
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण व्यवसायी कम्पनीलाई रकम तोकेरै रकम माग गरेको छ ।
कञ्चनपुरमा रास्वपा कृष्णपुर नगरपालिका– १ वडा समितिले निर्माण व्यवासायी कम्पनी अञ्जल कन्स्ट्रक्सनलाई रकम तोकेरै चन्दा माग गरेको पत्र सार्वजनिक भएको हो ।
रास्वपा वडा सभापति सुरेन्द्र बोहराले २०८३ जेठ २७ गते हस्ताक्षर गरेको पत्रमा असार १ गतेदेखि हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७ देखि ९ गतेसम्म हुने पार्टीको महाधिवेशनका लागि पार्टीको आधिकारिक लेटरप्याडमा ३० हजार रुपैयाँ चन्दा माग गर्दै पत्र पठाएका हुन् ।
पार्टीको नीति तथा सिद्धान्तविपरीत रास्वपाले लेटरप्याडमै रकम तोकेरै ठेकेदार कम्पनीसँग चन्दा मागेपछि आलोचना भइरहेको छ ।
यसअघि पार्टी सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई व्यवसायीले चन्दा दिनु नपर्ने बताएक थिए ।
यसअघि चुनावी भाषणका क्रममा इटहरीमा आयोजित कार्यक्रम बालेन शाहले व्यवसायीमाथि पुराना राजनीतिक दलले चन्दा आतंक मच्चाउने गरेको भन्दै आफूहरूको सरकार बनेपछि त्यस्तो गर्न नपर्ने बताएका थिए ।
‘नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ अनि बल्लबल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ । अब त्यो पर्दैन,’ बालेनले भनेका थिए, ‘त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले ।’









प्रतिक्रिया