
काठमाडौं । आजदेखि सञ्चालनमा आउन लागेको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले करिब २ अर्ब रुपैयाँ ऋण लिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आईएमई ग्रुप र एभरेस्ट ग्रुपको संयुक्त लगानीमा खुलेको कागज उद्योगले १ अर्ब ८६ करोड रुपैयाँ ऋण लिनका लागि रेटिङ गराएको हो ।
नेपाल पल्पले दीर्घकालीन ऋणका लागि १ अर्ब ६० करोडको रेटिङ गराएको छ । त्यस्तै अल्पकालीन ऋणका लागि २६ करोड ६० लाखको रेटिङ गराएको छ ।
इक्राले दीर्घकालीन ऋणका लागि इक्रा एलबी माइनस रेटिङ दिएको छ भने अल्पकालीन ऋणका लागि इक्रा एफोर रेटिङ दिएको छ ।
यसअघि कम्पनीले १ अर्ब ३८ करोड ९२ लाख रुपैयाँका लागि रेटिङ गराएको थियो । नेपाल पल्प हाल कागजको परीक्षण उत्पादन (ट्रायल फेज) गरिरहेको छ । कम्पनीको औपचारिक उद्घाटन बुधबार हुँदैछ । कम्पनीले प्रिन्टिङ पेपर उत्पादन गर्दछ।
सन् २०२१ जनवरी २० मा स्थापना भएको नेपाल पल्प एन्ड पेपरले पूर्वाधार निर्माण सकेको हो ।
नेपाल पल्पले मधेश प्रदेशको महोत्तरी जिल्लाको रामनगरमा ११ विघाह जग्गा खरिद गरेर कागज उत्पादन गर्ने उद्योगको पूर्वाधार बनाएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक २१ हजार टन छ । उद्योगले उच्चगुणस्तरको लेख्न र प्रिन्टिङ गर्न पेपर उत्पादन गर्नेछ ।
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजमा वन क्यापिटल होल्डिङ्स प्रा.लि.को नाममा ३५ प्रतिशत सेयर छ । त्यस्तै सुलोचना देवी सराफसँग २० प्रतिशत सेयर रहँदा सुनिल गोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीसँग समान १५/१५ प्रतिशत सेयर रहेको छ । बाँकी १५ प्रतिशत सेयर अन्य तीन व्यक्तिसँग छ ।
उद्योगको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् । ढकाल आइएमई ग्रुप र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।
आइएमई ग्रुप, बैंकिङ, रेमिट्यान्स, बीमा, जलविद्युत, केबलकार, होटल बिजनेसमा संलग्न छ । उद्योगको अर्का साझेदार एभरेस्ट ग्रुप पेपर मिल, तार, मेटल, राइस मिल्स र औषधि व्यवसायमा संलग्न छ । एभरेष्ट ग्रुपले एभरेष्ट पेपर मिल्स प्रा.लि. सञ्चालन गर्दै आएको छ । सर्राफसँग यस क्षेत्रको बारेमा लामो अनुभव छ ।
नेपाल पल्पलाई दर्जनौं आयातकर्ता र विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । यसैगरी कच्चा पदार्थ आयातमा निर्भर रहने भएकाले कानुनी प्रावधान हेरफेरको चुनौती तथा कच्चा पदार्थको मूल्य उतारचढावले पनि प्रभाव पार्ने देखिन्छ ।
प्रतिक्रिया