हाइड्रोपावरमा धम्की दिने काम भइरहेको छ, पैसा तिरेर पनि सेयर दिनसक्ने अवस्था छैन: कार्की

224
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले समयमा आईपीओ निष्कासन अनुमति नपाउँदा उर्जा उत्पादकहरु ठूलो समस्यामा परेको बताएका छन्।

बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष कार्कीले अनुमति नपाएकाले कानूनी लडाइँमा जानुपर्ने अवस्था आएको बताए ।

‘आईपीओ खुलाउनका लागि अर्थ मन्त्रालय, सरकार सबैमा कुरा राख्दा पनि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छैन,’ कार्कीले भने, ‘एउटा पनि कम्पनीको आईपीओ निष्कासन अनुमति नपाउँदा यसविरुद्ध हामो कानूनी लडाइँमा जानुपर्ने अवस्था आइसकेको छ ।’

उनले आजसम्म १० अर्ब रुपैयाँभन्दा बढी ब्याज तिरिसकेकोले यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरे।

‘आजसम्म हामीले १० अर्बभन्दा बढी ब्याज तिरिसकेको छौं । यसको जिम्मा कसले लिन्छ ? अहिले अन्य जलविद्युत कम्पनीमा पनि धम्की दिने काम भइरहेको छ । पैसा तिरेर पनि सेयर दिनसक्ने अवस्थामा हामी छैनौं,’ उनले भने, ‘यस्तो अवस्थामा भोलि तोडफोड भएमा त्यसको जिम्मा सरकारले लिनुपर्छ को पर्दैन ?’

उनले निजी क्षेत्रमाथि गरिएको बेवास्ताले आफूहरू गम्भीर समस्यामा परेको बताए ।