बाल मन्दिरको जग्गा प्रकरण: सम्पत्ति सुरक्षाका लागि कठोर कदम चाल्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।

संगठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पूर्जाविना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ ।’

प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे ।

‘बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ । उनीहरु स्वस्थ्य हुनुपर्छ । उचित शिक्षा र मायाा पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ,’ उनले भने ।

संगठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरिन् । हाल सो संगठनको आश्रयमा करिब तीन सय बालबालिका रहेका छन् ।

नक्सालस्थित नेपाल बाल संगठनको जग्गामा दशकौँदेखि एक व्यापारिक समूहको कब्जामा छ । सरकारी अधिकारी र उच्च राजनीतिक व्यक्तिलाई प्रभावमा पारेर व्यापारिक समूह विशाल ग्रुपले झण्डै ३० वर्षदेखि बाल मन्दिरको साढे २८ रोपनी जग्गामा कब्जा जमाएको छ ।

बाल संगठनको २८ रोपनी पाँच आना जग्गा २१३२ सालसम्मलाई लिजमा लिएर स्कुल चलाइरहेको बृहस्पति विद्या सदनले थप जग्गा गैरकानुनी रूपमा राय स्कुललाई ‘सबलिज’मा दिएको छ । यी दुवै स्कुलमा अधिकांश स्वामित्व विशाल ग्रुपको छ।

विशाल ग्रुपले संगठनको जग्गा कौडीको भाउमा लिएर अर्कोबाट महँगो भाडा असुली रहेको छ । बाल मन्दिर जग्गा प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरेहको छ ।

जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।


क्लिकमान्डु