एनआईसी एशिया क्यापिटलका दुई प्रोडक्ट सार्वजनिक, विदेशमा रहेका नेपालीलाई फोकस

147
Shares


काठमाडौं । एनआईसी एशिया क्यापिटलले दुई प्रोडक्ट सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ दुुई प्रोडक्टको सार्वजनिक गरिएको हो ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले नयाँ ल्याएको प्रोडक्टमा बिदेशमा रहेका नेपालीहरुले पनि सहभागी जनाउन सक्ने बताए ।

क्यापिटलले एकै ठाँउबाट सबै सेवा दिने उद्देश्यले विदेशमा रहेका नेपालीका लागि लक्षित डायस्पोरा खाता सेवा संचालनमा ल्याएको उनको भनाइ छ ।

यो सेवा गैर–आवासीय नेपाली तथा नेपाल बाहिर रहेका नेपालले आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी-लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु यस एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको उनको भनाइ छ ।

उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने क्यापिटलको दाबी छ । यो सेवा विषेशगरी नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्वाह गर्ने जनाएको छ ।

यो सेवामा विभिन्न विशेषता रहेका छन् । कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने, इक्विटी लगानी, इक्विटी-उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक, आरटीए तथा आरटीएस सेवाहरू, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन तथा वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श सेवा दिने भएको छ ।

यो सेवा लिएपछि डायस्पोरा सँग सम्बन्धित सम्पूर्ण विषयमा एकै ठाँउबाट सबै सेवा लिने सकिने, सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरु मार्फत सेवा उपलब्ध जनाएको छ । यस्तै कम्पनी स्थापना वा विस्तार, आईपीओ निष्काशन गर्नेदेखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने छ ।

यस्तै धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउन अफर फर सेल पनि संचालनमा ल्याएको छ । धितोपत्रको दोस्रो बजारमा सुचिकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका अफर फर सेल प्ल्याटफर्म संचालनमा ल्याएको छ ।

यसमा संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत कमन प्ल्याटफर्मबाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्नेछ ।
उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने छ ।

यस्तै अफर फर सेल (ओएफएस) माध्यमका विभिन्न विशेषता रहेका छन् । जसमा संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।

कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजि दिने कार्य गर्ने छ ।

सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।

सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ । सम्बन्धित कम्पनीको भ्यालुुएसन गरेर संस्थापक समूहको शेयरको खरिद-बिक्री गर्नको लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने छ ।