
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र बजारमा हुने अस्वाभाविक उतारचढाव र कृत्रिम डिमान्डलाई नियन्त्रण गर्न खरिदबिक्री आदेश प्रविष्ट गर्ने सीमा कार्यान्वयनमा कडाइ गरेको छ ।
बुधबार धितोपत्र कारोबार सदस्यका लागि एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को व्यवस्थालाई पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय कतिपय ब्रोकरहरूले लगानीकर्ताहरूको वास्तविक कोल्याक्ट्रल रकमभन्दा धेरै गुणा बढीको खरिदबिक्री आदेश प्रविष्ट गर्न दिने र बजारमा माग उच्च देखाउनका लागि अस्थायी खरिद आदेश प्रविष्ट गरे पछि रद्द गर्ने जस्ता गतिविधि गरेको पाइएको भन्दै नेप्से यस्तो निर्देशन दिएको हो ।
नेप्सेले अबदेखि ब्रोकरहरूले लगानीकर्ताबाट खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अनिवार्य रूपमा अग्रिम लिनुपर्ने प्रावधान कार्यान्वयन गर्न भनेको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीको विनियम ८ (१) मा भएको यो व्यवस्थालाई कडाइका साथ लागू गर्न भन्दै नेप्सेले लगानीकर्ताको कोल्याक्ट्रल सीमाभन्दा बढी रकमको खरिद वा बिक्री आदेश प्रविष्ट गराउने कार्य नगर्न निर्देशन दिएको छ ।
विशेषगरी बजारमा नकारात्मक प्रभाव पार्ने उद्देश्यले अस्वाभाविक माग देखाउने र पछि आदेश रद्द गर्ने प्रवृत्तिले बजारको स्वच्छतामा असर पुगेको नेप्सेको दाबी छ ।






प्रतिक्रिया