पाकिस्तानी दूतावासद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान


काठमाडौं । नेपालका लागि पाकिस्तानको राजदूतावासले २०० भन्दा बढी नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बुधबार आयोजित ‘१४औँ वार्षिक अम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति समारोह’ मा नेपालभरिका उच्च माध्यमिक विद्यालयका उत्कृष्ट तथा विपन्न विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरिएको हो ।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरे । सोही अवसरमा पाकिस्तानका संस्थापक कायद–ए–आजम मोहम्मद अली जिन्नाको १५०औँ जन्मजयन्तीको अवसर पारेर त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (पोखरा क्याम्पस) की छात्रा प्राप्ति लम्साललाई एक थान ल्यापटप समेत प्रदान गरियो।

समारोहमा बोल्दै राजदूत हाश्मीले नेपालको शिक्षा क्षेत्रप्रति पाकिस्तान प्रतिबद्ध रहेको बताउँदै विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, स्वास्थ्य र नवप्रवर्तन जस्ता क्षेत्रमा सीप विकास गर्न आग्रह गरे।

सन् २०१३ देखि सुरु भएको यो छात्रवृत्ति कार्यक्रमले हालसम्म सयौं नेपाली विद्यार्थीहरूलाई शैक्षिक यात्रामा सहयोग पुर्‍याइसकेको पाकिस्तानी दूतावासले जनाएको छ ।