रसुवा बाढी अपडेट: प्रहरीसहित १८ जना बेपत्ता, दुईवटा शव भेटियो, जलाउँदै गरेको चिता पनि बगायो

441
Shares

काठमाडौं । रसुवाको लेन्डेखोलामा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाउँदा कम्तिमा १८ जना बेपत्ता भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक छन् ।

बाढीका कारण रसुवागढी भन्सार कार्यालय वरपर रहेका कन्टेनर र मालवाहक सवारी साधनसमेत बगाएका छन्। ‘बाढीले पुल मात्र होइन, त्यहाँ पुग्ने सडकहरू पनि बगाएका छन् । धेरै मानिस अलपत्रमा परेका छन्,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

त्यस्तै रसुवागढी जलविद्युत् आयोजनामा फसेका २० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने आयोजनाको ड्याममा आंशिक क्षति पुगेको छ।

बाढीपछि उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीले एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरीसहित थप सात जनालाई उद्धार गरेको बताइएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार लेन्डेखोलामा पानीको सतह बिस्तारै घट्दै गएको छ।

पानीको सतह घट्दै गए पनि उद्धारकार्य चुनौतीपूर्ण बनेको छ । टिमुरे क्षेत्रबाट निजी हवाई सेवामार्फत बाढी प्रभावितहरूको उद्धार कार्य भइरहेको अधिकारीले बताए ।

रसुवागढी प्रहरी चौकीका अनुसार बाढी मङ्गलबार बिहान ३ बजे चीनतर्फ परेको वर्षाका कारण आएको हो ।

बाढीले त्यहाँ रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन र ७–८ वटा गाडी बगाएको छ । साथै, रसुवा भन्सार कार्यालय र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण ४ जलविद्युत् आयोजनामा क्षति पुगेको र २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।

बाढीको असर नुवाकोट जिल्लामा पनि परेको छ । विदुर नगरपालिका–१ मा त्रिशूली नदीको बीच भागमा फसेका एक महिला र एक पुरुषलाई नेपाली सेनाको हेलिकप्टरबाट सफलतापूर्वक उद्धार गरिएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार त्रिशूली नदीमा पानीको सतह बढेपछि ती दुईजना रूख चढेर बसेका थिए। तीन घण्टा पछि उनीहरूलाई उद्धार गरिएको हो।

हालसम्म स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका टोली उद्धारमा खटिएका छन्। तर नदीमा पानीको सतह झन् बढ्दै गइरहेकाले अवस्था अझै जटिल बन्दै गएको अधिकारीहरूले बताएका छन् ।

दुई जनाको शव भेटियो

त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।

गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।