प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

343
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते राति अनिवार्य अवकाशमा जान लागेका छन् । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्ने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै सरकारले नयाँ आईजीपीको टुंगो लगाइएको हो ।

एआईजी खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका छन् । यसअघि उनी डीआईजीका रूपमा पनि सीआईबीमै कार्यरत थिए भने एआईजी भएपछि पनि त्यहीँ जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कोशी प्रदेश प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका थिए ।

तेह्रथुममा जन्मेका खापुङ २०५१ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा प्रतिस्पर्धा गर्दै सेवामा प्रवेश गरेका हुन् । उनले भदौ १९ गतेदेखि आईजीपीका रूपमा औपचारिक कार्यभार सम्हाल्नेछन् ।

उनी ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् । तर नयाँ प्रहरी ऐन जारी भए अहिलेको प्रावधकान अनुसार ६ महिना सेवाअवधि थप हुनेछ ।