विश्व सुन बजारमा चीनको अदृश्य चाल, पश्चिमा एकाधिकार तोड्ने नयाँ रणनीति

301
Shares

काठमाडौं । अहिले विश्वको ध्यान मुख्यतया अमेरिकी डलरको उतारचढाव र फेडरल रिजर्भका नीतिहरूमा केन्द्रित छ । तर, पर्दापछाडि चीनले चालिरहेको रणनीतिक चालको प्रभाव डलरको संकटभन्दा धेरै गुणा शक्तिशाली र दीर्घकालीन हुन सक्छ ।

सुनको मूल्य बजारको माग र आपूर्तिको सामान्य सिद्धान्तले निर्धारण गर्छ जस्तो धेरैलाई लाग्न सक्छ । तर, वास्तविकता त्यसभन्दा निकै जटिल र रहस्यमय छ । विश्वभरका मानिसहरूले खरिद–बिक्री गर्ने सुन सबै एउटै ‘ढोका’ बाट गुज्रिनुपर्ने बाध्यता छ ।

कुनै देशको केन्द्रीय बैंकले आफ्नो सुनको सञ्चिति बढाउन चाह्यो भने त्यही ढोका ढकढक्याउनुपर्छ । कुनै ठूलो संस्थाले सुनको लगानी गर्न चाह्यो भने पनि त्यही बाटो रोज्नुपर्छ । हुँदाहुँदा तपाईंको हातमा रहेको सुनको मूल्य कति हुने भन्ने कुरा पनि त्यही ढोकाभित्र बसेका केही सीमित व्यक्तिहरूले निर्धारण गर्छन् ।

त्यो ढोका लन्डनमा अवस्थित छ । लन्डन बुलियन मार्केट एसोसिएसनले विगत एक शताब्दीदेखि विश्वको सुन बजारमा आफ्नो पूर्ण एकाधिकार कायम राखेको छ ।

लन्डनको यो एकाधिकार व्यापारमा मात्र सीमित छैन । यो पश्चिमा शक्तिहरूको आर्थिक प्रभुत्वको मुख्य आधार पनि हो । विगत सय वर्षदेखि विश्वको सम्पूर्ण सुन लन्डनको बुलियन मार्केट मार्फत कारोबार हुँदै आएको छ र यसको साँचो सधैं पश्चिमा राष्ट्रहरूको हातमा रहेको छ ।

तर, यसै साता चीनले इतिहासमै पहिलोपटक यो ढोकालाई पूर्ण रूपमा छल्ने वा बाइपास गर्ने एउटा नयाँ मार्ग प्रशस्त गरेको छ । हङकङमा चीनले विश्वका प्रमुख बैंकहरूसँग मिलेर नयाँ प्रणाली स्थापना गरेको छ । त्यसले सुनको खरिद–बिक्री गर्नका लागि अब लन्डनको बाटो हिँड्नुपर्ने छैन ।

चीनले डलरको विकल्पमा सुनलाई बलियो आधारका रूपमा तयार पारिरहेको छ । विश्वमा डलरको मूल्यमा ठूलो गिरावट आउँदा त्यही देश शक्तिशाली हुनेछ जसको ढुकुटीमा वास्तविक सुन छ

यो सामान्य प्राविधिक वा व्यापारिक समाचार मात्र होइन । वास्तवमा यो पश्चिमा सुन साम्राज्यमा देखिएको पहिलो र सबैभन्दा ठूलो चिरा हो । यसले विश्वको आर्थिक प्रणालीमा ठूलो भूकम्प ल्याउने संकेत गरेको छ । त्यसको पूर्ण प्रभाव आगामी केही वर्षहरूमा देखिनेछ ।

चीनको यो कदम किन यति महत्त्वपूर्ण छ भन्ने बुझ्नका लागि लन्डनले सुन बजारमा कसरी नियन्त्रण जमाउँछ र कसरी मूल्यमा चलखेल गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । लन्डनको शक्ति सुनको भौतिक भण्डारणमा मात्र छैन । बरु यसको वास्तविक शक्ति कागजी सुनको सिर्जनामा छ ।

यसलाई एउटा सरल उदाहरणबाट बुझ्न सकिन्छ । मानौं, एउटा सुन पसले छ । उसको ढुकुटीमा जम्मा १० किलो सुन छ । तर, उसले आफ्ना सयौं ग्राहकहरूलाई ‘तपाईंको यति सुन मसँग सुरक्षित छ’ भन्दै १ हजार किलो सुनको रसिद बेच्छ ।

जबसम्म ती सबै ग्राहकहरू एकैपटक आफ्नो भौतिक सुन माग्न आउँदैनन्, तबसम्म पसलेले रसिद बेचिरहन्छ र नाफा कमाइरहन्छ । ग्राहकहरूले आफ्नो रसिद हेरेर आफूसँग सुन भएकोमा ढुक्क हुन्छन् तर वास्तविकतामा उनीहरूको सुन त्यहाँ हुँदैन ।

विश्वको सुन बजार ठ्याक्कै यसरी नै चलिरहेको छ । बजारमा जति वास्तविक भौतिक सुन उपलब्ध छ, त्यसको तुलनामा कैयौं गुणा बढी कागजी रसिदहरू वा ‘डेरिभेटिभ्स’ घुमिरहेका छन् ।

बजारमा सुनको आपूर्ति वास्तविकभन्दा धेरै बढी देखिनु यस प्रणालीको सबैभन्दा ठूलो दुष्परिणाम हो । कुनै चिजको आपूर्ति कृत्रिम रूपमा बढी देखाइँदा त्यसको मूल्य स्वाभाविक रूपमा कम हुन्छ । यसको अर्थ, पश्चिमा वित्तीय संस्थाहरूले कागजी सुनको माध्यमबाट वास्तविक भौतिक सुनको मूल्यलाई कृत्रिम रूपमा दबाएर राखेका छन् ।

आज तपाईंले आफ्नो मोबाइलको स्क्रिनमा देख्ने सुनको मूल्य वास्तविक होइन । यो त कागजी खेलको उपज मात्र हो ।

चीनले पश्चिमाहरूको यो खेललाई धेरै पहिले नै बुझिसकेको थियो । त्यसैले चीनले यो खेललाई अन्त्य गर्न र आफ्नो आर्थिक सार्वभौमिकता जोगाउन निकै चलाखीपूर्ण कदमहरू चाल्न थाल्यो । चीनले यसका लागि दुईवटा मुख्य रणनीतिहरू अख्तियार गरेको छ । त्यसले पश्चिमा आर्थिक प्रणालीको जग नै हल्लाउन सक्छ ।

आफ्ना नागरिकहरूलाई यो कागजी खेलबाट बाहिर निकाल्नु चीनको पहिलो रणनीति थियो । चीनका ठूला बैंकहरू जस्तै आईसीबीसी, पोस्टल सेभिङ्स, पिङ एन र ग्वाङ्फाले एकपछि अर्को गर्दै आफ्ना ग्राहकहरूका लागि कागजी सुनका सुविधाहरू बन्द गरिदिएका छन् ।

बैंकहरूले आफ्ना नागरिकहरूलाई स्पष्ट सन्देश दिएका छन्— तपाईं सुनमा लगानी गर्न चाहनुहुन्छ भने वास्तविक भौतिक सुन नै किन्नुहोस्, स्क्रिनमा देखिने अंक वा कागजको टुक्रा होइन । यसो गर्दा चिनियाँ जनताको सम्पत्ति वास्तविक धातुमा सुरक्षित हुन्छ र पश्चिमा कागजी बजारमा हुने उतारचढावले उनीहरूलाई असर गर्दैन ।

चीनले आफ्ना नागरिकहरूलाई भौतिक सुनको मालिक बनाएर विश्वको सबैभन्दा ठूलो सुन उपभोक्ता राष्ट्रका रूपमा आफ्नो स्थितिलाई झनै मजबुत बनाएको छ ।

दोस्रो रणनीति भनेको आफ्नै स्वतन्त्र बजारको निर्माण गर्नु हो । त्यो अहिले हङकङमा सुरु भएको छ । चीनले लन्डन र न्युयोर्क (कोमेक्स) को विकल्पमा हङकङलाई सुनको नयाँ विश्व केन्द्र बनाउन खोजिरहेको छ । यो नयाँ प्रणालीमा सुनको कारोबार वास्तविक भौतिक डेलिभरीमा आधारित हुनेछ, कागजी रसिदमा होइन ।

व्यापार वास्तविक धातुमा हुँदा मूल्यमा चलखेल गर्ने ठाउँ रहँदैन । चीनले यस्तो प्रणाली बनाउँदैछ जहाँ युआन वा अन्य स्थानीय मुद्राहरूमा सुनको कारोबार गर्न सकियोस् । यसले डलरको वर्चस्वलाई सिधै चुनौती दिन्छ । एकातिर चीनले आफ्ना नागरिकहरूलाई नक्कली प्रणालीबाट बाहिर निकालिरहेको छ भने अर्कोतिर ऊ आफैंले चुपचाप विश्व बजारबाट वास्तविक भौतिक सुनको ठूलो परिमाण संकलन गरिरहेको छ ।

चीनको यो सुन रणनीति उसको बृहत्तर भूराजनीतिक योजनाको अभिन्न अंग हो । एकातिर चीनले ब्रिक्स देशहरूको ब्लकलाई विस्तार गर्दै गैरडलर व्यापारको वकालत गरिरहेको छ भने अर्कोतिर सुनको बजारमा आफ्नो नियन्त्रण कायम गर्दैछ ।

पश्चिमा आर्थिक प्रणालीको दासताबाट मुक्ति यी दुवै कदमको उद्देश्य हो । चीनलाई राम्ररी थाहा छ, अमेरिकी डलरको आयु अब धेरै छैन र कुनै पनि बेला डलरको संकट आउन सक्छ । डलरको पछाडि कुनै ठोस ग्यारेन्टी छैन, तर सुनको पछाडि हजारौं वर्षको इतिहास र विश्वास छ ।

चीनले डलरको विकल्पमा सुनलाई बलियो आधारका रूपमा तयार पारिरहेको छ । विश्वमा डलरको मूल्यमा ठूलो गिरावट आउँदा त्यही देश शक्तिशाली हुनेछ जसको ढुकुटीमा वास्तविक सुन छ ।

अहिले विश्वका धेरै लगानीकर्ताहरू सुनको मूल्य नबढेको देखेर निराश छन् र सुन बेचेर अन्यत्र लगानी गरिरहेका छन् । तर, चीनले यही समयलाई एउटा सुवर्ण अवसरका रूपमा लिएको छ ।

पश्चिमाहरूले कागजी खेलमार्फत सुनको मूल्यलाई सस्तो बनाइदिँदा चीनले त्यही सस्तो मूल्यमा वास्तविक भौतिक सुनलाई भारी मात्रामा खरिद गरेर आफ्नो ढुकुटी भरिरहेको छ ।

यो एउटा यस्तो युद्ध हो जहाँ पश्चिमाहरू कागजको खोस्टो बाँडिरहेका छन् र चीनले त्यसको बदलामा बहुमूल्य धातु संकलन गरिरहेको छ । चीनको यो नीतिले के देखाउँछ भने उसले अल्पकालीन नाफाभन्दा पनि दीर्घकालीन वित्तीय सुरक्षालाई प्राथमिकता दिएको छ । चीनले बुझेको सत्य के हो भने कागजको शासन तबसम्म मात्र चल्छ, जबसम्म सबैले वास्तविक वस्तुको माग गर्दैनन् ।

चीनले सुरु गरेको नयाँ प्रणालीले अन्य देशहरूलाई पनि डलर र पश्चिमा आर्थिक केन्द्रहरूमाथिको निर्भरता घटाउन विकल्प दिएको छ

विश्वका देश र लगानीकर्ताहरूले आफ्नो कागजी रसिदको बदलामा वास्तविक भौतिक सुन माग्न सुरु गरेको दिन लन्डन र न्युयोर्कका बैंकहरू ठूलो संकटमा पर्नेछन् किनकि उनीहरूसँग रसिदको तुलनामा भौतिक सुनको मात्रा निकै कम छ । त्यो दिन पेपर गोल्डको मूल्य शून्य बराबर हुनेछ र भौतिक सुनको मात्र वास्तविक मूल्य हुनेछ ।

त्यस संकटको घडीमा त्यही व्यक्ति वा देश विजेता हुनेछ जसको हातमा रसिद नभई वास्तविक धातु हुनेछ । चीनले त्यही दिनको तयारी गरिरहेको छ । पश्चिमाहरूले सिर्जना गरेको कृत्रिम वित्तीय संसार ढल्न लाग्दा चीनले सुनको जगमा उभिएको नयाँ र ठोस आर्थिक साम्राज्यको निर्माण गरिरहेको छ ।

यो चीन र पश्चिमबीच व्यापारिक प्रतिस्पर्धा मात्र हैन । यो त आर्थिक सार्वभौमिकताको लडाइँ हो । लामो समयदेखि विकासोन्मुख देशहरू पश्चिमा मौद्रिक नीतिहरूको मारमा पर्दै आएका छन् । डलरको मूल्य बढ्दा वा घट्दा ती देशहरूको अर्थतन्त्र तहसनहस हुने गरेको छ ।

चीनले सुरु गरेको नयाँ प्रणालीले अन्य देशहरूलाई पनि डलर र पश्चिमा आर्थिक केन्द्रहरूमाथिको निर्भरता घटाउन विकल्प दिएको छ । यो प्रणाली सफल भयो भने भविष्यमा सुनको मूल्य निर्धारण गर्ने केन्द्र लन्डन वा न्युयोर्क नभई शाङ्हाई वा हङकङ हुनेछ । यसले विश्वको आर्थिक शक्तिको केन्द्र पश्चिमाबाट पूर्वतर्फ सर्ने प्रक्रियालाई झनै तीव्रता दिनेछ ।