बैंकर्स संघका अध्यक्षको एनएमबिले नै मुद्दतिमा बैंक दरभन्दा कम ब्याज दियो, पछ्याउँदै एनआइसी एसिया



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत र बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष नै सञ्चालक समितिको अध्यक्ष रहेको एनएमबि बैंकले राष्ट्र बैंकले निर्धारण गरेको बैंक दर भन्दा मुद्दति निक्षेपमा कम ब्याज दिएको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको निक्षेप संकलन दरभन्दा बचतको ब्याजदर र बैंक दरभन्दा मुद्दति निक्षेपको ब्याजदर कम हुनु उपयुक्त नहुने पूर्व बैंकर भुवन दहाल बताउँछन् ।

‘मुद्दति निक्षेपको ब्याजदर बैंक दर भन्दामाथि हुनुपर्छ,’ पूर्वबैंकर दहालले भने, ‘निक्षेपको औषत ब्याजदर बैंक दर भन्दामाथि रहनुपर्छ । मैले विगतमा धेरै पटक ब्याजदर निर्धारण गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अभ्यासबाट सिकेको छु। अन्य साथीहरुले पनि चाटर्डको अभ्यास हेरेर सिक्दा राम्रो हुन्छ ।’

राष्ट्र बैंकले ७.५ प्रतिशत रहेको बैंक दरलाई ७ प्रतिशत, ६.५ प्रतिशत रहेको नीतिगत दरलाई ५.५ प्रतिशत र ४.५ प्रतिशत रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत बनाएपछि केही बैंकहरुले बैंक दरभन्दा मुद्दति निक्षेपको ब्याजदर कम बनाएका छन् ।

एनएमबि बैंकले ६ देखि ९ महिनाको संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याज दिने लागेको छ । यस्तै, ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ६.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधीको संस्थागत निक्षेपमा ७ प्रतिशत ब्याज दिनेछ ।

यस्तै, एनएमबि बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत निक्षेपमा ७ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्मको मुद्दति निक्षेपमा ७.२५ प्रतिशत, ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ७.५ प्रतिशत, १ देखि २ वर्ष अवधीको मुद्दति निक्षेपमा ८.५ प्रतिशत र १० वर्षभन्दा बढी अवधीको निक्षेपमा ९ प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एनएमबि बैंकले राष्ट्र बैंकको नियमविपरीत काम नगरेको दाबी गरेका छन् । ‘एनएमबि बैंकले बचत खातामा निक्षेप संकलन दरभन्दा बढी ब्याज दिएको छ, हाम्रो सबै मुद्दति खातामा नीतिगत दरभन्दा बढी ब्याज छ,’ उनले क्लिकमान्डुसँग भने, ‘तीन महिनाको मुद्दति निक्षेपमा मात्रै बैंकदर बराबर ब्याज भएको हो, त्योभन्दा बढी अवधिको निक्षेपमा बैंकदरभन्दा बढी नै ब्याज दिएका छौं ।’

यस्तै, एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा बैंक दर बराबर ब्याज दिए पनि संस्थागत मुद्दति निक्षेपमा भने बैंक दरभन्दा १.५ प्रतिशत कम ब्याज दिएको छ ।

एनआईसी एसियाले प्रकाशित गरेको सूचनामा ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतिमा ७ प्रतिशत, ६ देखि ९ महिनाको मुद्दतिमा ७.५ प्रतिशत, ९ देखि १२ महिनाको मुद्दतिमा ७.७५ प्रतिशत र २४ महिनादेखी १८० महिनासम्मको मुद्दति निक्षेपमा ८.६७ प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ ।

एनआईसी एसियाले संस्थागत मुद्दति निक्षेपमा ५।५ प्रतिशत देखी ६.६७ प्रतिशत ब्याज दिन लागेको छ ।

राष्ट्र बैंकले नीतिगत दर हेरफेर गरेपछि ब्याजदर सम्बन्धी सूचना प्रकाशित गरेको माछापुच्छ्रे बैंकले भने बैंक दरभन्दा बढी ब्याज दिएको छ ।

माछापुच्छ्रेले व्यक्तिगत मुद्दति निक्षेपमा ९.६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ७.६ प्रतिशत ब्याज दिन लागेको छ ।

यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले केही प्रोडक्टमा बैंक दरभन्दा बढी ब्याज दिए पनि केही प्रोडक्टमा बैंकदर भन्दा कम ब्याज दिने प्रस्ताव गरेको छ ।

चाटर्डले ९१ दिनको व्यक्ति मुद्दतिमा ८.५६ प्रतिशत ब्याज दिएको छ ।

यस्तै, चार्टर्डले १ वर्ष अवधीको रेमिट्यान्स मुद्दति खातामा ९.५६ प्रतिशत ब्याज दिएको छ ।

साधारण बचत खातामा चाटर्डले ३.६ प्रतिशत ब्याज दिएको छ ।

राष्ट्र बैंकले ७ प्रतिशत बैंकदर बनाएर निक्षेपको औषत ब्याजदर ७ प्रतिशतभन्दा माथि हुनु पर्ने सन्देश दिएको पूर्वबैंकर दहाल बताउँछन् ।

‘बैंक दरभन्दा मुनि निक्षेपमा ब्याज दिएका बैंकहरुले आगामी दिनमा फेरि ब्याजदर बढाउन सक्छन्,’ दहालले भने, ‘राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदर करिडोरको सिद्धान्त बाहिर गएर ब्याजदर निर्धारण गर्नु राम्रो हुँदैन ।’


क्लिकमान्डु