाख ५३ हजार ५०० रुपैयाँको १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता अर्थात चुक्ता पुँजीको ४.७४ प्रतिशत स्वामित्व छ ।

प्रभु बैंकमा पनि कोषको २.५३ प्रतिशत अर्थात ५९ करोड ५१ लाख ८२ हजार ९०० रुपैयाँको स्वामित्व छ ।

कुमारी बैंकमा पनि कोषको ७७ करोड ५३ लाख २३ हजार ९०० रुपैयाँको ७७ लाख ५३ हजार २३९ कित्ता सेयर स्वामित्व अर्थात २.९६ प्रतिशत छ । एनएमबि बैंकमा कोषको १ अर्ब १ करोड ५० लाख ७२ हजार ९०० रुपैयाँको १ करोड १ लाख ५० हजार ७२९ कित्ता अर्थात ५.५३ प्रतिशत स्वामित्व छ ।

सानिमा बैंकमा कोषको ५३ करोड ३३ लाख ९६ हजार रुपैयाँको ५३ लाख ३३ हजार ९६० कित्ता अर्थात ४.२८ प्रतिशत, हिमालयन बैंकमा २ अर्ब ७३ करोड ३० लाख ६४ हजार ८९३ रुपैयाँको २ करोड ७३ लाख ३० हजार ६४९ कित्ता अर्थात १२.६४ प्रतिशत सेयर स्वामित्व छ ।

भारतीय एसबिआई बैंकको प्रमुख लगानी रहेको नेपाल एसबिआई बैंकमा पनि कोषको १ अर्ब ५१ करोड ८० लाख ९० हजार रुपैयाँ १ करोड ५१ लाख ८० हजार ९०० कित्ता अर्थात १५ प्रतिशत सेयर स्वामित्व छ ।

निजी स्वामित्वका बैंकमा लगानी गर्ने दोस्रो ठूलो संस्था नागरिक लगानी कोष हो । अहिलेसम्म कोषले निजी क्षेत्रका चार वटा बैंकमा २ अर्ब ३७ करोड ७३ लाख ७६ हजार ५३३ रुपैयाँको लगानी गरेको छ ।

लक्ष्मी सनराइज बैंकमा लगानी कोषको १ अर्ब २९ लाख १० हजार रुपैयाँको १ करोड २९ हजार १०० कित्ता अर्थात ४.६३ प्रतिशत स्वामित्व छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा लगानी कोषको ४४ करोड ९६ लाख ३६ हजार ६४२ रुपैयाँको ४४ लाख ९६ हजार ३६६ कित्ता अर्थात १.३२ प्रतिशत सेयर स्वामित्व छ ।

सिटिजन्स बैंकमा कोषको ४७ करोड ५९ लाख १२ हजार ६९१ रुपैयाँको ४७ लाख ५९ हजार १२७ कित्ता अर्थात ३.३५ प्रतिशत छ ।

कुमारी बैंकमा कोषको ४४ करोड ८९ लाख १७ हजार २०० रुपैयाँको ४४ लाख ८९ हजार १७२ कित्ता अर्थात १.७१ प्रतिशत सेयर स्वामित्व छ ।

नीजि बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको नेपाल इन्भेष्टमेन्ट मेगा र नबिल बैंकमा लगानी छ । नेपाल इन्भेष्टमेन्ट मेगामा कम्पनीको २ अर्ब २९ करोड ६७ लाख ७९ हजार ६९२ रुपैयाँको २ करोड २९ लाख ६७ हजार ७९७ कित्ता अर्थात ६.७३ सेयर स्वामित्व छ ।

त्यस्तै, नबिल बैंकमा कम्पनीको २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६८१ रुपैयाँको २ करोड ६ लाख ३६ हजार ९८७ कित्ता अर्थात ७.६३ प्रतिशत छ ।

सरकारी स्वामित्वको संस्था राष्ट्रिय बिमा संस्थाको २१ करोड ५२ लाख ९८ हजार ६०० रुपैयाँको २१ लाख ५२ हजार ९८६ कित्ता अर्थात ०.९९ प्रतिशत सेयर स्वामित्व छ ।

हिमालयन बैंकमा नेशनल ट्रेडिङ कम्पनीको १ अर्ब ७८ करोड ८८ लाख ३६ हजार ४५१ रुपैयाँको १ करोड ७८ लाख ८८ हजार ३६५ कित्ता अर्थात ८.२६ प्रतिशत स्वामित्व छ ।

यसरी सरकारी निकायले निजी बैंकमा लगानी गर्दै जाने हो भने केही दशकभित्र निजी बैंकको ठूलो स्वामित्व सरकारी संस्थामै जाने देखिन्छ । जुन समग्र बैंकिङ क्षेत्र र अर्थतन्त्रकै लागि राम्रो नहुने खतरा छ ।


सोभित थपलिया