विद्यार्थीलाई औद्योगिक क्षेत्रसँग जोडने सीप उत्सव २०८३ सम्पन्न

7
Shares

विराटनगर । विद्यार्थीहरूलाई सीप, करियर तथा उद्योगसंग जोड्ने उद्देश्यले उद्योग संगठन मोरङले आयोजना गरेको सीप उत्सव २०८३ आइतवार सकिएको छ ।

स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर÷हेल्भेटास नेपालको सहकार्य र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजित सीपका लागि उद्योग, करियरका लागि भविष्य भन्ने मूल नाराका साथ आयोजना गरिएको उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका करिब एक हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

उत्सवलाई विद्यार्थीहरूको करियर यात्राका रूपमा डिजाइन गरिएको थियो । जहाँ सहभागीहरूले सिकाइका क्षेत्रहरू हुदै आफनो रुचि, क्षमता, सम्भावित करियर तथा उद्योगसंगको सम्बन्ध बारे प्रत्यक्ष अनुभव हासिल गरेको उद्योग संगठन मोरङले जनाएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति अभाव र शिक्षाबाट उत्पादित जनशक्तिको सीपबीच रहेको अन्तरलाई कम गर्ने उद्देश्यले संगठनले अप्रेन्टिसीप कार्यक्रम तथा सीप उत्सव जस्ता अभियान सञ्चालन गर्दै आएको बताए । विद्यार्थीहरूलाई उद्योगको वास्तविक वातावरण, करियर सम्भावना तथा सीप विकासका अवसरसंग प्रत्यक्ष जोड्न सफल भएको राठीको कथन थियो ।

उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दिपक अग्रवालले उत्सवमा सञ्चालन गरिएका १० वटा सिकाइ तथा अनुभवात्मक जोनहरूले विद्यार्थीहरूलाई करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन तथा उद्यमशीलतासँग जोड्ने अवसर प्रदान गरेको बताए । उनले कार्यक्रमबाट विद्यार्थीहरूमा सीपमुखी शिक्षा तथा करियरप्रतिको सकारात्मक सोच विकास भएको विश्वास व्यक्त गरे ।

उत्सवमा प्रेरणादायी सत्र, करियर परीक्षण, करियर काउन्सिलिङ, करियर ट्री, मेरो देश मेरै उत्पादन, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा, नवप्रवर्तन तथा उद्यमशीलता प्रदर्शनी लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

साथै सीप प्रतिस्पर्धामा अटोमोवाइल क्षेत्रबाट महमोहन स्मृति पोलिटेक्निका मोहम्मद जेसन अन्सारी, होटल म्यानेजमेन्ट क्षेत्रबाट नरवहादुर कर्माचार्य वहुप्राविधिक शिक्षालयकी आकृति पौडेल र सूचना प्रविधि क्षेत्रबाट कन्काई पोलिटेक्निक मनिष घिमिरे प्रथम हुदै स्कील आईकन २०८३ वाट सम्मानीत भए । उनीहरुलाई संगठनका अध्यक्ष राठीले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

नेपाल उद्योगा वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा र मोरङ उद्योग व्यापार संघका वरिष्ट उपाध्यक्ष अनिल साह लगायतले सीप उत्सवले औधोगिक क्षेत्रमा सीप र करियरका रुपमा दक्ष जनशक्तिलाई भित्रयाउन सफल हुने विश्वास व्याक्त गरे ।