
काठमाडौं । देशभर निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका १० वटा जलविद्युत् आयोजनामा स्थानीयवासीले निःशुल्क सेयरको माग गर्दै अवरोध सिर्जना गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै इप्पानले बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट), बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अपर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेसम खोला हाइड्रोपावर (४१ मेगावाट) र सिता हाइड्रोपावर (४६ मेगावाट) मा स्थानीयले अवरोध गरेको जनाएको छ ।
स्थानीयहरूले १० प्रतिशत निःशुल्क सेयरका साथै पूर्वाधार विकासका लागि सडक, विद्यालय र स्वास्थ्य सेवा जस्ता परियोजना क्षेत्रका सुविधा निर्माण गर्न माग गरेको इप्पानले जनाएको छ ।
धितोपत्र बोर्डले समयमै आईपीओ स्वीकृति नदिँदा समस्या झेलिरहेका ऊर्जा उत्पादक कम्पनीहरूलाई अहिले उल्टै स्थानीयले धम्क्याउने अवस्था आएको इप्पानको भनाइ छ ।
धितोपत्र बोर्डले समयमै आईपीओ जारी नगर्दा आफूहरुले गम्भीर समस्या भोगिरहेका ऊर्जा उत्पादकहरूको भनाइ छ ।
समयमै आईपीओ नदिएको भनेर आयोजना निर्माणमा अवरोध गर्ने अवस्था सिर्जना भएको भन्दै इप्पाने समयमै आईपीओ जारी नगर्दाको कारण पनि गैरकानूनी रुपमा निःशुल्क सेयर माग्नेहरुको मनोबल बढेको ठहर गरेको छ ।
निजी क्षेत्र धितोपत्र सूचिकरण तथा वितरण नियमावली २०६५ अनुसार १० प्रतिशत सेयर प्रभावित स्थानीयबासीलाई दिन तयार रहेको र विगतमा दिँदै आएको पनि भए पनि विद्यमान नियम र कानून विपरित निःशुल्क दिन सम्भवन नभएको जनाएको छ ।
इप्पानले निःशुल्क सेयरको नाममा आयोजना अवरुद्ध नगर्न आग्रह गर्दै, यस्तो कार्यमा संलग्न हुनेलाई निरुत्साहित गर्न सरकारलाई शान्ति–सुरक्षा बलियो बनाउने वातावरण सिर्जना गर्न अनुरोध गरेको छ ।
ऊर्जा आयोजनाको सुरक्षार्थ नीति निर्माण गर्न तथा विशेष सुरक्षा दस्ता गठन गर्न नेपाल सरकारसँग माग गरिएको इप्पानले जनाएको छ ।







प्रतिक्रिया