मोबाइल सेटको अभावमा रोकिएको फाइभजी परीक्षण गर्दै टेलिकम

महानरबाट परीक्षणको तयारी


काठमाडौं । विगतमा फाइभजी चल्ने मोबाइल सेटको अभावमा परीक्षण गर्न नसकेको नेपाल टेलिकमले अब भने काठमाडौंसहितका महानगरबाट परीक्षणको तयारी गरिरहेको छ ।

टेलिकमले यसअघि काठमाडौं, पोखरा र विराटनगरमा कर्मचारीभित्र सीमित रहेर गरेको फाइभजी परीक्षण सर्वसाधारणसमक्ष जान सकेको थिएन । ३ वर्षअगाडि ५ प्रतिशत पनि नभित्रिएको फाइभजी सपोर्ट गर्ने यस्ता सेट अहिले नेपाली बजारमा २० प्रतिशतभन्दा बढी पुगेका छन् ।

नेपाल टेलिकमले फाइभजी प्रविधिको व्यावसायिक सुरुवातका लागि मोबाइल सेटको अभावका कारण हुन नसकेको परीक्षण आगामी एक वर्षभित्रै महानगरबाट गर्ने तयारी गरिरहेको नेपाल टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलालले बताए ।

उनका अनुसार विगतमा सेटको कमीले रोकिएको ५जी सेवामा अझै फ्रिक्वेन्सी (स्पेक्ट्रम) र उच्च लगानीको चुनौती रहेको भए पनि सर्वसाधारणलाई दिने सेवा र नयाँ प्रविधिलाई आत्मसात् गर्ने गरी काठमाडौं, पोखरा र विराटनगरसहितका महानगरबाट आम सर्वसाधारणलाई प्रयोग गर्न दिने गरी परीक्षण गर्ने तयारीमा टेलिकम रहेको छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुलालले भने, ‘तीन वर्षअघि परीक्षण गर्दा बजारमा ५ प्रतिशतभन्दा कम मात्रै फाइभजी सेट रहेका थिए, जसका कारण सर्वसाधारणलाई सेवा दिन सकिएको थिएन ।’

टेलिकमले २०८० वैशाखमा काठमाडौं, पोखरा र विराटनगरसहितका प्रमुख सहरी क्षेत्रमा फाइभजीको आन्तरिक परीक्षण गरेको थियो । त्यतिबेला सर्वसाधारणलाई सेवा परीक्षण गर्न दिँदा सेटको अभाव थियो भने हाल २० प्रतिशतभन्दा बढी ग्राहकसँग फाइभजी ह्यान्डसेट पुगिसकेकाले अब भने परीक्षणमा समस्या नहुने दुलालको भनाइ छ ।

टेलिकमले तत्कालै देशभर फाइभजी पुर्‍याउनु महँगो पर्ने भएकाले सुरुमा प्रमुख सहरहरूलाई प्राथमिकता दिने रणनीति बनाएको छ । फाइभजी चलाउनु भनेको निकै महँगो प्रविधि लन्च गर्नु पनि हो ।

हाल फोरजीको नेटवर्क बनाउन जति लगानी गर्नुपरेको छ, त्योभन्दा फाइभजीका लागि ३ देखि ५ गुणासम्म बढी खर्च लाग्ने अध्ययनले देखाएको छ । त्यसैले काठमाडौँ र पोखरा जस्ता महानगरहरूबाट मात्रै तत्काल सुरुवात गर्न आन्तरिक तयारी भइरहेको छ ।

हाल नेपालमा ५जी सञ्चालनका लागि फ्रिक्वेन्सी (स्पेक्ट्रम) को समेत उपलब्धता नभएको गुनासो टेलिकमले गरेको छ । दुलालले भने, ‘ग्लोबल इकोसिस्टममा जुन स्पेक्ट्रम बढी चलिरहेको छ, त्यही ल्याउन सकियो भने मात्र सबै मोबाइल सेटमा नेपाल टेलिकमको ५जी चल्ने हुन्छ ।’

उनले भौगोलिक र प्राविधिक चुनौतीहरू कायम रहेको अवस्थामा देशभर एकैपटक फाइभजी पुर्‍याउन असम्भव भएको बताए । दुलालले थपे, ‘टेलिकमले पहिलो चरणमा काठमाडौं र पोखरा जस्ता महानगरहरूमा फाइभजीको फ्लेवर दिने निर्णय गरेको छ ।

सुरुवाती चरणमा यसलाई देशभर फैलाउनु (कार्पेट कभरेज) भन्दा पनि डाटाको उच्च गति उपलब्ध गराउने उद्देश्य टेलिकमको छ । यसका लागि कम्पनीले आन्तरिक रूपमा कुन प्रविधिको प्रयोग गर्ने भन्ने प्राविधिक निर्णयसमेत गरिसकेको छ ।’

फाइभजी सञ्चालनका लागि हाल भइरहेको फ्रिक्वेन्सी (स्पेक्ट्रम) पर्याप्त नहुने भएकाले टेलिकमले नयाँ स्पेक्ट्रम चाहेको छ । यसका लागि सरकारलाई जानकारीसमेत गराइसकेको उनले बताए । उनले सबै प्रकारका फाइभजी सेटमा सेवा चल्ने सुनिश्चित गर्न विश्वव्यापी रूपमा बढी प्रचलनमा रहेको ब्यान्ड प्राप्त गर्ने गरी नियामक निकायसँग प्रक्रिया अघि बढाइएको समेत जानकारी दिए ।

टेलिकमले नेटवर्कको गुणस्तर सुधार्न परम्परागत ‘ड्राइभ टेस्ट’ विधिलाई आधुनिक बनाउँदै एआईको प्रयोग पनि गरिरहेको छ । अब नेटवर्कबाट आउने डेटालाई एआईमार्फत विश्लेषण गरी गुणस्तर कायम गरिनेछ ।

कतिपय दुर्गम स्थानका टावर मर्मत गर्न २-३ दिन हिँडेर जानुपर्ने र विद्युतको समस्याले सेवामा अवरोध पुग्ने भए तापनि प्रविधिको सहायताले समस्या समाधानको प्रयास भइरहेको दुलालको भनाइ छ ।