
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता र ठगीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाल मन्दिरको जग्गा तथा सम्पत्तिमा अनियमितता गरेको भन्दै तत्कालीन कर्मचारी र पदाधिकारीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनको ललितपुर जिल्ला कार्य समितिका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र काठमाडौँ जिल्ला कार्य समितिका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ र प्रहरी प्रतिवेदनका आधारमा नेपाल सरकार वादी भई दर्ता भएको ठगी मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनीहरूमाथि बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको अभियोग छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । उनीहरूलाई असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरिएको र हाल थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाल मन्दिरको सम्पत्ति दुरुपयोग र ठगी प्रकरणमा थप व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको ब्यूरोले उल्लेख गरेको छ ।






प्रतिक्रिया