गणेश नेपालीको मृत्यु प्रकरण: काठमाडौं महानगरका तीन नगर प्रहरी नियन्त्रणमा

1.9k
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय राइडर गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

मुगुको सोरू गाउँपालिका-२ घर भएका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यो घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाका बेला कार्यक्षेत्रमा खटिएका दुई महिला र एक पुरुष गरी तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई अहिले प्रहरी वृत्त कालीमाटीमा राखेर सोधपुछ र अनुसन्धान भइरहेको छ ।

के थियो घटना ?

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेतिर गणेश नेपाली यात्रु लिएर राहदानी विभाग पुगेका थिए । सोही क्रममा काठमाडौं महानगर नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि विवाद सुरु भएको थियो । विवादपछि त्यहाँबाट निस्किएका उनी दिउँसो १:४० बजेतिर पुनः सोही स्थानमा फर्किएका थिए ।

नेपाली फर्किएका बेला नगर प्रहरीले उनको मोटरसाइकल उठाएर लैजान लागेका थिए । सोही झोकमा उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनले आफैँलाई आगो लगाएपछि त्यहाँ रहेका सर्वसाधारण र प्रहरीले पानी छर्केर आगो निभाएका थिए र उनलाई तत्कालै ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍याइएको थियो।

मृतकका आफन्तहरूले नगर प्रहरीको व्यवहार र विवादका कारण उनले आत्मदाहको बाटो रोजेको दाबी गरेका छन् । यता प्रहरीले भने घटनाको सत्यतथ्य बुझ्न नगर प्रहरीहरूमाथि सोधपुछ जारी रहेको जनाएको छ ।

मृतक नेपालीको शवलाई अहिले पोष्टमार्टमका लागि शिक्षण अस्पताल (टिचिङ), महाराजगन्ज लैजाने तयारी भइरहेको छ । नेपाली काठमाडौंमा बसेर राइड सेयरिङ एपमार्फत चालकका रूपमा काम गर्दै आएका थिए।