
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को कर्जा रिकभरीमा पछिल्ला आर्थिक वर्षहरूको भन्दा सुधार देखिएको बैंकरहरूले बताएका छन्।
केही हदसम्म धितो लिलाम र गैर-बैंकिङ सम्पत्ति पनि बिक्री भएको र केही ब्याज असुलीमा पनि सुधार देखिएको बैंकरहरू बताउँछन्।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्य गत आर्थिक वर्षको रिकभरीमा उल्लेख्य सुधार देखिएको बताउँछन्।
‘बक्यौता ब्याज नै घटेको छ। निष्क्रिय कर्जामा उल्लेख्य सुधार भएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्य भन्छन्, ‘केही धितो लिलाम पनि भएका छन्। हामीले नै रिकभरीका लागि ऋणीलाई कर्जा भुक्तानीको योजना पठाएर काम गरेका छौं, जसले सकारात्मक नतिजा दिएको छ।’
सानिमा बैंकको कर्जा रिकभरीमा सुधार मात्र नभएर निष्क्रिय कर्जामा नै उल्लेख्य रूपमा सुधार देखिएको आचार्यले बताए। ऋणीको आम्दानीमा सुधार भएर स्वतःस्फूर्त रूपमा रिकभरीमा सुधार भएको भन्दा पनि बैंकको रिकभरी योजना अनुसार ऋणीलाई योजना पेस गरेर सोही अनुसार रिकभरी भइरहेको उनले बताए।
असार मसान्तको ब्याज साउन १५ सम्म असुल गर्ने समय थप भएकोले १५ दिनमा अझै केही असुल हुन सक्ने हुँदा सानिमा बैंकको रिकभरीमा उल्लेख्य सुधार भएको आचार्य बताउँछन्।
कतिपय क्षेत्रमा रिकभरीमा सुधार भएको र कतिपय क्षेत्रमा राष्ट्र बैंकले दिएको सुविधा उपयोग गरेको उनले बताए।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं पनि रिकभरीमा सुधार देखिएको बताउँछन्। केही गैर-बैंकिङ सम्पत्ति बिक्री भएको र कतिपय रिकभरीमा समेत सुधार देखिएको उनले बताए। चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएपछि कर बढी लाग्ने भएकोले कतिपय ग्राहकले असारमा नै धितो बिक्री गर्ने तथा कारोबारका लागि पनि दबाब बढाएको उनले बताए।
सरकारले चालु आर्थिक वर्षदेखि घरजग्गा कारोबारको पुँजीगत लाभकर बढाएको छ। असार मसान्तमा नै कारोबार हुँदा पुँजीगत लाभकर कम लाग्ने अवस्था थियो। जसले गर्दा असारमा घरजग्गाको कारोबारमा सुधार देखिएको र त्यसको प्रभाव बैंकको रिकभरीमा पनि देखिएको बजगाईं बताउँछन्।
बैंकको ब्याज असुलीमा नै सुधार भएको र केही धितो र गैर-बैंकिङ सम्पत्ति पनि लिलाम हुँदा असार मसान्तमा रिकभरीमा सुधार देखिएको उनले बताए।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय पनि रिकभरी अपेक्षाभन्दा राम्रो देखिएको बताउँछन्। ‘१-२ दिन अघिसम्म ब्याज भुक्तानी गर्छौं भनेर प्रतिबद्धता (कमिटमेन्ट) मात्रै आइरहेको थियो। मसान्तमा आउँदा ब्याज असुलीमा उल्लेख्य सुधार देखिएको छ,’ पाण्डेय भन्छन्, ‘कर्मचारीको सेवा सुविधामा छुट्याउनुपर्ने ‘एक्चुरियल लस’ ठूलो भएको हुनाले रिकभरीमा उल्लेख्य सुधार देखिए पनि सञ्चित मुनाफामा केही दबाब रहन सक्छ।’
बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला पनि असार मसान्तसम्म नै रिकभरीमा उल्लेख्य सुधार देखिएको र वित्तीय विवरणमा त्यसले नै सकारात्मक प्रभाव देखिने बताउँछन्। थप १५ दिनको समय राष्ट्र बैंकले दिएकोले बक्यौता ब्याज असुल गर्ने समय पाएकाले थप सुधार देखिने उनी बताउँछन्।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल पनि बैंकले विगतमा नै ठूलो प्रोभिजन गरेको र अहिले सामान्य सुधार हुँदा पनि त्यसको प्रभाव राम्रो देखिने बताउँछन्। ‘रिकभरीमा पछिल्लो केही वर्षयताकै सकारात्मक अवस्था देखिएको छ,’ सीईओ खनाल भन्छन्, ‘राष्ट्र बैंकले १५ दिनको ब्याज उठाउन समय थप गरेकोले असार मसान्तमा उठ्न नसकेको ब्याज उठाउने समय पाउँदा अझै सकारात्मक हुने अपेक्षा छ।’
एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, सिद्धार्थ, एनएमबि, माछापुच्छ्रे, नेपाल एसबिआई लगायतका बैंकले दोहोरो अंकमा नै लाभांश वितरण गर्न सक्ने गरी गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण प्रकाशित गर्ने स्रोतको दाबी छ।
तर, आईएमएफको सर्त अनुसार भएको १० ठूला वाणिज्य बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’को अन्तिम प्रतिवेदन पनि गत आर्थिक वर्षको वित्तीय विवरणमा समायोजन (एड्जस्टमेन्ट) गर्नुपर्ने भएकोले असार मसान्तको रिकभरीको विश्लेषणमा मात्रै यस्तो देखियो भन्न हतार हुने अर्का एक बैंकर बताउँछन्।
अधिकांश बैंकहरूले रिकभरीमा सुधार देखिएको बताए पनि गत आर्थिक वर्षको लोन पोर्टफोलियो रिभ्युको रिपोर्ट कार्यान्वयनमा जाँदा त्यसले कतिपय बैंकहरूमा भने दबाब पर्ने बैंकर बताउँछन् ।
‘केही बैंकहरू अहिले नै दबाबमा छन्। लोन पोर्टफोलियो रिभ्युको रिपोर्ट कार्यान्वयनमा जाँदा केही बैंकको निष्क्रिय कर्जा राम्रै बढेर दोहोरो अंकसम्म पुग्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘करिब आधा दर्जन बैंकहरूलाई भने अझै पनि चुनौती रहेको छ।’
लोन पोर्टफोलियो रिभ्युमा १० बैंकहरूको औसतमा निष्क्रिय कर्जा २ प्रतिशत बिन्दुसम्मले बढेको देखिएको स्रोतको दाबी छ। त्यसमा बैंकहरूलाई कैफियत देखाएका फाइलहरूमा आफ्नो राय राख्ने र सुधार गर्ने अवसर राष्ट्र बैंकले दिएको थियो। त्यसले समायोजन गर्दा लोन पोर्टफोलियो रिभ्युकै अवस्थामा निष्क्रिय कर्जा नपुगे पनि बढ्ने अवस्था छ।
राष्ट्र बैंककै अधिकारीहरू लोन पोर्टफोलियो रिभ्यु र राष्ट्र बैंकले दिएको सुविधाहरू हटाउने हो भने समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा करिब दोहोरो अंक नजिक पुगेको स्वीकार गर्छन्।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा ‘स्ट्रेस टेस्टिङ’ रिपोर्टले पनि बैंकहरूमा बिग्रँदो कर्जा अथवा सम्पत्ति गुणस्तरले जोखिम बढ्दै गएको देखाएको छ। २०८२ असार मसान्तको तथ्याङ्कका आधारमा भएको ‘स्ट्रेस टेस्टिङ’ ले नै चुनौती देखाएकोमा २०८३ असार मसान्तमा आउँदा बैंकको निष्क्रिय कर्जामा थप वृद्धि देखिएको छ भने समग्र सम्पत्तिको गुणस्तर थप खस्किएको छ।
यसले लोन पोर्टफोलियो रिभ्यु भएका केही बैंक बाहेकको अवस्थामा अहिले क्लोजिङ भन्दा पनि लोन पोर्टफोलियो रिभ्युको रिपोर्ट समायोजनपछि मात्रै यथार्थ अवस्था देखिने बैंकरहरू नै बताउँछन्। अन्य साना बैंकको हकमा भने रिकभरीमा पनि सुधार देखिएकोले सकारात्मक नै रहेको स्रोतको भनाइ छ।





प्रतिक्रिया