
काठमाडौं । हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्स कम्पनीमा साढे ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी माग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा होटलमा तोडफोड तथा आगजनी भएको थियो ।
हाल होटलले उक्त क्षतिको मूल्यांकन गरी ओरियण्टल इन्स्योरेन्समा कुल ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिमा दाबी माग गरेको हो ।
‘पोर्चुगिज सर्भेयरहरुको सहयोगमा क्षतिको विवरण तयार पारी जेठ ५ गते बिमा माग दाबी गरिएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘क्षति मूल्यांकन सम्पन्न गरिसकेपछि बिमा दाबी माग गरिएको हो ।’ स्रोतका अनुसार मूल्यांकनका लागि समय लाग्दा बिमा दाबी माग गर्न बढी समय लागेको बताइन्छ ।
अहिले होटल परिसरबाट भग्नावशेष हटाइसकिएको छ भने निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ । बैंकको ऋण र ब्याजको भार बढ्दै गएकाले होटल सकेसम्म छिटो बनाइ सञ्चालन गर्नुपर्ने दबाब पनि छ ।
यसअघि, नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमाका विषयमा कानुन विपरीत काम गरेको भन्दै एक पुनर्बिमा कम्पनीका सीईओसहित तीन कम्पनीलाई कारबाही गरेको थियो ।
प्राधिकरणले नेपाल रिका सीईओसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा दलाल)लाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको थियो ।
जसमा नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बिमा ऐन, २०७९ को बमोजिम कारबाही गरेको थियो भने हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना भएको थियो । यस्तै, एलियण्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय भएको थियो ।





प्रतिक्रिया