
काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंकहरुले धामधम कर्मचारीको खातामा ‘बोनस’ पठाउन लागेका छन् । बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ।
‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ को उपदफा (१) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा बैंकहरुले हरेक वर्ष आर्जन गरेको नाफाको आधारमा कर्मचरीलाई बोनस वितरण गर्दै आएका छन् ।
केही बैंकहरुले कर्मचारीलाई ६/७ महिनाको आधारभूत तलब बराबरसम्म पनि बोनस दिँदै आएका छन् । केही बैंकले बाह्य लेखापरिक्षण सकिएपछि मात्रै कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् भने केही बैंकहरुले आर्थिक वर्षको क्लोजिङमा केही बोनस दिएर बाँकी बोनस बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने समयमा वितरण गर्ने गरेका छन् ।
सरकारको लगानी भएको बैंकमा भने कर्मचारीले पाउने बोनसमा फरक व्यवस्था छ । सरकारी लगानीका बैंकले नाफाको ५ प्रतिशत वा बढीमा ३ महिनाको तलब बराबर हुनेगरी बोनस वितरण गर्नुपर्ने व्यवस्था छ।
‘नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले प्रत्येक आर्थिक बर्षमा गरेको खुद मुनाफाबाट छुट्याउनु पर्ने बोनसको प्रतिशत तोकिए बमोजिम हुने ऐनमा उल्लेख छ,’ बोनस ऐनको दफा ५ को उपदफा (२) मा भनिएको छ । सोही व्यवस्थाको आधारमा सरकारी लगानी भएका बैंकहरुले नाफाको ५ प्रतिशत वा बढी ३ महिनाको तलब बराबर बोनस खाँदै आएका छन् ।
निजी क्षेत्रका बैंकहरुले भने कर्मचारीलाई नाफाको १० प्रतिशत नै बोनस दिँदै आएका छन् । केही बैंकहरुले क्लोजिङ बोनस भन्दै आंशिकरुपमा धमाधम कर्मचारीको खातामा बोनस पठाइरहेका छन् । केही बैंकले भने साधारणसभामा मात्रै एकमुष्ट बोनस दिने भएका छन् ।
निजी क्षेत्रको लगानीको पहिलो तथा देशकै अग्रणी नबिल बैंकले कर्मचारीलाई ‘क्लोजिङ बोनस’ भन्दै ३ महिनाको तलब बराबरको बोनस खातामा पठाएको छ । आफ्नो खातामा ३ महिनाको तलब बराबरकाे बोनस जम्मा भएको नबिल बैंकका एक कर्मचारीले जानकारी दिए ।
बैंकले अहिले ३ महिनाको बोनस पठाएका छ भने बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा बाँकी बोनस दिन्छ । नबिल बैंक नाफाको आधारमा पनि नम्बर १ बैंक रहँदै आएको छ। सामान्यतय बैंकहरुले ‘क्लोजिङ’ मा अग्रिम बोनस भन्दै क्षमताको आधार बोनस पठाउने गरेका छन् । बाँकी साधारणसभाको समयमा पठाउँछन् ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुुसार नबिल बैंकका कर्मचारी संख्या २४८० छन् ।








प्रतिक्रिया