
काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले ४८ वर्ष लामो राजनीतिक यात्रापछि स्वास्थ्य अवस्थाका कारण जिम्मेवारीबाट बिदा लिएको जानकारी दिएका हुन् ।
महराले आफू ‘एट्रोफी’ (नसा र मांसपेशीसम्बन्धी समस्या) बाट पीडित रहेको र लामो समयको उपचार तथा थेरापीपछि पनि स्वास्थ्यमा सुधार नभएकाले यो निर्णय लिनुपरेको बताएका छन् ।
उनले यो निर्णय कुनै राजनीतिक असन्तुष्टि वा वैचारिक मतभेदका कारण नभई विशुद्ध स्वास्थ्यगत बाध्यता भएको स्पष्ट पारेका छन् ।
सक्रिय भूमिकाबाट हटे पनि आफू पार्टीको साधारण सदस्यका रूपमा रहने उनले बताए ।
४८ वर्षअघि नेकपा (चौथो महाधिवेशन) बाट राजनीति सुरु गरेका महराले माओवादी आन्दोलनका विभिन्न चरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनले आगामी दिनमा नयाँ पुस्ताले देशलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्दै सहयोगी र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन् ।







प्रतिक्रिया