
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सबैभन्दा बढी आकर्षक गन्तव्य जापान देखिएको छ । निगमले जापानको नारिता विमानस्थलमा जहाज उडाएवापत साढे ४४ करोड रुपैयाँभन्दा बढी रकम मासिक रुपमै कमाएको छ ।
निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार गत फागुन महिनामा मात्रै निगमले ५ हजार ९२४ यात्रु उडाउँदा ४४ करोड ६१ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस्तो आम्दानी काठमाडौंबाट नारिता जाँदा २९ सय ३५ यात्रु उडाएर २४ करोड ४९ लाख र नारिताबाट फर्ककदा २९ सय ८९ यात्रु काठमाडौं ल्याउँदा २० करोड ११ लाख रुपैयाँ आम्दानी गरेको देखिएको छ ।
निगमले जापानमा वाइडबडी जहाज उडाउँछ । निगमसँग २७४ सिट क्षमताको वाइडबडी जहाज २ वटा छ । यी जहाजबाट जापानको नारितामा सातामा तीनवटा मात्रै उडान हुँदै आएको छ । नेपालबाट जापान जाँदा भन्दा फर्कदा भएको आम्दानी भने करिब ४ करोड रुपैयाँभन्दा बढीले कम छ ।
निगमका अनुसार काठमाडौंबाट जापान जाँदा भन्दा फर्कदाको भाडा सस्तो भएकोले बराबरी संख्यामा यात्रुलाई सेवा दिएको भएपनि आम्दानी भने कम देखिएको हो ।
निगमको जापान पछि दोस्रो बढी आम्दानी हुने गन्तव्य कतारको दोहा हो । दोहामा निगमले ८ हजार ८२७ यात्रुलाई सेवा दिँदा २२ करोड ७२ लाख रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा नेपालबाट कतार जाँदा ४५ सय ६ यात्रु हुँदा भएको आम्दानी १३ करोेड ७४ लाख रुपैयाँ छ भने दोहाबाट ४३ सय २१ यात्रु ल्याउँदाको आम्दानी भने ८ करोड ९८ लाख रुपैयाँ छ ।
नेपालबाट सातामा भइरहेको ४ वटा उडानबाट यो गन्तव्यमा जाँदा भन्दा दोहाबाट फर्कदाको भाडादर सस्तो भएकोले पनि दोहा पुग्दा भन्दा उताबाट आउँदाको आम्दानी करिब ५ करोड रुपैयाँले कम देखिएको हो ।
निगमले धेरै आम्दानी गर्ने तेस्रो गन्तव्यमा भारतको नयाँदिल्ली रहेको छ । यो गन्तव्यमा भएको उडान अवतरणबाट निगमले १७ करोड ६९ लाख रुपैयाँ एकै महिनामा आम्दानी गरेको छ ।
निगमले नयाँदिल्लीमा साताको ७ वटा उडान गर्दै आएको छ । यो गन्तव्यमा ७ हजार ४३७ यात्रु लैजादा ८ करोड ७५ लाख आम्दानी गरेको छ । दिल्लीबाट निगमले ७ हजार ६९९ यात्रु लिएर काठमाडौं फर्कदा ८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
निगमले काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने गरेको छ । २ वटा न्यारोबडी र २ वटा वाइडबडी गरेर जम्मा ४ वटा मात्रै जहाज अन्तर्राष्ट्रिय उडानमा रहेको निगमले सातामा ६४ वटा उडान गर्छ । यस्तो उडान ४ वटा जहाजबाट हुने भएकोले दैनिक निगमका जहाजले गर्ने उडान आषतमा २ देखि ३ वटा मात्रै हो ।
निगमले युएईमा ४ हजार ७ सय यात्रुलाई दिएको सेवाबाट १५ करोड ८२ लाख, मलेसियामा ३ हजार ५ सय यात्रुलाई दिएको सेवाबाट १० करोड ५४ लाख, थाइल्याण्डमा २ हजार ६ सय यात्रुलाई दिएको सेवाबाट ७ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ ।
हङकङमा मासिक १६ सय यात्रुलाई दिएको सेवाबाट ६ करोड ४८ लाख, मुम्बाइमा १८ सय यात्रुलाई दिएको सेवाबाट २ करोड ७७ लाख, बंङ्लोरमा १६ सय यात्रुलाई दिएको सेवाबाट २ करोड ८१ लाख र साउदी आरवको दाममा १३ सय यात्रुलाई दिएको सेवाबाट ४ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको पनि निगमले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता सुवास डाँगीका अनुसार भाडादर सधै समान नहुने र यात्रुको रोजाई अनुसार वर्गीकरण भएको हुन्छ । एउटै गन्तव्यमा समान यात्रुसँगको तुलनामा नेपालबाट बाहिरिदाभन्दा भित्रदा कम आम्दानी देखिनुलाई चाहिँ नेपालबाट बाहिरिदा भाडादर नै महंगो भएको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया