सीआईबीको हिरासतमै अनसन बसे दीपेन्द्र अग्रवाल


काठमाडौं । दीपेन्द्र अग्रवाल सीआईबीको महाराजगञ्जस्थित हिरासतमा अनसन बसेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगञ्ज हिरासतमा रहेका उनी खाना नखाइ बसेका छन् ।

अनुसन्धान प्रक्रिया चाँडो सक्न माग गर्दै उनी अनसन बसेको बताइएको छ ।

सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले अग्रवालले खाना नखाइ बसेको क्लिकमान्डुलाई जानकारी दिए ।

‘पानी मात्र खाएर बसेका छन् । हामीले अनसन भनेर भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता श्रेष्ठले भने ।

अग्रवाललाई सोमबार बिहान अस्पतालसमेत लगिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेकाले पुनः हिरासतमा फर्काइएको श्रेष्ठले जानकरी दिए । उनका अनुसार अवस्था खराब बनेमा पुनः अस्पताल लगिने छ ।

झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र अग्रवाल पुस ४ गते शुक्रबार पक्राउ परेका हुन् ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेका थिए ।

उनले उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको सीआइबीको अनुसन्धानमा भेटिएको छ ।

अग्रवालले अन्य अन्य टीएमएएस युजर प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले छ । उनले धितोपत्र ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको फेला परेको छ ।