३ वर्षपछि कुमारी बैंकका कर्मचारीले पाए बोनस

3.9k
Shares


काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंकहरुले धामधम कर्मचारीको खातामा ‘बोनस’ पठाएका छन् । सोही क्रममा पछिल्लो २ आर्थिक वर्षदेखि बोनस नपाएको कुमारी बैंकका कर्मचारीले यस वर्ष भने बोनस पाएका छन् । बैंकले असार सकिएसँगै ‘क्लोजिङ’ बोनसको रुपमा कर्मचारीको खातामा १ महिनाको आधारभुत तलब बराबरको बोनस कर्मचारीको खातामा पठाएको एक कर्मचारीले जानकारी दिए।

वासलतको आधारमा देशको देशको शिर्ष ५ भित्र पर्ने कुमारी बैंकले अघिल्लो २ वर्षमा निष्कृय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्था अत्याधिक बढ्दा नाफा आर्जन गर्न सकेको थिएन । आर्थिक वर्ष २०७९/८० मा बैंकले ५१ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै आर्थिक वर्ष २०८०/८१ मा बैंकको नाफा बाह्य लेखापरिक्षणपछि ४६ लाख रुपैयाँ मात्रै थियो ।

यी दुबै वर्ष नाफा न्युन हुँदा कर्मचारीले बोनस पाएका थिएनन् । तर, गत आर्थिक वर्षमा कर्जा असुलीमा केही सुधार देखिएसँगै बैंकले कर्मचारीलाई अग्रिम बोनस स्वरुप १ महिनाको तलब बराबरको रकम बैंक खातामा जम्मा गरिदिएको हो।

बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ। ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ को उपदफा (१) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा बैंकहरुले हरेक वर्ष आर्जन गरेको नाफाको आधारमा कर्मचरीलाई बोनस वितरण गर्दै आएका छन् ।

केही बैंकहरुले कर्मचारीलाई ६/७ महिनाको आधारभूत तलब बराबरसम्म पनि बोनस दिँदै आएका छन् । केही बैंकले बाह्य लेखापरिक्षण सकिएपछि मात्रै कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् भने केही बैंकहरुले आर्थिक वर्षको क्लोजिङमा केही बोनस दिएर बाँकी बोनस बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने समयमा वितरण गर्ने गरेका छन् ।

केही बैंकहरुले क्लोजिङ बोनस भन्दै आंशिकरुपमा कर्मचारीको खातामा बोनस पठाइसकेका छन् । केही बैंकले भने साधारणसभामा मात्रै एकमुष्ट बोनस दिने भएका छन् ।

सामान्यतय बैंकहरुले ‘क्लोजिङ’ मा अग्रिम बोनस भन्दै क्षमताको आधा बोनस पठाउने गरेका छन् । बाँकी साधारणसभाको समयमा पठाउँछन् । कुमारी बैंकमा ३३ सयको हाराहारीमा कर्मचारीहरु कार्यतर छन् ।