
काठमाडौं । सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्समा गरेको धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को खोजी गर्दा उनीहरुले गरेको गैरकानूनी धन्दाको रोचक तथ्य बाहिर आएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन लाइफका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र निजको छोरा कृषिव अग्रवालले सो कम्पनीमा कारोबार गरेको हुन सक्ने सम्बन्धमा अनुसन्धान गरेको थियो।
सो क्रममा सुलभले ‘लकइन’ अवधिमा रहेको आफ्नो नामको ८ लाख कित्ताभन्दा बढी सेयर गैरकानूनी रूपमा बेच्न आफ्नै परिवारभित्र अंशबण्डाको नाटक गरेको तथ्य बाहिर आएको हो । सामान्य रुपमा हेर्दा शुलभका छोरा कृषिव अग्रवालले आफूले अंशबापत पाएको भनिएको हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता सेयर भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत बिक्री गरेका थिए ।
सो सेयर बिक्री गरेवापत कृषिवको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा २०८२ असोज ७ गते ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ जम्मा भएको थियो । तर, यो रकम कृषिवको मात्र नभई बुबा शुलभले कानून छल्न गरेको प्रपञ्चको हिस्सा थियो ।
यो कारोबारका लागि सुलभललाई विपक्षी बनाई काठमाडौं जिल्ला अदालतमा निजका श्रीमतीले आफ्नो र आफ्नो संरक्षकत्वमा रहेका छोराहरू कृषिव अग्रवाल र अद्वित्य अग्रवाल समेतको हकमा आफू र बच्चाहरूलाई हेरचाह नगरेका लगायतका कारण देखाई अंशचलनको मुद्दा गरेका थिए ।
सोही मुद्दाको मिलापत्र गर्दा विवाद उत्थान गर्ने श्रीमती शुभी अग्रवाल, छोरा अद्वित्य अग्रवाल र विपक्षी सुलभ अग्रवालबीच सम्पत्तिहरू सगोलमा रहने र छोरा कृषिव अग्रवाललाई मात्र अंशबापत सुलभ अग्रवालको नाममा रहेको एचएलआई को ८ लाख ३ हजार ३१ कित्ता सेयर र नगद १ करोड रुपैयाँ दिने र सोबाहेक अन्य सम्पत्तिमा दाबी गर्न नपाउने गरी अंश मिलापत्र गरिएको थियो ।
यसरी सेयर बिक्रीबाट प्राप्त सोही ३२ करोड ८३ लाख रुपैयाँमध्येबाट कृषिवले ३ दिनपछि अर्थात् (असोज १० गते) नै २३ करोड रुपैयाँ सीधै बुबा शुलभको खातामा पठाएका थिए । यो रकम कुल सेयर बिक्री मूल्यको करिब ७० प्रतिशत हुन आउँछ ।
शुलभ हिमालयन लाइफको अध्यक्ष पदमा रहँदा आफ्नो नाममा रहेको सेयर बिक्री गर्न मिल्दैन ।
अर्थात्, भर्खरै बालिग भएको छोरालाई अंशवापत उक्त कम्पनीको मात्र सेयर अशं हक दिनु र सो सेयर निज छोरा कृषिव अग्रवालको खातामा प्राप्त भएको छोटो समयमा नै सम्पूर्ण सेयर बिक्री गरी प्राप्त रकम निज शुलभ अग्रवाल आफैंले प्राप्त गर्ने कार्यबाट धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) लाई छल्ने मनसायका साथ ऐन, नियमलाई झुक्याउने नियतले नै अशंबण्डा गरेको देखिन्छ ।
‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३’ ले कृषिवको नाममा ८ लाख ३ हजार ३१ कित्ता सेयर ‘नक्कली अंशबण्डा’ मार्फत सारेर बजारमा बिक्री गराएको र सो रकमको ठूलो हिस्सा (७० प्रतिशत) पुनः आफैंले लिएको देखाएको छ ।
‘कृषिव अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ०३१ कित्ता सेयर बिक्री गरेवापतको रकम ३२ करोड ८३ लाख ८० हजार रुपैयाँ २०८२ असोज १० मा आरटीजीएस मार्फत निजको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाता नम्बर ००१०५०३०२७४४५ मा प्राप्त गरेको देखिन्छ,’ धितोपत्र बोर्डको प्रतिवेदनमा भनिएको छ, ‘उक्त सेयर बिक्रीबाट प्राप्त रकम मध्ये २३ करोड रुपैयाँ (जुन निजले प्राप्त गरेको रकमको करिब ७० प्रतिशत हुन आउने) २०८२ असोज १० मा निजको बाबु शुलभ अग्रवाललाई नै भुक्तानी गरेको दखिन्छ ।’
बाबु छोराको साथमा अनुसन्धानले पैसाको थप अर्को ‘रुट’ समेत फेला पारेको छ । कृषिवले सेयर बिक्रीकै पैसाबाट हजुरआमा ललिता अग्रवालको नाममा २ करोड रुपैयाँ र जगदम्बा स्टिल लिमिटेडको नाममा ७ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको पनि देखिएको छ । छोराको नाममा सेयर सारेर बिक्री गराए पनि अन्तिम लाभग्राही शुलभ अग्रवाल आफैं रहेको धितोपत्र बोर्डको निष्कर्ष छ ।
‘२०८२ साउन ०९ मा निजको हजुरआमा ललिता अग्रवालको नाममा रकम २ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘२०८२ असोज १२ र २०८२ असोज ३० मा क्रमशः ७ र ८४ लाख रुपैयाँ जगदम्बा स्टिल्सलाई भुक्तानी गरेको देखिन्छ ।’
यसरी कम्पनीको बहालवाला अध्यक्ष शुलभ अग्रवालले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) को कानूनी व्यवस्थाको कारण पदमा रही बिक्री गर्न नमिल्ने सेयरलाई अशंबण्डाको प्रपञ्च गरी छोरा कृषिव अग्रवाललाई हकहस्तान्तरण गरी सेयर बिक्री गर्न लगाई प्राप्त रकम पुनः आफैंले लिन कानूनी व्यवस्थालाई झुक्याई सेयर बिक्री गरेको कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको जालसाजीयुक्त कारोबार भएको बोर्डको निष्कर्ष छ ।
सेयर कारोबारमा अपनाइएको प्रक्रिया
धितोपत्र बोर्डको प्रतिवेदनअनुसार क्रममा सन् २०२३ जुन १८ मा मर्जरको कारण हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता साधारण सेयर सुलभको खातामा जम्मा भएको थियो । उक्त सेयर २०२३ जुलाई १३ मा भृकुटी स्टक ब्रोकिङमा रहेको हितग्राही खातामा (बीओ टु बीओ) ट्रान्सफर गरेका थिए ।
यसपछि सन् २०२५ मे १६ मा १ लाख १२ हजार ४२४ कित्ता बोनस सेयर जम्मा भयो र २०२५ जुन ०३ मा ८ लाख ३ हजार ३१ कित्ता सेयर निजको छोरा कृषिवको हितग्राही खातामा हस्तान्तरण भएको र हाल निजको हितग्राही खातामा हिमालयन लाइफ इन्स्योरेन्स १ लाख १२ हजार ४२४ कित्ता साधारण सेयर मौज्दात रह्यो ।
यसैगरी, सन् २०२३ जुन १८ मा मर्जरको कारण हिमालयन लाइफको २१ लाख ५५ हजार ५०४ कित्ता संस्थापका सेयर निजको हितग्राही खातामा जम्मा भयो र सो सेयर २०२३ जुलाई १३ मा भृकुटी स्टक ब्रोकिङमा रहेको सुलभको खातामा ट्रान्सफर भयो ।
सन् २०२५ मे १६ मा ३ लाख १ हजार ७७० कित्ता बोनस सेयर जम्मा भएको र शुलभको हितग्राही खातामा हिमालयन लाइफको २४ लाख ५७ हजार २७४ कित्ता संस्थापक सेयर मौज्दात रहन पुग्यो ।
अर्कोतर्फ, सन् २०२५ जुन ३ मा कृषिव अग्रवालले घरायसी नामसारी मार्फत हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ३१ कित्ता सेयर निजको बाबु सुलभ अग्रवालबाट पठाइयो ।
कृषिव अग्रवालले भृकुटी स्टक ब्रोकिङ्ग मार्फत बिक्री गरेको हिमालयन लाइफको कुल ८ लाख ३ हजार ३१ कित्ता सेयरहरु सन् २०२५ जुलाई २५ देखि २०२५ अगस्ट ८ सम्म हितग्राही खाताबाट डेबिट भयो ।
यसरी भयो घरायसी नामसारी
२०८२ जेठ १४ मा शुलभ अग्रवालल हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता सेयर काठमाडौं जिल्ला अदातलको रोहबरमा भएको मिलापत्र बमोजिम कृषिव अग्रवालको नाममा हकहस्तानन्तरण गर्न निवेदन पेस भयो ।
२०८२ जेठ १६ मा धितोपत्र दिन शुलभ र धितोपत्र लिने कृषिवले हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता सेयरको घरायसी हस्तान्तरणको लागि दुवै लिने दिने पक्षको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा उक्त पक्षहरुबीचको काठमाडौं जिल्ला अदालतमा भएको अंशचलन मुद्दाको मिलापत्र र सो सम्बन्धी अदालतबाट जारी भएको पत्रहरुको प्रतिलिपि लगायत विवरणहरु संलग्न गरी दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङमा निवेदनको ढाँचामा विवरण भरी दस्तखत गरी पेस गर्ने काम भयो ।
यसपछि, यो घरायसी नामसारीको प्रक्रिया अगाडि बढाइदिन भृकुटी स्टक ब्रोकिङले २०८२ जेठ २० मा सिडिएस एण्ड क्लियरिङलाई विवरण सहित पत्राचार भयो ।
२०८२ जेठ २० मा सिडिएसबाट हिमालयन लाइफको २०८२ जेठ १९ गतेको पत्र मार्फत् काठमाडौं जिल्ला अदालतको अंशचलन मुद्दाको फैसला अनुसार शुलभ अग्रवालको नाममा रहेको सर्वसाधारण समूह तर्फको ८ लाख ३ हजार ३१ कित्ता कित्ता सेयरको घरायसी नामसारी गर्ने प्रयोजनका लागि फैसला भयो ।
यसपछि, सोही फैसलाका आधारमा हिमालयन लाइफको २०८२ जेठ १९ गतेको पत्रको अनुरोध बमोजिम आईजिन रोक्का फुकुवा गर्ने निर्णय गरी उक्त सेयर फुकुवा भयो ।
सो लगत्तै २०८२ जेठ २० मा कृषिव अग्रवालको हितग्राहीमा हिमालयन लाइफको कुल ८ लाख ३ हजार ३१ कित्ता सेयर जम्मा भयो ।
अझ रोचक विषय के छ भने कृषिव अग्रवालको परिचय विवरणमा शुलभ अग्रवाल कै इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख भएको थियो । यसमा कृषिव अग्रवालले उक्त धितोपत्र व्यवसायी मार्फत हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ३१ कित्ता सेयर २०८२ साउन ८ देखि मिति साउन २२ सम्ममा बिक्री गरिएको थियो ।
यसरी, शुलभ अग्रवालले सेयर बिक्री वापतको ३२ करोड ८३ लाख ८० हजार रुपैयाँ आरटीजीएसमार्फत् कृषिव अग्रवालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा पठाउने काम गरियो ।
कृषिव अग्रवालको बैंक खातामा २०८२ असोज ७ गते भृकुटी स्टक ब्रोकिङबाट हिमालयन लाइफको सेयर बिक्री गरेबापतको कुल ३२ करोड ८३ लाख ८० हजार रुपयाँ जम्मा भयो । उक्तसेयर बिक्री गरेवापत् प्राप्त रकममध्ये २०८२ असोज १० मा शुलभ अग्रवाललाई २३ करोड रुपैयाँ भुक्तानी गरियो ।
यसैगरी, सोही सेयर बिक्री गरी प्राप्त भएको रकममध्येबाट २०८२ असोज ९ मा ललिता अग्रवालको नाममा २ करोड रुपैयाँ भुक्तानी गरियो ।
बाँकी रकममध्येबाट २०८२ असोज १२ गते मा ७ करोड रुपैयाँ र असोज ३० गते ८४ लाख रुपैयाँ गरी कुल ७ करोड ८४ लाख रुपैयाँ जगदम्बा स्टील्स लिमिटेडको नाममा भुक्तानी गर्ने काम गरिएको थियो ।
यता दीपकको नाममा सेयर किन्ने र कृषिवको सेयर बेच्ने कम्युटर एउटै रहेको पाइएको छ ।







प्रतिक्रिया