
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरेकी छन् ।
महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेश गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । आर्थिक वर्ष २०८४/०८५ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर डंगोलले भनिन्, ‘आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।’
बजेटको स्रोत व्यवस्थापनतर्फ महानगरको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ अनुदान प्राप्त हुने र जनसहभागिताबाट १ करोड रुपैयाँ जुट्ने महानगरको प्रक्षेपण छ।
कुन क्षेत्रमा कति बजेट ?
क्षेत्रगत रूपमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत (४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ), सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत (२ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत (२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ) र आर्थिक विकास क्षेत्रमा २.१ प्रतिशत (५४ करोड १८ लाख २० हजार रुपैयाँ) प्रस्ताव गरिएको छ ।
प्रदूषण नियन्त्रण र सम्पदा संरक्षण
महानगरले आगामी आर्थिक वर्षमा प्रदूषण कम गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । बजेटमा फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि र ‘एक वडा एक उद्यम’ कार्यक्रममार्फत रोजगारी वृद्धि गर्ने उल्लेख छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका मठ–मन्दिर, पोखरी, हिटी र बहाः–बही जस्ता मूर्त–अमूर्त संस्कृतिको संरक्षणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।
घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र
युवा लक्षित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा नवयुवा सहकार्य र स्मारक निर्माणका कार्यक्रमहरू पनि समेटिएका छन् । विशेषगरी अपाङ्गता भएका, अशक्त र हिँडडुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरिएको छ ।
महानगरको आफ्नै अस्पताल र सामाजिक सुरक्षा
महानगरपालिकाले आफ्नै अस्पताल निर्माणको बहुवर्षीय योजना अघि सारेको छ, जसका लागि पहिलो वर्ष ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, महानगर पोषण भत्ताका लागि १६ करोड, ज्येष्ठ नागरिक निमोनिया खोपका लागि १ करोड र एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।
टोल–टोलमा योगाभ्यास, क्यान्सर जस्ता असाध्य रोगको निदानका लागि विशेष कार्यक्रम र करदातालाई स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क उपचार सेवा दिने योजना बजेटमा छ । सामूहिक आवास निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ भने बहाल कर दर्ता प्रक्रियालाई सरल बनाउने र मालपोत तथा नापीसम्बन्धी सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ ।






प्रतिक्रिया