
नमस्ते, सन्चै हुनुहुन्छ ?
चिया खानुभयो त ?
चिया कहाँको खानुभयो ? कुन ठाउँको ?
इलाम, दमकको ?
खाना खानुभयो ?
बिहान खानामा तरकारी कहाँको खानुभयो ?
बोर्डर पारिको खानुभयो ?
तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खान पाउनुभएको थिएन तपाईंहरूले ।
हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन, यो दुःखको कुरा हो । यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
पूर्वी तराईका तीनवटा, चारवटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरिलाई खान पुग्छ । तर विडम्बना यहीँ खान पुगेको छैन । यो दुःखलाई समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
बर्खामा बाढी आउने, बाढीले खेतको खेतीयोग्य जग्गाहरू सबै बालुवाले पुरिदिने, सुक्खामा पानी नपाउने, सिँचाइ गर्न नसक्ने । खेतीयोग्य जग्गाहरूलाई त्यत्तिकै राख्नुपरेको हुन्छ बेलाबेलामा । बाढी समाधान गर्न तटबन्ध बनाउने र सुक्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जनी गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ । के गरेर पैसा कमाउने भन्नुस् तपाईंहरू ? यो तीनवटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले ।
हाम्रो किरातहरूको, सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र, मुकुमलुङ, खुवालुङ, पाथीभरा जस्ता ठाउँहरूलाई ७७ नै जिल्लाका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाऊन् । त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
समस्याहरू धेरै छन्, समाधान पनि यहीँ छ । समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ हाम्रो पार्टीले ।
देशकै पहिलो उद्योग कलकारखाना भएको यो ठाउँ यो क्षेत्र हो । यहाँनिर खाने तेलदेखि मर्मसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्रिहरू छन् । तर जुन बेलामा त्यो फ्याक्ट्रीहरू खुले, त्यो इन्डस्ट्रिजहरू खुले त्यसपछि नयाँ खुलेका छैनन् । नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ अनि बल्लबल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ । अब त्यो पर्दैन। त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले ।
विश्वको पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईंहरूलाई ? हाम्रै बराह क्षेत्र । यो हामी नेपालीलाई पनि कतिलाई थाहा छैन । त्यो थाहा दिन चाहन्छौँ। त्यो थाहा दिने मान्छे बन्न सकौँ, त्यो थाहा दिने पार्टी बन्न सकौँ, त्यो थाहा दिने सिस्टम बनोस् । अस्ति हामी त्यो बराह क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरूमा पनि पुगेका थियौँ । उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली, माल्दिभ्स जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
यता पिउने पानीको पनि धेरै समस्या छ । धरानमा पिउने पानीको डीपीआर पहिले नै भएको थियो, त्यो डीपीआर भयो । त्यो खानेपानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग ५–६ अर्ब लाग्छ । तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला । कुन पार्टी पुग्छ अब त सरकारमा ? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
तपाईंलाई थाहा छ नेपालको ६०–७० प्रतिशत फुटबल प्लेयर कहाँबाट निस्किन्छ ? यही पूर्व क्षेत्रबाट निस्किन्छ । तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेलमैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन । एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन । त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट १० वर्ष पछाडिदेखि देखिन्छ । एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि १०,००० घण्टा प्राक्टिस गरेको हुनुपर्छ । त्यो प्राक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । र अन्त्यमा, जसरी यो सिलाम साक्मा लाछु–जो, यो सिलाम साक्माले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । धेरै धेरै धन्यवाद, नमस्कार।
(मंगलबार इटहरीमा आयोजित कार्यक्रम रास्वपा वरिष्ठ नेता बालेनले व्यक्त गरेको विचार )








प्रतिक्रिया