ग्राउन्ड जिरोः पाथीभरा केबलकारको स्थलगत रिर्पोटिङ गर्दा जे देखियो, त्यही लेखियो


काठमाडौं (ताप्लेजुङबाट फर्केपछि) । पूर्वी नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरामा केबलकार बनाउनु पर्छ र केबलकार बनाउनु हुँदैन भनेर अहिले चर्को बहस भइरहेको छ । स्थानीयको मागअनुसार राज्यका सबै निकायले केबलकार निर्माणको अनुमति दिएसकेपछि पाथीभरामा केबलकार निर्माणको काम सुरु भयो । तर, यही बेला ‘नो केबरकार समूह’ नै गठन गरेर विरोध पनि भइरहेको छ ।

यही सरगर्मीकाबीच क्लिकमान्डु डटकमको टोली स्थलगत रिपोर्टिङका लागि पाथीभरा पुग्यो । आज हामी त्यही स्थलगत रिपोर्टिङका क्रममा देखेका, भोगेका र सुनेका कुराहरु यहाँहरुमाझ प्रस्तुत गर्न गइरहेका छौं । हामीले जे देख्यौं, यहाँ त्यही लेखेका छौं । त्यसैले केबलकार विवादको चुरो कुरो बुझ्न यो आलेखले तपाईंलाहरुलाई महत्त्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म हवाइजहाजमा गएका हामी झापाबाट ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म स्कार्पियो रिजर्व गरेर गयौं । पाँच सदस्यीय हाम्रो टोली यात्राको पहिलो रात फुङलिङमै बस्यो ।

भोलिपल्ट पाथीभरातर्फ उक्लियौं ।

पाथीभरा मन्दिर परिसर

यात्राका क्रममा सदरमुकाम फुङलिङबाट २० किमि दूरीमा पर्ने काफ्लेपाटी अर्थात् तल्लो फेदीबाट थोरै उकालो लागेपछि झापाको कमल गाउँपालिका ४ का पुण्यप्रसाद कोइराला भेटिए । भाकल पूरा भएपछि पाथीभरा मातालाई भेटी टक्र्याउन छोरीसहित मन्दिर पुगेर फर्कंदै रहेनछन्, उनी ।

कोइराला पाथीभरा पुगेको यो चौथो अवसर थियो, उनकी छोरी स्वस्तिकाको दोस्रो । नाक ठोक्किने उकालो बल्लतल्ल चढेको बताउने उनीहरु फर्कंदा प्रफुल्ल मुद्रामा देखिन्थे ।

कान्छीथानमाथि दोबाटोको उकालोमा भेटिएका पोखराका बाबुराम खड्का र सुष्मिता खनाल आफन्तको विवाह र ब्रतबन्धको संयोग पारेर पाथीभरा दर्शन गर्न पुगेका रहेछन् । स्थानीयलाई २ घण्टा लाग्ने बाटो पार गर्न उनीहरुलाई ६ घण्टा लागेको रहेछ ।

झापा बिर्तामोड घर भई हाल इजरायल बस्दै आएकी गौरी खरेलले माताको शक्तिले आफू जेनतेन मन्दिर पुग्न सफल भएको बताइन् । सामान र २ वटा नानीहरु बोक्न भरिया लगाउनु पर्ने बाध्यता परेको उनले सुनाइन् ।

काफ्लेपाटी

ताप्लेजुङको मध्यमा तर, पहाडको उचाइ हेर्दा सिरानजस्तो देखिने पहाडको शिखरमा बिराजमान पाथीभरा माताको दर्शन गर्न आउनेलाई एउटा भावना मनको अन्तरकुन्तरमा खेल्न थाल्छ, ‘बाटो अलिकति भए पनि सजिलो हुनु नि !’

काफ्लेपाटीबाट उकालो लागेर माथिल्लो फेदीसम्म सजिलै लाग्छ । तर, माथिल्लो फेदीबाट पाइला अगाडि लम्काउँदा अघिल्लो खुड्किलो केही इन्चमाथि नै परेको हुन्छ । भन्नुको अर्थ यो हो कि, जाँदा उकालैउकालो र फर्कंदा ओरालै ओरालो ।

पाथीभरा मन्दिर पुग्नै लाग्दा नाकै ठोक्किने उकालोमा ‘खुईईया…’ गर्दै जिउ बिसाउन मन लाग्छ । स्याँस्याँ भइसकेको श्वासकोगतिलाई सुस्त बनाउन मन लाग्छ । तर, कलिकति पनि अडिन थालियो भने खुट्टा लुला भइसक्छन् । यात्रा झन् लम्बिन्छ ।

त्यसैले वृद्धवृद्धा बालबालिका पाथीभरा पुग्नै सक्दैनन् । आँटेर कोही गइहाले भने पनि कहाँ पुगेर भरिया खोज्नुपर्ने हो ? पत्तै हुँदैन।

भनिन्छ नि, देउता अप्ठेरोमा बस्छन् र भगवानलाई दर्शन गर्न कठिन यात्रा तय गरेरै पुग्नुपर्छ । पाथीभरा माता जहाँ बिराजमान छिन्, त्यो ठाउँ हेर्दा शरिरमा बल भएका र आर्थिकरुपमा सम्पन्नबाहेकलाई विभेद नै भएको हो कि भन्ने भान हुन्छ । यात्राका क्रममा भेटिएका तीर्थालुहरुले हामीसँग त्यस्तै अनुभूति साटे ।

पुगेका तीर्थयात्रीले सुनाउने कष्टकर यात्राको किस्साका कारण पनि जो कोहीले हत्तपत्त आँट गर्न सक्दैनन् ।

तीर्थयात्री

अलिकति पनि नअडिइकन अघि बढेका पाइला जब पाथीभरा मन्दिरको प्रांगणमा टेकिन्छ, छुट्टै ऊर्जा महशुस हुन्छ । माताको दर्शन गरेपछि मिल्ने आनन्द वर्णन गर्नै सकिँदैन ।

त्यतिबेला बल्ल होस् आउँछ, अहो ! बाटो सजिलो हुने हो वा माथिसम्म पुग्न वैकल्पिक सर्वसुलभ यातायातको सुविधा हुने हो भने त कति धेरैले आफूले गरेजस्तो स्वर्गीय आनन्दको महशुस गर्दा हुन् भनेर । हामीलाई पनि त्यस्तै महशुस भयो ।

हिजो यातायातका पूर्वाधार उन्नत भइ नसकेका दिन यस्ता सपना सपनामै सीमित हुन्थे । तर, प्रविधिले युगलाई कहाँबाट कहाँ पुर्‍याइसक्यो । फेरि भगवान त्यति निर्दयी पनि त हुँदैनन् । पाथीभरा माताको आकृति हेर्दा लाग्छ, उनी त आफ्नो काखमा सबै आइदिउन् भन्ने चाहन्छिन् ।

पाथीभरा माताको प्रतिमा

गुरुङ समुदायका एक गोठाला आफ्ना भेडा हराएपछि दिनभर भौंतारिएर खोज्दा पनि फेला पार्न सकेनन् । थकित भएर सुतेका बेला माताले सपनामा आफ्नो अवस्थिति जनाएअनुसार त्यहाँ गाई पूजाआजा गरेपछि सबै भेडा फेला परेको भन्ने कथन २०० वर्ष पनि भएको छैन ।

वि.सं. १८९१ मा एउटा खोंचमा भेटिएकी मातालाई विधिअनुसार पूजाआजा गरेर १९९२ मा शिखरमा स्थापना गरियो । त्यसयता सबै जातजाती, धर्म र समुदायका व्यक्ति ३७९४ मिटर अग्लो पहाडको शिखरमा रहेकी देवीको शीला पुज्न जाने गरेका छन् । हेर्दा पाथीमा अन्न भर्दा बनेको चुलीजस्तो देखिने पहाडलाई भन्न थालियो, पाथीभरा ।

बिर्तामोडकी गौरी खरेल भाकल पूरा भएपछि पाथीभरा मन्दिरमा लाख बत्ती बाल्नैका लागि इजरायलबाट आएकी हुन् । ६ पटकसम्म प्रयास गर्दा आँट आएको थिएन उनमा ।

कमल गाउँपालिकाका पूण्यप्रसाद कोइराला र उनकी छोरी पनि भाकल पूरा भएकाले आएका थिए ।

पून्यप्रसाद कोइराला

हाम्रो यात्राका क्रममा गौरी, पुण्यप्रसाद र स्वस्तिका जस्ता दर्जनौं तीर्थयात्री भेटिए । हाम्रो हातमा क्यामेरा र माइक तथा साथमा ट्राइपोड थियो । हामी पत्रकार हौं भन्ने धेरैले लख काटे ।

पोखराबाट आएका खड्का र खनाल, स्वस्तिकाले त हामीलाई भनिहाले, ‘केबलकार भइदिएको भए त हामी केबलकारमै जान्थ्यौं ।’

हिँड्न सक्नेलाई बाटो छ । नसक्नेलाई केबलकार चाहिनेमा स्वस्तिकाको जोड थियो । चार वर्ष पहिला र अहिले माताकोमा आउँदा दुवैपटक कष्टकर उकालो हिँडेको सुनाउँदै स्वस्तिकाले भनिन्, ‘केबलकार थियो भने त दुःखै हुँदैन थियो नि !’

छोरी बोल्दै गर्दा बुबा पुण्यप्रसादले थपिहाले, ‘केबलकार बने पनि हिँडेर जानेको भीड चाहीँ घट्दैन है । चाहेर पनि हिँड्न नसक्नेहरु माताको दर्शन गर्नै पाउँदैनन् ।’ उनीहरुका लागि नै भए पनि केबलकार बन्नु जरुरी रहेको अर्थ उनको अनुहारमा झल्कियो ।

बाबुराम खड्का र सुष्मिता खनालले पनि एकैस्वरमा भने, ‘केबलकार थियो भने हामी त केबलकारमै जान्थ्यौं ।’

सुस्मिता खनाल

माताको शक्तिले आफू जेनतेन मन्दिर पुगेर फर्किएको झापाकी खरेलले सुनाइन् । उनले पूजाआजका सामग्री आफैंले बोक्न सकिनन् । २ वटा नानी पनि हिँड्न नसकेपछि भरियालाई बोकाउनुपर्यो ।

‘हिँड्न सक्नेलाई बाटो छ, नसक्नेका लागि त केबलकार चाहिन्छ,’ गौरीले थपिन् ।

गौरी खरेल

उकालो लाग्दै गर्दा लेक लागेर बिरामी परेकी एउटी बालिकालाई भरियाले डोकोमा राखेर फर्कंदै गरेको गरेको भेटियो, पछिपछि ओर्लंदै गरेकी उनकी आमाले भनिन्, ‘धन्न भरिया भेटियो र सहज भयो । भरियाले किलोकै १०० रुपैयाँ लिँदा रहेछन् । १६ किलोकी छोरी बोकाउन मैले भरियालाई १६०० रुपैयाँ तिर्नुपर्यो । केबलकार बनेको भए १६०० रुपैयाँको टिकटले आमाछोरीलाई नै पुग्थ्यो कि ।’

०००

पाथीभरा मन्दिरसम्म पुग्ने गरी निर्माणाधीन केबलकारको विषयले यसबेला ताप्लेजुङमात्र होइन, देशैभरी माहोल तताएको छ । केबलकार बनाउनुपर्छ वा बनाउनु हुँदैन भन्नेमा नेपाली समाज, सामाजिक सञ्जाल र सरोकारवाला विभाजित छन् ।

केबलकारको संरचना बनाउन सुरु भएकै दिनदेखि विपक्षमा रहेका नो केबलकार समूह र पहिचानवादीले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा पटकपटक झडप पनि भए ।

ताप्लेजुङको सरगर्मी जिल्लामा मात्र सीमित छैन । इलाम, पाँचथर, तेह्रथुमदेखि राजधानीसम्म र विदेशमा पनि यसको बाछिटा परेको छ ।

यतिबेला पाथीभरा मन्दिर छेवैसम्म पुग्ने गरी काफ्लेपाटीबाट करिब एक किलोमिटर पूर्वदक्षिण डडेले भन्ने ठाउँबाट ३ अर्ब रुपैयाँको लागतमा मन्दिर छेउसम्म २.७५ किलोमिटर लामो केबलकार निर्माण सुरु भएको छ । केबलकार बनाउन संघीय सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल स्वामित्वको पाथीभरा (मुक्कुमलुङ) केबलकार प्रालिलाई अनुमति दिएको छ ।

हिमालयन कन्ट्रक्सनले तल्लो स्टेसनको काम सुरु गरे लगत्तै गत माघ १२ गते नो केबलकार समूह र सुरक्षाकर्मीबीच बलुडाँडा भन्ने स्थानमा झडप भएको थियो । त्यसक्रममा दुवैतर्फका दर्जनभन्दा बढी घाइते भएका थिए । पहिचानवादी आन्दोलनकारीतर्फ जिल्लाबाहिरका २ जना घाइते भएका थिए ।

सो घटनाबाट सल्किएको विरोधको आगोले ताप्लेजुङलाई अशान्त बनायो । पहिचानवादीका रुपमा चिनिएका नो केबलकार समूहले ताप्लेजुङ मात्र नभएर सिंगो मेची राजमार्ग बन्द गर्यो, बन्दले गर्दा पुरै पूर्वी पहाड अस्तव्यस्त बन्यो । त्यसयता प्रर्दशनकारी र सुरक्षाकर्मीबीच पटक–पटक झपड भएका छन्, स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधज्ञासमेत जारी गर्नुपरेको थियो ।

०००

पाथीभरा केबलकारको अन्तर्य तथा ताप्लेजुङबासी र पदयात्रीको भावना बुझ्न राजधानीमै बसेर सम्भव थिएन । त्यसैले क्लिकमान्डुको ५ सदस्यीय टिम ताप्लेजुङ पुग्यो । ताप्लेजुङ यात्राको एउटै उद्देश्य थियो, पाथीभराको महत्त्व बुझ्दै निर्माणधीन केबलकार विरोधको चुरो तथा केबलकारले ताप्लेजुङ तथा पूर्वलाई पुग्ने फाइदा बेफाइदा केलाउनु ।

टिममा थियौं, विनोद भण्डारी, राजु बास्कोटा, रोविन पौडेल, रवि धिताल र केदार खनाल ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म हवाईजहाज र भद्रपुरबाट ८ घण्टा गाडीको यात्रा गरेपछि ताप्लेजुङको सदरमुकाम फुङलिङ पुग्दा रातको १० बजिसकेको थियो ।

फुङलिङको पाथिभरा होटलबाट झिसमिसेमै हामी उकालो लाग्यौं । सदरमुकाम फुङलिङबाट करिब ५ किलोमिटर पक्की र १० किलोमिटर कच्ची सडक यात्रा तय गरेपछि तल्लोफेदी वा काफ्लेपाटी पुगिन्छ ।

फुङलिङबाट सुकेटार हुँदै काफ्लेपाटीसम्मको १५ किलोमिटर यात्रामा स्थानीय गाडी चालक शुक्र सुनारले केबलकारका पक्ष विपक्षका कुरा सुनाए । यात्राको क्रममा हाम्रो पहिलो स्रोत व्यक्ति उनै थिए ।

सवारीचालक सुनारका अनुसार केबलकार बनेपछि ताप्लेजुङको धार्मिक पर्यटनले फड्को मात्र मार्दैन, सिंगो जिल्लाको मुहार फेरिने र आर्थिक गतिविधि बढ्नेछ । केबलकार बनेपछि सबैजनालाई मन्दिर पुग्न सजिलो हुने कारण धार्मिक पर्यटकको संख्या ह्वात्तै बढाउने उनको तर्क छ ।

माथिल्लोफेदीका झण्डै २५ घर परिवार होटल व्यवसायी र भरियाको व्यवसाय संकटमा पर्ने भन्दै उनले निमार्ण पक्षले उनीहरुको रोजगारी र व्यवसायको ग्यारेण्टी गर्नुपर्ने तर्क राखे ।

सानो समूह मारमा पर्यो भन्दैमा सिंगो जिल्लाकै समृद्धि ल्याउने विकास कार्य रोकिनु चाहीँ नहुने उनको निचोड थियो । सुनारका मिठा गफ सुन्दा सुन्दै उज्यालो भयो । एक घण्टामै तल्लोफेदी पुग्यौं ।

तल्लोफेदी त्यतिबेला शान्त थियो, सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो त्यहाँ ।

तल्लोफेदीमा हाल १२ वटा होटल सञ्चालनमा छन् । सिजनमा यहाँका होटलमा २ हजार जनासम्म मान्छे बस्छन् ।

केबलकारको तल्लो स्टेसन काफ्लेपाटीबाट १ किलोमिटर पर छ ।

तल्लो फेदी पनि भनिने काफ्लेपाटीबाट करिब ५ किलोमिटर ठाडो उकालोको कष्टकर पैदल यात्रा गरेपछि पाथीभरा माताको मन्दिर पुगिन्छ । मन्दिर फुङलिङ नगरपालिका, फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाको संगम स्थलमा रहेको ३७९४ मिटर उचाइमा छ ।

५ किलोमिटर दूरी पार गर्न स्थानीयलाई २ घण्टामात्रै लाग्दो रहेछ । अन्यत्रबाट जानेलाई भने ६ घण्टासम्म लाग्दो रहेछ र फर्कन साढे २ घण्टा ।

क्लिकमान्डुकर्मी विनोद भण्डारी

०००

काफ्लेपाटीबाट उकालो लागेपछि सुरु भयो, हाम्रो यात्राको उद्देश्यअनुसार काम । बाटोमा अलिअलि बटुवा भेटिन्थे । ताप्लेजुङको अशान्तिले तीर्थयात्रीको संख्या निकै घटाएको रहेछ ।

घाम छिप्पिन थालिसकेको थियो । माथिल्लो फेदीसम्म पुग्दा कमकमै मान्छे भेटिए ।

फर्कंदै गरेका र माथिल्लो फेदीको सामान बोकेर लैजाँदै गरेका केही भरियाबाहेक अन्यत्रबाट आएका कोही भेटिएनन् ।

माथिल्लो फेदी

माथिल्लो फेदी निकै ठूलो रहेछ, यसलाई ठूलो फेदी पनि भन्दा रहेछन् । यो राष्ट्रिय वनभित्र बसेको वस्ती हो । यो बस्ती हटाउने मुद्दा अहिले अदालतमा चलिरहेको छ ।

प्रायः तीर्थयात्रीहरु सकेसम्म माथिल्लो फेदीमा पुगेर बस्ने र बिहान उज्यालो नभई उकालो हिँडिसक्ने गर्दा रहेछन् ।

माथिल्लो फेदीबाट उकालो लागेपछि सबैभन्दा सुरुमा भेटिन्छ, तामाको गेट । यो नै पाथीभराको प्रवेशद्वार हो जुन मन्दिरमा चढाइएका तामाका त्रिशुल आदि पगालेर बनाइएको हो ।

पाथीभराको प्रवेशद्वार तामाको गेटमा भेटिएका सुस्मिता श्रेष्ठलगायत

तामाको गेटबाट प्रवेश गरेपछि सबैभन्दा सुरुमा कान्छी माताको दर्शन गर्न पाइन्छ । उकालो हिँड्न नसक्नेहरु त्यहीँबाट फर्कंदा पनि पाथीभरासम्म पुगेर आए बराबर धर्म हुन्छ भन्ने विश्वास छ ।

बाटोमा भेटिएका तीर्थयात्रुहरुसँग विस्तारै कुरा गर्दै हामी अघि बढ्यौं ।

मिलन चौतारामा भेटिएका सुनसरी इटहरीका कविराज राई, लेखा र विष्णु राईको धारणा केबलकार भए मन्दिर पुग्न र फर्कन सहज हुन्छ भन्ने थियो ।

लेखा पहिलोपल्ट मन्दिर पुगेकी हुन् । उनको अनुभव छ, ‘बालबालिका र बुढापाकालाई लिएर हिँडेर जान सजिलो रहेनछ ।’ सँगै आएका कविराज राईले थपे, ‘केबलकार बन्दा माताको दर्शन गर्न र आशिर्वाद लिन सबैलाई सहज हुने रहेछ । हिँड्दै पुग्न त जो कोहीलाई गाह्रो रहेछ ।’

सरू भण्डारी

धरान दुर्गापथकी सरु भण्डारी मन्दिर जाँदाको उकालो र फर्कंदाको ओरालोले रुनु न हाँस्नुसम्म बनिन् । उनले पनि बच्चालाई जाँदा र फर्कंदा सय रुपैयाँ केजी भाडा तिरेर भरियालाई बोकाइन् । भरिया लगाउनुपरेको यो पहिलो पल्ट होइन, ६ वर्ष पहिला आउँदा पनि उनले यस्तै अनुभव भोग्नुपरेको थियो । भण्डारीले हामीसँग भनिन्, ‘अहिले पनि त्यस्तै भयो । यहाँ केबलकार बनेको भए मेरो यस्तो हालत हुने थिएन होला ।’

फर्कंदा ओरालोमा त झन् खुट्टा कुँजीएर अघि बढाउनै गाह्रो भइरहेको अनुभुति उनको थियो ।

चितवनको कावासोतीबाट आएका सजीन गुरुङ र सुमन लामालाई तल्लोफेदीबाट मन्दिर पुग्न ६ घण्टाभन्दा बढी समय लाग्यो । पाथीभरा माताको प्रसिद्धी सुनेर लामो यात्रा गर्दै पहिलो पटक दर्शन गर्न आएका थिए उनीहरु ।

ताप्लेजुङ आएपछि केबलकारका विषयमा द्वन्द्व चलिरहेको लामाले महशुस गरे । ‘केबलकार बन्ने हो भने जो पनि माताको मन्दिर पुग्न सक्ने अवस्था श्रृजना हुन्छ,’ लामाले भने, ‘तागत हुने हिँडेर जान्छन् । दाम हुने, बालबालिका, अशक्त र बुढापाका केबलकार चढ्लान् ।’

इलामका प्रकाश थेवे माताको दर्शन गरी फर्कंदै गरेको भेटिए । पनि कुनै जात र समूहको स्वार्थका नाममा पाथीभरा क्षेत्रमा हुने विकास निर्माणका कार्य रोकिन नहुने पक्षमा उनी थिए । भरियालाई बोकाएर मन्दिर पुग्नुभन्दा केबलकार चढेर पुग्दा राम्रो हुने थेवेको तर्क थियो ।

वीरबहादुर राई

वीरबहादुर राई उदयपुर मैनामैनीबाट पाथीभरा आएका रहेछन् । ७२ वर्ष पुगेका राईले हामीसँग ‘केबलकार बन्यो भने अर्को पटक पुनः मन्दिर आउने नत्र यो नै अन्तिम पल्ट हो’ भने ।

हिँड्दै जाँदा आफू जस्तो वृद्धलाई मन्दिर पुग्न ज्यादै कठिन रहेको महसुस उनले गरेका छन् ।

‘हिँड्न नसकेर रुनु न हास्नु भएको छु । माताले माफ गरुन् । हिँड्न गाह्रो रहेछ, सक्दिनँ,’ उनले हामीसँग भने, ‘हिँड्दै आउनु परे मेरो यो अन्तिम हो । केबलकार बन्यो भने अर्कोपटक पुनः आउने भाकल नै गरें ।’

राईको बोलीमा लुकेको थियो, केबलकार बने आफूजस्ता अन्य वृद्ध र अशक्तलाई पनि पाथीभरा मन्दिर सहज हुने भाव ।

रामप्रसाद राई

वीरबहादुरसँगै आएका रामप्रसाद राई ६ घण्टा उकालो हिँडेर लखतरान देखिए । उनले पनि केबलकार बने परिवारका अशक्त सदस्यलाई पनि लिएर आउने भाकल गरेको सुनाए ।

बुधबारे झापाकी प्रिती खनाल माथिल्लो फेदीबाट ५ घण्टा हिँडेर मन्दिर पुगिन् । उनले चार वर्ष पहिला पाथीभरा आउने भाकल गरेकी थिइन् । ‘यही बाटो त अर्को पटक आउन सोच्नै पर्ने स्थिति रहेछ,’ स्याँस्याँ गर्दै उनले भनिन्, ‘यहाँ केबलकार बन्ने हो भने माताको दर्शन गर्न केटाकेटी र बाआमालाई पनि लिएर आउँछु, यसैपाली ल्याउने मन थियो ।’

इलाम चुलाचुलीबाट आएका कृष्णबहादुर क्षेत्रीलाई पनि अम्तिमको उकालो छिचोल्न निकै गाह्रो भयो । मिलन चौतारामा भेटिएका क्षेत्रीले भने, ‘आफूलाई हिँड्न गाह्रो भयो बच्चालाई लेक लागेर अर्को समस्या ।’

केबलकारको बिरोध र आन्दोलन गर्नुमा स्वार्थ लुके ता पनि क्षणिक स्वार्थ त्यागेर धर्मावलम्वीहरुको चाहनालाई ध्यान दिन अनुरोध उनले गरे ।

०००

हामी पाथीभरा मन्दिरमा पुग्दा दिउँसोको ३ बजिसकेको थियो । बाक्लो बादलले वरिपरि ढाकेको थियो । माताको दर्शन गर्यौं । लगत्तै पानी पर्यो । पानीसँगै युरियाका दानाझैं फुरुरु हिउँ झरे ।

फर्केर ओर्लंदै गर्दा हाम्रा खुट्ट लुला भइसकेका थिए । हल्का परेको हिउँले हात चिस्याउन थालिसकेको थियो । माथिल्लो फेदीसम्म आइपुग्दा झमक्क साँझ परिसकेको थियो । त्यो रात ठूलो फेदीमै बास बस्यौं।

ठूलो फदीको त्यो रात राम्रो निद्रा परेन । मान्छेहरु बिहान ३ बजे नै उठेर उकालो लाग्दा रहेछन् । उज्यालो नहुँदै हिँड्न सुरु गर्नुको अर्थ बाटो कत्तिको असहज छ भन्ने थाहा नहोस् भन्न रहेछ ।

उकालो चढ्दै गर्दा जतिजति शिखर हेर्छौं, मनोबल त्यति कमजोर हुने रहेछ ।

अध्याँरोमै उकालो लागेकाहरुसँग पनि कुरा गर्दा सबैको एकस्वर पायौं ।

त्यो थियो, ‘केबलकारले माताको दर्शन गर्न नपाएका अशक्त, बृद्धबृद्धा र बालबालिकालाई मन्दिरसम्म पुग्न सहज बनाउनेछ ।’

ठूलोफेदीभन्दा केही माथि उकालो बाटो

०००

काफ्लेपाटी आइपुग्दा उज्यालो भइसकेको थियो । काफ्लेपाटी बजार दुई भागमा बाँडिएको रहेछ । फुङलिङ वडा नं. १० र ११ । वडा नं. १० ३ वटा होटल सरकारी जग्गामा बसेका छन् । उनीहरु केबलकारको विषयमा बोल्न चाहेनन् ।

वडा नं. ११ का होटल व्यवसायी केबलकारबाट उत्साहित देखिए । केबलकार बनेपछि तपाईंहरुलाई लाभ हानी के हुने देख्नु भएको छ ? भन्ने हाम्रो प्रश्नमा उत्तर सकारात्मक थियो । पाथीभरा मन्दिरसम्म केबलकार बन्न थालेपछि व्यवसाय बढ्ने आशामा स्थानीय व्यवसायी उत्साहित पाइयो ।

बलुडाँडा । यहाँ नो केबलकार आन्दोलनका कार्यकर्ता बस्छन् ।

काफ्लेपाटीका होटल व्यवसायी जगत कार्कीले केबलकार बनेपछि अफ सिजनमा पनि मान्छे आउने विश्वास गरे । अर्का व्यवसायी दाबा नुर्वु भोटेले केवलकारले पर्यटक बढाउने भएकोले यसको बिरोध गर्नुको कुनै अर्थ नभएको तर्क गरे ।

केबलकार बिरोधी गतिविधि काफ्लेपाटी केन्द्रित रहेकाले यो ठाउँ अहिले सुस्ताएको छ । काफ्लेपाटीबाट अलि माथि बलुडाँडामा नो केबलकार समूहका कार्यकर्ता पाल टाँगेर राखिएको रहेछ । उनीहरुलाई माथिल्लो फेदीका होटल सञ्चालकले खाना खुवाउँछन् ।

ताप्लेजुङमा केबलकार विरोधी गतिविधिले निम्त्याएको सुरक्षा जोखिमका कारण पाथीभरा पुग्ने तीर्थयात्रीको संख्यामा पनि ह्रास आएको छ । केबलकारले ताप्लेजुङमात्रै नभएर इलाम र पाँचथरसम्मको पर्यटन गतिविधि बढ्ने तथा होटललगायत क्षेत्रले आर्थिक गतिविधि उकास्ने अनुमान गरिएको छ ।

सानोफेदी वा काफ्लेपाटी

०००

काफ्लेपाटीबाट फुङलिङ झरेपछि शीर्षस्थ राजनीति दलका जिल्ला नेतृत्वसँग सम्पर्क गर्ने प्रयास गर्यौं । जिल्लाकै विकासको मानकका रुपमा बन्दै गरेको केबलकारलाई नेकपा एमालले खुलेर समर्थन गरेको तथा कांग्रेस मौन देखियो ।

नेकपा एमालेका जिल्ला सचिव सन्तोष चामलिङले केबलकारले जिल्लामा समृद्धि ल्याउने तर्क गरे। कांग्रेसका जिल्ला सभापति भने हाम्रो सम्पर्कमै आउन चाहेनन् । क्लिकमान्डु टिमले करिब आधा घण्टा कांग्रेसको जिल्ला पार्टी कार्यालयमा प्रतीक्षा गर्दा समेत उनीसँग कुरा हुन सकेन ।

जेठो राजनीतिक दलको मौनतालाई स्थानीयले खासै मन पराएको देखिएन ।

राजेन्द्र महतोजस्ता जिल्ला बाहिरका नेताहरुले ताप्लेजुङमा देखाएको अनावश्यक चासोलाई पनि जिल्लाबासीले रुचाएका छैनन् । ताप्लेजुङको विषयमा जिल्लाका मान्छेहरु नै मौन रहँदा पहिचानवादीले नो केबलकारको नाममा जिल्लामा अशान्ति मच्चाएको विषयमा उनीहरुको बिरोध छ ।

सदरमुकाम फुङलिङमा क्लिकमान्डु टिमले व्यवसायीहरुसँग कुराकानीको प्रयत्न गर्दा उनीहरुले ‘आफूहरु नबोलेकै राम्रो’ भन्ने प्रतिक्रिया दिए ।

नो केलबकार आन्दोलनमा खगेन्द्र फेम्बो र श्रीप्रसाद लिम्बुबाहेक सबै नेता जिल्ला बाहिरका रहेछ्न् । उनीहरुले पाथीभरालाई मुकुमलुङ भन्ने रहेछन् । लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेट्न नहुने तर्क उनीहरुको पाइयो । पहाडको टुप्पामा राजेन्द्र महोतको उपस्थितिले कतै विकासभित्र राजनीति त छिरिरहेको छैन ? भनेर आशंका गर्नेहरु पनि प्रसस्तै भेटिन्थे ।

०००

ताप्लेजुङ यात्रा संस्मरणमा हामीले एउटा उदेकलाग्दो दृष्य समेट्नै पर्छ ।

बाटोमा हिँड्दा भेटिएकाहरु केबलकार बन्नैपर्छ भन्ने तर्क गर्दथे । तर, काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्मको करिब ५ किलोमिटर यात्रा गर्दा त्यसबीचमा भेटिएका हरेक पार्टी, पौवा, फलैंचा, बोर्ड र शौचालयमा समेत पाथीभरा नामलाई पहिचानवादीले मेट्न खोजेको अनुभूति भयो । जताततै नो केबलकार, निर्माणकर्ता व्यवसायी ‘मुर्दावाद’जस्ता नारा लेखिएका थिए ।

त्यतिमात्र होइन, मार्गमा रहेका पाथीभरा मन्दिर लेखिएका पोस्ट, बोर्ड र ब्यानरमा पाथीभराको नाम मेटेर मुकुमलुङ लेखिएको थियो ।

मन्दिर परिसरमा पनि पाथीभरा नाम थिएन । मुकुमलुङमा स्वागत छ भनेर लेखिएको थियो ।

हामी पाथीभरा भनेर पुगेका थियौं । दर्शन गर्न जाने सबै तीर्थयात्री पाथीभरा नै दर्शन गर्न गएको पाएका थियौं । तर, पाथीभरालाई मेटेर मुकुमलुङ किन भनिएको रहेछ भन्ने तर्क बुझन् हम्मेहम्मे पर्यो, हामीलाई ।

स्थानीय जानकारहरुका अनुसार किराँत भाषामा मुकुमलुङको अर्थ ‘शक्ति भएको ढुंगा‘ भन्ने हुँदो रहेछ । पाथीभरा मन्दिरमा रहेको माताको मुल प्रतिमाबाट करेन्टझैं ऊर्जा आउने भएका कारण किराँतीहरुले सो प्रतीमालाई मुकुमलुङ भन्दा रहेछन् ।

आखिर मुकुमलुङ भनेपनि शक्तिपीठ भने पनि एउटै रहेछ ।

केबलकार बन्नुपर्छ भन्ने यत्रतत्र आवाज उठिरहँदा तथा ताप्लेजुङबासीले केबलकार बन्नुपर्छ भनिरहँदा यसको विरोध आखिर किन गरिएको हो त ? यो प्रश्नको जवाफ हामीले पायौं, बलुडाडाँमा भेटिएकी पहिचानवादी नेतृ इन्दिरा धौरालीबाट ।

झापा बस्दै आएकी उनी केबलकार विरोधी आन्दोलन सुरु भएपछि त्यहाँ पुगेकी हुन् । उनले आफू नो केबलकार समूह र सुरक्षाकर्मीबीच भएको झडपको प्रत्यक्षदर्शी, साक्षी र झडपमा सहभागी योद्धा पनि रहेको बताइन् ।

केबलकारले धार्मिक र प्राकृतिक विनाश गर्छ, पाथीभरा माताको महत्त्वलाई क्षीण गर्छ र यस क्षेत्रमा पाइने दूर्लभ वन्यजन्तु रेडपाण्डालगायत लोप हुने अनि विश्व प्रसिद्ध विभिन्न प्रजातीका गुराँस नष्ट हुन्छ जस्ता तर्क उनले गरिन् ।

‘केबलकारले वृद्ध, अशक्त र बालबालिकालाई सहज पुर्याउला तर कसैको पहिचान मेटाएर, धार्मिक अतिक्रमण गरेर र प्रकृतिको बिनाश गरेर केबलकार बनाइनु हुँदैन,’ धौरालीले थपिन् ।

०००

हिँड्न नसक्ने र अशक्तले हाल भरियालाई बोकाएर माताको दर्शन गरेर फर्कने सुविधा छ । माथिल्लो फेदीबाट बोकेर मन्दिरसम्म पुर्याएर ल्याएवापत ठूलो मानिसको प्रतिकिलो २०० रुपैयाँ र बालबालिकाको उमेर हेरेर प्रतिकिलो १०० रुपैयाँ भाडा लिने गरेका छन् । यहाँ तीर्थयात्री बोक्न लागि सिजनमा झण्डै ३०० र अफसिजनमा ६० जनाभन्दा बढी भरिया खटिँदै आएको पाइयो ।

सुकेटारका दावा शेर्पा बलुडाँडादेखि केही माथि गुराँसे डाँडामा फर्कंदै गरेको भेटिए । शेर्पा बिगत १० वर्षदेखि यही भारी बोकेर गुजरा चलाउँदै आउने मध्येका एक रहेछन् ।

केबलकार बनेपछि कामको नयाँ विकल्प हुने, भारी बोकेर गुजारा चलाउनुपर्ने दिनको अन्त्य हुने उनको विश्वास थियो ।

‘केबलकार बनेपछि नयाँ काम पाइएला, त्यसपछि पनि हिँडेर जाने मन हुनेलाई केबलकारले रोक्दैन,’ शेर्पाले भने ।

पूर्णसिंह लिम्बु विगत चारवर्षदेखि पाथीभरा क्षेत्रमा भारी बोकेर परिवारको गुजरा चलाउँदै आएका छन् । उनी ताप्लेजुङ लिवाङ स्थायीबासी हुन् । अहिले दिनको ८-१० हजारसम्म कमाउने लिम्बुलाई केबलकार बनेपछि कमाइ घट्ने चिन्ता छ । तर, नयाँ रोजगारी पाइएला भन्ने बराबर विश्वासमा उनी देखिए ।

भरिया

०००

केबलकारलाई ताप्लेजुङ विकास पहिलो खुड्किलोको रुपमा हेरिएको छ । जिल्लामा प्राकृतिक स्रोतका अनुपमता छ । यहाँका खोलानाला, हिमाल, पहाड, झरना, पोखरी सबै पर्यटक लोभ्याउने खालका छन् ।

सुदूरपूर्वी हिमाली जिल्लामा विकास हुँदा सँगसँगै पाँचथर, इलाम, तेह्रथुम, धनकुटा आदि जिल्लाका लागि पनि अवसरको ढोका खुल्नेछ ।

यात्राका क्रममा पाथीभरामा केबलकार बन्यो भने के फाइदा हुन्छ ? भन्ने प्रश्न हामीले जिल्लाका जानकार, भलाद्मी, व्यवसायी र सरोकारवालालाई पनि सोध्यौं । ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु भनेको समग्र पूर्वी नेपालले विकास निर्माणमा गति लिनु भएको उनीहरुको तर्क थियो ।

जिल्लामा केबलकार बनेपछि पर्यटन व्यवसाय फस्टाउँछ । धार्मिक सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य पूर्वी नेपालकै पाथीभरा भएकोले यो ठाउँमा आउने तीर्थालु, भक्तजनदेखि स्वादेशी र विदेशी पर्यटक थप आकर्षित गर्न सक्ने गन्तव्य बन्छ भन्नेमा सबै एकमत थिए ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पा पेशाले होमेस्टे व्यवसायी र कपडा व्यापारी हुन् । केबलकार पूर्वी नेपालकै विकासका लागि केबलकार नै मियो हुने उनको बुझाइ छ ।

ताप्लेजुङमा धेरै तीर्थयात्री पुग्नु भनेको पाँचथरदेखि इलामसम्मले लाभ लिन सक्नु हो, धेरै आगन्तुक आएपछि ती जिल्लाका उत्पादन प्रबद्र्धन हुने, होटल व्यवसायीले ग्राहक पाउने लगायत लाभ हुने देखिन्छ ।

माघ महिनामा नै पाथीभरामा ४ हजार तीर्थयात्री पुगेको र उनीहरुले श्रद्धापूर्वक चढाएको भेटीघाटी १० लाख रुपैयाँ देखिएको छ। सन् २०२४ मा ३ लाख १० हजार भक्तजन पाथीभरा पुगेका रहेछन् । केबलकार बनेपछि यो संख्या तेब्बर हुने अनुमान छ ।

पाथीभराबाट आँखै अगाडि देखिने कुम्भकर्णसहितका हिमशृङ्खलाको दृश्यावलोक गर्ने पर्यटक बढ्छन् । केबलकार बनेपछि दिनभर लाग्ने समय दुई घण्टामा छोटिनेछ जसले पाथीभरा क्षेत्रको पर्यटक बहन क्षमता पनि विस्तार गर्नेछ ।

अमिर मादेन । मेयर, फुङलिङ नगरपालिका

केबलकारसँगै जिल्ला आउने खर्चालु पर्यटक बढ्नेछन् । सिक्किम घुम्न जाने भारतको पश्चिम बंगालका पर्यटक सिक्किम भन्दा कम खर्चमा त्यहाँभन्दा मनमोहक दृष्य हेर्न लालायित हुनेछन् । यस क्षेत्रमा नयाँ पर्यटकीय पूर्वाधार बन्ने, होटल रेस्टुरेन्ट थप हुने जस्ता कारणले स्थानीयले रोजगारी पाउने, स्थानीय व्यापारीको ग्राहक पाउने देखिन्छ । त्यसमाथि केबलकारको सेयरको केही अंश पनि स्थानीयलाई नै वितरण गर्ने निर्माण कम्पनीको योजना छ । यसो गर्दा केबलकार जिल्लाबासीले अपनत्व ग्रहण गर्ने आधार बन्नेछ भने त्यसबाट प्राप्त हुने आम्दानीको केही हिस्सा जिल्लाबासीले नै पाउनेछन् ।

केबलकारको विषयमा कुराकानी गर्न फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनालाई पनि भेट्यौं। मादेनले निर्वाचनताका बनाएको आफ्नो घोषणापत्रमा आफ्नो कार्यकालमा केबलकार बनाउने उद्घोष गरेका हुन् ।

केबलकार निर्माणले पाथीभराको महत्त्व झन बढ्ने र मुकुम्लुङको पनि संस्कृति जोगाउन सकिने दाबी मादेनको छ । केबलकार बनाउनु भनेको यहाँको स्थानीय संस्कृतिलाई मास्नु नभएर जोगाउन नै सहयोग गर्ने उनको विश्वास छ ।

०००

५ दिने ताप्लेजुङ यात्राका क्रममा हामीले करिब ४ दर्जन व्यक्तिहरुसँग कुरा गर्यौं । पहिचानवादीहरुले विरोध गरिरहेका भए पनि स्थानीयाबासीहरु भने दुई दशक पूरानो सपना साकार हुने लागेकामा आशावादी देखिए । स्थानीय व्यवसायीको भित्रि मनमा केबलकार बन्दा आफूहरुको व्यवसाय पनि बढ्नेमा ढुक्क छन् । तर, नाम बताउँदा विवादमा पर्न सकिने कुराको मध्यनजर गर्दैै उनीहरु मिडियासँग नाम उल्लेख गर्ने गरी आफ्नो धारणा राख्न हिच्किचाएको पायौं ।

हाम्रो यात्राको निष्कर्ष यही रह्यो कि, ताप्लेजुङलाई केबलकार टड्कारो रुपमा चाहिएको रहेछ । पाथीभरा र कञ्चनजंघाको जिल्ला भनेर चिनिने ताप्लेजुङलाई नयाँ परिचय चाहिएको रहेछ, त्यो हो केबलकारको जिल्ला ।

तर, निर्माण पक्षले माथिल्लो फेदीका व्यवसायी र भरियालाई वैकल्पिक रोजगारी प्रदान गर्नुपर्ने माग भने धेै हदसम्म जायज देखिन्छ । हिँडेर जाने विकल्पलाई यथावत् राख्दा यहाँको मौलिकता पनि नाश हुँदैन । यसैगरी केबलकारले पाथीभरा तथा मुकुमलुङप्रतिको धार्मिक आस्था कम हुन नदिने गरी पहाडको शिखरमा केबलकार स्टेसनबाहेक थप भौतिक संरचना नबनाउनु नै उपयुक्त हुने देखिन्छ ।

क्लिकमान्डुकर्मीहरू बायाँबाट क्रमशः राजु बास्कोटा, रवि धिताल र रोविन पौडेल

पाथीभरा केबलकारसँग सम्बन्धित विशेष समाचारहरूः

तीर्थालुलाई सहज र ताप्लेजुङ विकासको आधारशिला बन्नेछ पाथीभरा केबलकार

केबलकार विवादले ताप्लेजुङमा सुरक्षा थ्रेट बढ्योः सीडीओ शर्मा (भिडियो)

राजेन्द्र महतोलाई ताप्लेजुङबासीले देखाए कालोझण्डा, पवित्र तीर्थस्थलमा पुगेर समाज भाँड्न लागेको आरोप

पाथीभरामा केबलकारको अनुमति दिने ‘डम्बरबहादुर’ नै ‘नो केबलकार’ आन्दोलनको अगुवा !

पाथीभरामा केबलकार बनेपछि व्यापार बढ्ने आशाले उत्साहित छन् ताप्लेजुङका व्यवसायी (भिडियो)

पाथीभरामा केबलकार बनाउने हो डाँडै भत्काउने होइन, २/४ जनाले विरोध गरेर विकास रोकिँदैन

पाथीभराको धार्मिक महत्व र ऐतिहासिक प्रमाणबारे पुजारी डिल्ली आचार्यसँगको विशेष अन्तर्वार्ता

जेमा पनि बैंक नै ‘तारो’: बैंक डुबाउने प्रयासमा अराजक समूह, कसको जगमा हुँदैछ आन्दोलन ?

केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ: चन्द्र ढकाल

पाथीभरामा केबलकारको छैन विकल्प, पुग्न नसक्नेहरूको पनि सपना हुनेछ साकार

विकासको विरोधले अशान्त ताप्लेजुङ

Skip This