विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

63
Shares

काठमाडौं । उद्योगबाट उत्सर्जन हुने वायु प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन गर्न विश्व बैंकले दिन लागेको ५२ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) बराबरको ऋण सहयोग नेपालले स्वीकार गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले  विश्व बैंकले दिने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकले ऋण तथा अनुदान सहयोग गर्न लागेको हो ।

२०८२ फागुनमा विश्व बैकले उद्योगबाट उत्सर्जन हुने वायु प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन गर्न विश्व बैंकले नेपाललाई ५२ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) बराबरको ऋण सहयोग स्वीकृत गरेको थियो ।