
काठमाडौं । सरकारले विभिन्न उद्योगको चिम्नीबाट उत्सर्जन हुने विषाक्त धुवाँ र चिम्नीको उचाईसम्बन्धी मापदण्ड निर्धारण गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले औद्योगिक फर्नेसबाट सञ्चालन हुने उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ र चिम्नी, सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो धुवाँ तथा चिम्नी, इँटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ, इँटा उद्योगको सञ्चालनसम्बन्धी मापदण्ड र चिम्नी तथा उद्योग प्रतिष्ठानमा जडान भएको ब्वाइलरको सञ्चालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाईसम्बन्धी मापदण्ड निर्धारण गरेको हो ।
मन्त्रालयले ती ४ वटै उद्योगको धुवाँ र चिम्नीको उचाईसम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ । यो मापदण्डले औद्योगिक क्षेत्रबाट हुने वायु प्रदूषण कम गरी स्वच्छ वातावरण कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
औद्योगिक फर्नेशबाट सञ्चालन हुने धुवाँ र चिम्नीको उचाई
वन तथा वातावरण मन्त्रालयले औद्योगिक फर्नेस सञ्चालन र त्यसबाट हुने प्रदूषण न्यूनीकरणका लागि नयाँ मापदण्ड जारी गरेको छ । ‘वातावरण संरक्षण ऐन, २०७६’ को दफा १५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रीस्तरको निर्णयबाट ‘औद्योगिक फर्नेसको सञ्चालन, सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाई सम्बन्धी मापदण्ड, २०८२’ लागू गरिएको हो ।
औद्योगिक उत्पादन र प्रशोधनका क्रममा उच्च तापक्रममा गरिने कार्यबाट हुने वातावरणीय असरलाई न्यूनीकरण गर्न यो मापदण्ड ल्याइएको मन्त्रालयले जनाएको छ ।
नयाँ मापदण्डले औद्योगिक चिम्नीबाट निष्कासन हुने धुवाँमा रहने प्रदूषक तत्वहरूको अधिकतम सीमा तोकेको छ । जसअनुसार पार्टिकुलेट म्याटर (पीएम) को अधिकतम उत्सर्जन सीमा १५० मिलिग्राम प्रति घनमिटर हुनुपर्ने तोकिएको छ ।
यस्तै सल्फर डाइअक्साइडको अधिकतम उत्सर्जन सीमा ४०० मिलिग्राम प्रति घनमिटर, नाइट्रोजन डाइअक्साइडको अधिकतम सीमा ३७५ मिलिग्राम प्रति घनमिटर र कार्वन मोनोअक्साइडको अधिकतम सीमा ४०० मिलिग्राम प्रति घनमिटर हुनुपर्ने मापदण्ड तोकिएको छ ।
मिलिग्राम प्रति नर्मल क्युविक मिटर(एमजी/एनएमक्युब) एकाइ भन्नाले साधारण चाप (१ एटम) र तापक्रम (२५ डिग्रि सेल्सियस) मा प्रति घनमिटर आयतनमा जम्मा हुने प्रदूषकको मिलिग्राम परिमाणलाई जनाउँछ ।
मापदण्डअनुसार चिम्नीमा चिम्नीमा फ्लु ग्यास प्रवेश गर्ने विन्दुदेखि चिम्नीको उचाइ कम्तीमा १५ मिटरको हुनुपर्नेछ । धुवाँ परीक्षणका लागि चिम्नीको बाहिरी ब्यास (डायमिटर)को तुलनामा २ गुणा उचाइमा स्थायी ‘स्याम्पलिङ पोर्ट’ बनाउनुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै चिम्नीको उचाइको एक तिहाइ भागमा कम्तीमा २५० किलो भारवहन क्षमता भएको गोलाकार ‘स्याम्पलिङ प्लेटफर्म’ निर्माण गर्नुपर्ने अनिवार्य मापदण्ड तोकिएको छ ।
फर्नेसको क्षमता र प्रकार अनुसार थप उपकरणहरू जडान गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । जसअनुसार दैनिक ५ टनभन्दा बढी क्षमता भएका फर्नेसहरूमा खेर जाने तापको पुनः प्रयोग (वेस्ट हिट रिकभरी) गर्न रिकुपरेटर जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ठोस तथा तरल इन्धन प्रयोग गर्ने फर्नेसले धुलोका कण नियन्त्रणका लागि ‘ब्याग फिल्टर’, ‘वेट स्क्रबर’ वा ‘इलेक्ट्रोस्टाटिक प्रिसिपिटेटर’ (ईएसपी) मध्ये कुनै एक अनिवार्य जडान गर्नु पर्ने व्यवस्था गरिएको छ ।
विद्युतीय फर्नेसको हकमा धुलोका कण नियन्त्रण गर्न ‘ब्याग फिल्टर’ सहितको ‘डस्ट कलेक्टर’ जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो मापदण्ड ठोस, तरल र विद्युतीय सबै प्रकारका फर्नेसहरूमा लागू हुने मापदण्ड तोकिएको छ । तर, विद्युतीय फर्नेसको हकमा भने पार्टिकुलेट म्याटर (पीएम) को मापदण्ड मात्र लागू हुने स्पष्ट पारिएको छ ।
सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुवाँ तथा चिम्नीको उचाई
मन्त्रालयले सिमेन्ट उद्योगहरूबाट हुने प्रदूषण न्यूनीकरण गर्न ‘सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुँवा तथा चिम्नीको उचाइ सम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको छ ।
सिमेन्ट उद्योगबाट हुने वातावरणीय प्रभावलाई कम गर्ने उद्देश्यले ल्याइएको यस मापदण्डले उद्योगको परिसरभित्रको वायुको गुणस्तर, चिम्नीबाट हुने उत्सर्जन र आवश्यक पूर्वाधारका बारेमा मापदण्ड तय गरेको छ ।
मापदण्ड अनुसार अब सिमेन्ट उद्योग परिसरभित्र ‘टोटल सस्पेन्डेड पार्टिकुलेट’ (टीएसपी) को अधिकतम सीमा ५०० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने व्यवस्था गरिएको छ । यसको परीक्षण ‘ग्राभिमेट्रिक’ विधि वा नेपाल सरकारले तोकेको अन्य विधिबाट गरिने उल्लेख छ ।
मापदण्डले सिमेन्ट उत्पादन गर्ने भट्टिको प्रविधि अनुसार उत्सर्जनको छुट्टाछुट्टै सीमा निर्धारण गरेको छ । जसअनुसार पार्टिकुलेट म्याटर (पीएम) रोटरी क्लिन भएका उद्योगका लागि अधिकतम सीमा ३५ मिलिग्राम प्रति घनमिटर र भर्टिकल साफ्ट क्लिनको लागि ५० मिलिग्राम प्रति घनमिटर सीमा तोकिएको छ ।
यस्तै सल्फर डाइअक्साइडतर्फ दुवै प्रविधिका लागि अधिकतम १००० मिलिग्राम प्रति घनमिटर अधिकतम सीमा तोकिएको छ । नाइट्रोजन डाइअक्साइडको हकमा दुवै प्रविधितर्फ अधिकतम ८०० मिलिग्राम प्रति घनमिटर हुनुपर्ने मापदण्ड तोकिएको छ ।
नयाँ मापदण्डले सिमेन्ट उद्योगहरूका लागि केही अनिवार्य पूर्वाधारको व्यवस्था गरेको छ । जसअनुसार चिम्नीमा फ्लु ग्यास प्रवेश गर्ने बिन्दुबाट चिम्नीको उचाइ कम्तीमा ३० मिटर हुनुपर्नेछ । प्रदूषण नियन्त्रण उपकरणतर्फ भट्टिको चिम्नी अगाडि ‘इलेक्ट्रोस्टाटिक प्रिसिपिटेटर’ (ईएसपी) वा ‘ब्याग फिल्टर’ जडान गर्नुपर्नेछ ।
निरीक्षण सुविधातर्फ चिम्नीमा स्थायी भर्याङ, स्याम्पलिङ पोर्ट र कम्तीमा २५० किलो भारवहन क्षमता भएको स्याम्पलिङ प्लेटफर्म बनाउनुपर्नेछ ।
धुलो नियन्त्रणतर्फ उद्योग परिसरभित्र हावाको बहाव रोक्न कम्तीमा २ मिटर अग्लो पर्खाल (विन्ड ब्रेकिङ वाल्स) निर्माण गर्नुपर्ने र उद्योग भित्रका सडकहरू कालोपत्रे वा कंक्रिट गरिएको हुनुपर्नेछ ।
उद्योगले परिसरभित्र नियमित रूपमा पानी छर्कने र सरसफाइ गर्ने व्यवस्था मिलाउनुपर्नेछ । साथै, उद्योगको वरिपरि ‘हरित पेटी’ निर्माण गर्नुपर्ने अनिवार्य व्यवस्था मापदण्डमा छ ।
यो नयाँ मापदण्ड लागू भएसँगै २०६९ साल कात्तिक १३ गते प्रकाशित सिमेन्ट र क्रसर उद्योग सम्बन्धी पुरानो मापदण्डको सिमेन्ट उद्योगसँग सम्बन्धित हक खारेज गरिएको छ ।
इँटा उद्योगको नयाँ मापदण्ड
सरकारले ईट्टा उद्योगका लागि नयाँ वातावरणीय मापदण्ड जारी गरेको छ । यो मापदण्डअनुसार ‘जिग–ज्याग’ प्रविधि अनिवार्य गरिएको छ भने टायर र प्लास्टिक पोल्न प्रतिबन्ध लगाइएको छ ।
बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यले ईट्टा उद्योगहरूका लागि नयाँ र परिमार्जित मापदण्ड लागू गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को अधिकार प्रयोग गरी ‘इँटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ, चिम्नीको उचाई तथा इँटा उद्योगको सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ सार्वजनिक गरेको हो ।
यो मापदण्डले विशेषगरी धुवाँको मात्रा, चिम्नीको उचाइ, प्रयोग गरिने प्रविधि र इन्धनका सम्बन्धमा नयाँ नियमहरू तय गरेको छ ।
मापदण्डअनुसार नयाँ मापदण्ड अनुसार अब इँटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने ‘पार्टिकुलेट म्याटर’ (पीएम) को अधिकतम सीमा २५० मिलिग्राम प्रति घनमिटर तोकिएको छ ।
यस्तै उद्योगको प्रकृति अनुसार चिम्नीको न्यूनतम उचाइ पनि तोकिएको छ । जसअनुसार बुल्स ट्रेन्च किल (बीटीके) र हफम्यान किल (नेचुरल ड्राफ्ट) ३० मिटर हुनुपर्ने मापदण्ड तोकिएको छ । बुल्स ट्रेन्च र हफम्यान किल (फोर्स ड्राफ्ट) १७ मिटर, भर्टिकल शाफ्ट ब्रिक किल (भीएसबीके) १५ मिटर, टनेल किल १० मिटर र हाइब्रिड हफम्यान किल (एचएचके) ७ मिटर हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
‘जिग–ज्याग’ प्रविधि अनिवार्य र दुई वर्षको समयसीमा तोकिएको छ । सरकारले नयाँ स्थापना हुने ‘फिक्स्ड चिम्नी बुल्स ट्रेन्च किल’ को लागि जिग–ज्याग टेक्नोलोजी अनिवार्य गरेको छ ।
हाल सञ्चालनमा रहेका तर यो प्रविधि अपनाउन नसकेका उद्योगहरूलाई जिग–ज्याग प्रविधिमा रूपान्तरण हुनका लागि यो मापदण्ड प्रारम्भ भएको मितिले दुई वर्षको समयसीमा दिइएको छ । उक्त अवधिभर पुराना उद्योगहरूले साबिककै मापदण्ड पालना गर्नुपर्नेछ ।
वातावरणमा गम्भीर असर पुर्याउने वस्तुहरूलाई घातक इन्धनको रूपमा प्रयोग गर्न सरकारले कडा प्रतिबन्ध लगाएको छ । अब इट्टा भट्टामा पेट कोक, टायर, टायरजन्य वस्तु, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु र अन्य जोखिमपूर्ण फोहोर जलाउन पाइने छैन । यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रावधान राखिएको छ ।
मापदण्डले उद्योग सञ्चालनका क्रममा धुलो नियन्त्रण र सरसफाइमा पनि जोड दिएको छ । जसअनुसार उद्योग परिसरमा नियमित रूपमा पानी छर्कने र सरसफाइ गर्नुपर्नेछ । इँटा उत्पादनका क्रममा निस्कने खरानीलाई पूर्ण रूपमा पुनः उत्पादन प्रक्रियामै प्रयोग गर्नुपर्ने, काचा तथा तयारी ईट्टा ओसारपसार गर्दा धुलो नउड्ने गरी सवारी साधनलाई ढाक्नुपर्ने र नयाँ उद्योगहरूले चिम्नीमा अनिवार्य रूपमा स्थायी ‘स्याम्पलिङ पोर्ट’, ‘प्ल्याटफर्म’ र भर्याङ निर्माण गर्नुपर्नेछ ।
धुवाँको परीक्षण ‘ग्य्राभिमेट्रिक एनालाइसिस’ वा आईएसओ ९०९६ः२०१७ को विधि अनुसार गरिनेछ । यो मापदण्ड लागू भएसँगै यसअघि २०७४ माघ ८ गते प्रकाशित मापदण्ड खारेज गरिएको छ ।
व्बाइलरजडित उद्योगको हकमा कस्तो मापदण्ड ?
सरकारले उद्योग प्रतिष्ठानहरूमा प्रयोग हुने ब्वाइलरबाट उत्सर्जन हुने धुवाँ र त्यसको चिम्नीको उचाइका सम्बन्धमा नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।
‘उद्योग प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइ सम्बन्धी मापदण्ड, २०८२’ सार्वजनिक गरेको हो । सरकारले औद्योगिक ब्वाइलरको प्रदूषण नियन्त्रणका लागि चिम्नीको उचाइ र धुवाँको मात्रा तोकेको हो ।
नयाँ मापदण्ड अनुसार ब्वाइलरको क्षमता र प्रयोग हुने इन्धनका आधारमा निष्कासन हुने धुवाँमा धुलोका कण (पार्टिकुलेट म्याटर –पीएम) को अधिकतम सीमा निर्धारण गरिएको छ ।
जसअनुसार बाफ उत्पादन क्षमता दुई टन पर आवरभन्दा कम क्षमताको ब्वाइलरको हकमा कृषिमा आधारित इन्धन/ब्रिकेट प्रयोग गरेमा ६०० मिलिग्राम प्रति घनमिटर र अन्य इन्धन प्रयोग गरेमा ५०० मिलिग्राम प्रति घनमिटरसम्मको अधिकतम धुवाँ उत्सर्जन सीमा तोकिएको छ ।
दुई देखि १० टन पर आवरभन्दा कम क्षमताको ब्वाइलरको हकमा कृषि इन्धनका लागि ५०० मिलिग्राम प्रति घनमिटर र अन्यका लागि २५० मिलिग्राम– प्रति घनमिटर मापदण्ड तोकिएको छ ।
दुई टन पर आवरभन्दा कम र दुईदेखि १० टन आवरभन्दा कम क्षमताको ब्वाइलर उद्योगको हकमा नियन्त्रित उपकरणका रुपमा औद्योगिक ब्वाइलरसँगै साइक्लोन/मल्टिसाइक्लोन प्रविधि हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै १० देखि १५ टन पर आवरभन्दा कम क्षमताको ब्वाइलरको हकमा कृषि इन्धनका लागि ४०० मिलिग्राम प्रति घनमिटर र अन्यका लागि २०० मिलिग्राम प्रति घनमिटर अधिकतम उत्सर्जन सीमा हुनुपर्ने मापदण्ड तय भएको छ ।
त्यस्तै १५ टन पर आवरभन्दा बढी क्षमताको ब्वाइलरको हकमा कृषि इन्धनका लागि २५० मिलिग्राम प्रति घनमिटर र अन्यका लागि १५० मिलिग्राम प्रति घनमिटरको सीमा तोकिएको छ ।
मापदण्डअनुसार १० देखि १५ टन पर आवर क्षमता र १५ टन पर आवरभन्दा बढी क्षमताको ब्वाइलर उद्योगको हकमा नियन्त्रित उपकरणको रुप्मा औद्योगिक ब्वाइलरसँगै ब्याग फिल्टर/इलेक्ट्रोस्टाटिक प्रिसिपिटेटर(ईएसपी) प्रविधि हुनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले चिम्नीको उचाइ निर्धारणका लागि निश्चित वैज्ञानिक सूत्र तय गरेको छ । मापदण्ड अनुसार चिम्नीको उचाइ जुनसुकै अवस्थामा पनि फ्लु ग्यासको प्रवेश गर्ने बिन्दुदेखि ११ मिटरभन्दा कम नहुने व्यवस्था गरिएको छ ।
धुवाँको नमुना संकलन गर्ने विन्दु (स्याप्लिङ प्वाइन्ट) चिम्नीको कुल उचाइको एक तिहाइ भागमा हुनुपर्ने प्राविधिक रुपमा प्रष्ट पारेको छ ।
यो नयाँ मापदण्ड लागु भएसँगै यसअघि २०६९ कात्तिक १३ गते नेपाल राजपत्रमा प्रकाशित भएको ‘ब्वाइलर सम्बन्धी मापदण्ड’ खारेज गरिएको छ । अब उप्रान्त सबै उद्योगहरूले यहि २०८२ को नयाँ मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।





प्रतिक्रिया