१२ सयमा बिक्छ एक किलो गड्यौला, मल उत्पादनले फेरियो किसानको दैनिकी

91
Shares

दाङ । सुलोचना शेर्पाको दैनिकी फेरिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो ।

उनी पहिले ११ कट्ठा जग्गामा कागती तथा तरकारी खेती गर्ने गर्थिन् । आजकाल भने उनी गड्यौला मल उत्पादनमा व्यस्त छिन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी ३४ वर्षीया सुलोचनाले झन्डै १८ महिनाअघि लिएको तालिम र कृषि भ्रमणले उनलाई रासायनिक मलको विकल्पमा गड्यौला मल बनाउन प्रेरित गर्‍यो । उनी भन्छिन्, ‘यो मल उत्पादन हुन थालेपछि मैले अर्गानिक तरकारी उत्पादन गरिरहेकी छु ।’

सुलोचना मात्र होइन, तुलसीपुर उपमहानगरपालिका क्षेत्रका धेरै किसानले अहिले गड्यौला मल उत्पादन गरिरहेका छन् । अर्गानिक खेतीको नेतृत्व गरिरहेका तुलसीपुर–१६ रत्गैँका विनोद चौधरी पनि गड्यौला मल बनाउनमै व्यस्त छन् । उनले बजारमा गड्यौलाको मूल्य र यसबाट बन्ने मलको राम्रो सम्भावना रहेको बताए ।

हाल गड्यौला प्रतिकिलो रु १,२०० मा बिक्री हुने गरेको छ । यसबाट तयार पारिएको मल प्रतिकिलो रु ३० मा किनबेच हुन्छ । विनोदले पाँच कट्ठामा अर्गानिक खेती गरिरहेका छन् । उनले गड्यौला, झोल तथा गोबर मलको प्रयोगलाई बढावा दिएका छन् । ‘म आफैँ पनि गड्यौला मल उत्पादन गर्छु,’ उनले भने, ‘त्यसैबाट पाँच कट्ठामा तरकारी खेती गरेको छु ।’

विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका तुलसीपुर–११ मोतिपुरका दीपक चौधरीले लामो समय रासायनिक मल प्रयोग गरे । अहिले उनले पूर्ण प्राङ्गारिक मल प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । उनी तरकारी खेतीबाटै वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्छन् । उनले स्थानीय स्रोतसाधन चिन्न र व्यवस्थापन गर्न सके आर्थिक लाभ लिन र स्वरोजगार बन्न सकिने बताए ।

त्यस्तै, सोही ठाउँका अर्का किसान जुगराम चौधरीले पनि १५ केजी गड्यौला प्रयोग गरेर मल उत्पादन सुरु गरेका छन् । वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्ने उनी गड्यौला मलको प्रयोगले कृषि कर्म झनै बलियो बनेको बताउँछन् ।

रत्गैँकी सुनिता चौधरीले आठ कट्ठामा गरिरहेको अर्गानिक खेतीमा गोठे मलसँगै गड्यौला मल प्रयोग गर्ने गरेको बताइन् । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने उनी अन्य किसानलाई पनि गड्यौला र कम्पोष्ट मल बनाउन प्रेरणा दिँदै आएकी छिन् ।

त्यस्तै, तुलसीपुर–१६ की शोभा बस्नेतले आफ्नै प्रयोगका लागि पाँच किलो गड्यौलाबाट मल तयार पारिरहेकी छिन् । गड्यौला मलको प्रयोगबाट उत्पादित तरकारी स्वस्थ र विषादीरहित हुने भएकाले उनले घरकै लागि उक्त मल तयार पारेकी हुन् ।

विषादी प्रयोग गरिएको तरकारी हेर्दा चिल्लो देखिने तर अर्गानिक तरकारी त्यति चिल्लो नहुँदा ग्राहकहरू झुक्किने गरेको विनोद चौधरीले बताए । यद्यपि, माटो जोगाउन र गुणस्तरीय उत्पादनका लागि किसानमा उत्साह घटेको छैन । ‘विषादी प्रयोग गरेको तरकारी चिल्लो देखिन्छ, प्राङ्गारिक मल प्रयोग गरेको तरकारी अलि फुस्रो देखिन्छ,’ उनले भने, ‘यसले गर्दा ग्राहकले किन्न हिचकिचाउने गरे पनि विस्तारै बुझ्न थालेका छन् ।’

गड्यौला मलले माटोको स्वास्थ्य सुधार्ने, वातावरण जोगाउने र किसानको आर्थिक स्तर उकास्ने बलियो आधार बन्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।