
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार नेपालीको उपचारको क्रममा निधन भएको हो । तर अस्पताल प्रशासनले भने यसबारे जानकारी दिएको छैन ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका नेपालीको वीर अस्पतालको ‘बर्न’ आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
वीर अस्पतालले नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । विशेषगरी अनुहार, टाउको र घाँटीजस्ता संवेदनशील अंगमा गम्भीर क्षति पुगेको थियो ।
अस्पताल पुर्याउँदा श्वासप्रश्वासमा कठिन समस्या देखिएपछि उनलाई तत्कालै इन्टुबेसन गरी भेन्टिलेटरमा सारिएको थियो ।
उपचारका क्रममा उनको अवस्था पटक–पटक अस्थिर बनेको थियो ।
गम्भीर घाइते नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा छलफल भए पनि स्वास्थ्य अवस्था स्थिर नभएपछि र बचाउन सकिने अवस्था नभएपछि लगिएको थिएन ।
नेपालीको ज्यान जोगाउन वीर अस्पतालले २१ सदस्यीय विशेष चिकित्सक टोली परिचालन गरिएको थियो ।
बिहीबार दिउँसो राहदानी विभाग बाहिर आफूमाथि पेट्रोल खन्याएर आगो लगाएका नेपालीलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइएको थियो ।






प्रतिक्रिया