इम्बोस्ड नम्बर प्लेट तत्काल फिर्ता लिन अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको माग

483
Shares

काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले सरकारले अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ ।

संघका अध्यक्ष श्याममणि आचार्यले विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय आकस्मिक, अव्यवहारिक र पूर्वतयारीविहीन भएको दाबी गरेको छ।

संघका अध्यक्ष श्याममणि आचार्यले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरकारको हालको अवस्थाले जनसाधारणलाई यो प्रक्रिया असम्भव बनाएको छ। यसले सम्पूर्ण व्यवसायी, उपभोक्ता तथा सवारीसाधन क्षेत्रलाई ठूलो समस्यामा पार्ने देखिन्छ।”

संघले इम्बोस्ड नम्बर प्लेटबारे ८ बुँदे धारणा सार्वजनिक गरेको छः

अनिवार्य गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ।

हालको अवस्थामा जनसाधारणका लागि यो प्रक्रिया असम्भव छ।

यसले सवारीसाधन व्यवसायीलाई अप्ठ्यारोमा पार्दै व्यवसायमा अवरोध बढाउनेछ।

सरकारसँग आवश्यक पूर्वाधार, जनशक्ति र तयारी अभावमा यो प्रक्रिया अव्यवहारिक छ।

सवारीसाधनमा नयाँ प्लेट जडान गर्दा टेम्पो, मोटरसाइकल जस्ता सवारीमा समस्या आउनेछ।

अतिरिक्त शुल्क अस्वीकार्य छ।

उपभोक्ता र व्यवसायीको सहमति विना लादिएको निर्णय कार्यान्वयन गर्नुभएन।

इम्बोस्ड प्लेटमा प्रयोग हुने देवनागरी लिपिको अक्षर अनिवार्य हुनुपर्छ।

संघले सरकारसँग वार्ता र सहकार्यको आग्रह गर्दै भनेको छ, ‘उपभोक्ता र व्यवसायीको हितविपरीत जाने कुनै पनि निर्णय स्वीकार्य हुने छैन।’