
एजेन्सी । युरोपमा ८० वर्षयताकै ठूलो युद्धका आक्रमणकारीहरूसँग एकता देखाउन चीनका राष्ट्रपति सी जिनपिङ पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्दैछन् । डोनाल्ड ट्रम्प र पश्चिमी नेताहरू भने टाढाबाट हेरेर बस्नेछन् ।
यो हप्ताको ठूलो सैन्य परेडमा पुटिन र किमको बेइजिङ यात्रा चीनको निरंकुश शासनहरूमाथि बढ्दो प्रभावको संकेत हो । उनीहरू पश्चिमी नेतृत्वको विश्वव्यवस्था बदल्न चाहन्छन् । यसैबीच, ट्रम्पको अलगाववादी नीति अमेरिकाका पुराना मित्र राष्ट्रहरूसँगको सम्बन्धमा तनाव ल्याइरहेको छ ।
पश्चिमी विश्लेषकहरूले यसलाई ‘एक्सिस अफ अप्हिभल’ (उथलपुथल गठबन्धन) भनेका छन् । यो गठबन्धनले २०२४ जुनमा भएको रूस–उत्तर कोरिया रक्षा सम्झौतामा थप बल दिन सक्छ । साथै, चीन र उत्तर कोरियाबीच पनि त्यस्तै सम्झौता हुने सम्भावना छ । यसले एसिया–प्रशान्त क्षेत्रको सैन्य सन्तुलन नै बदल्न सक्छ ।
किम मंगलबार बिहान विशेष रेलमार्फत चीन प्रवेश गरेर बेइजिङ पुगे । सी र पुटिन भने ग्रेट हल अफ द पिपलमा मङ्गोलियाका नेतासँग भेट्दै थिए, जहाँ ठूलो ग्यास पाइपलाइन र अन्य विषयमा छलफल हुने अपेक्षा थियो ।
पुटिनले ‘प्रिय साथी’ भनेर सीलाई धन्यवाद दिँदै चीनसँगको सम्बन्ध अहिले अभूतपूर्व स्तरमा पुगेको बताए ।
सीले सोमबार २० भन्दा बढी गैर–पश्चिमी देशका नेतासँगको सम्मेलनमा प्रभुत्ववाद र शक्ति–राजनीतिको विरोध गर्नुपर्ने बताए । यो सन्देश उनले अमेरिकामाथि लक्षित गरेका जस्तो देखिन्छ ।
सोमबार नै सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर सम्बन्ध सुधार्ने संकेत दिए । तर, ट्रम्पले भने भारतमाथि रुसी तेल किनेकै कारण व्यापारिक दबाब बढाएका थिए ।
ट्रम्पका ट्रेजरी सचिवले सम्मेलनलाई ‘प्रदर्शन मात्रै’ भन्दै चीन र भारतलाई ‘खराब खेलाडी’ भने । उनका अनुसार, उनीहरूले रूसको साढे तीन वर्ष लामो युक्रेन युद्धलाई अझै बल पुर्याइरहेका छन् ।
ट्रम्प आफूलाई शान्ति स्थापित गर्ने नेता भनेर देखाउन खोजिरहेका बेला पूर्वतिर रूससँग नयाँ सैन्य शक्ति बढ्दा पश्चिमी देशहरू चिन्तित हुनेछन् ।
अमेरिकी अनुसन्धान संस्थानका एक विश्लेषकले रूस, चीन र उत्तर कोरियाबीच सैन्य अभ्यास अब लगभग निश्चितजस्तै भएको बताए । उनका अनुसार, युक्रेन युद्धले मास्को र प्योङयाङलाई धेरै नजिक ल्याएको छ ।
केही वर्षअघि चीन र रूस नै उत्तर कोरियामाथि परमाणु र क्षेप्यास्त्र परीक्षणका लागि प्रतिबन्ध लगाउने प्रमुख साझेदार थिए । तर अहिले उनीहरू उत्तर कोरियाका सम्भावित सैन्य मित्र बन्दैछन् ।
युक्रेन युद्धमा किम पनि ठूलो पक्षधर छन् । उनले पुटिनलाई सहयोग गर्न १५,००० भन्दा बढी सैनिक पठाइसकेका छन् ।
२०२४ मा उनले प्योङयाङमा पुटिनलाई स्वागत गरेका थिए । यो २४ वर्षयताकै पहिलो भेट थियो । यसलाई सीप्रति बेवास्ता र चीनमाथिको निर्भरता घटाउने कदमका रूपमा व्याख्या गरिएको छ ।
दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार करिब ६०० उत्तर कोरियाली सैनिक रूसको कुर्स्क क्षेत्रमा मारिएका छन् । उनीहरूले उत्तर कोरियाले थप फौज पठाउने तयारी गरिरहेको बताएका छन् ।
पुटिनले शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा ‘सुरक्षामा सन्तुलन पुनःस्थापना गर्नुपर्छ’ भने । यो नाटो र युरोपेली सुरक्षाको पूर्वतर्फ विस्तारप्रति आलोचना थियो ।
उनको बेइजिङ भ्रमण र सी तथा किमसँगको भेटवार्ताले पुटिनका आगामी योजनाबारे संकेत दिने अपेक्षा गरिएको छ ।
रोयटर्सबाट








प्रतिक्रिया