मुद्दतीमा राखेर ब्याज खाँदै पुनर्बिमा कम्पनी, साढे ४० अर्ब लगानीमध्ये उत्पादनमुलकमा ‘शून्य’

210
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुुई वटा निर्जीबन बिमा कम्पनीले विभिन्न क्षेत्रमा ४० अर्ब ६४ करोड ६२ लाख ९९ हजार रुपैयाँ लगानी गरेका छन् । उनीहरुले निक्षेप तथा सेयरमा यति रकम लगानी गरेका हुन् ।

नेपाल बिमा प्राधिकरणले जारी गरेको पुनर्बिमा कम्पनीको लगानी सम्बन्धि निर्देशिकाअनुसार पुनर्बिमा कम्पनीले आफ्ना विभिन्न कोषमा रहेका रकम लगानी गर्न पाउँछन् । व्यवस्थाअनुसार उनीहरुले निक्षेप, ऋणपत्र वा बचतपत्र, सेयर, बोन्ड, डिबेन्चर, म्युचुअल फन्ड आदिमा लगानी गर्न पाउँछन् । सोहीअनुसार हालसम्म नेपाल पुनर्बिमा कम्पनीले २१ अर्ब १० करोड ७८ लाख ५८ हजार र हिमालयन रिइन्स्योरेन्सले १९ अर्ब ५२ करोड ८४ लाख ४१ हजार रुपैयाँ लगानी गरेको हो ।

बिमा प्राधिकरणका अनुसार पुनर्बिमा कम्पनीहरुले गरेको लगानीमा ठूूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा छ । मुद्दति निक्षेपमै मात्र ३१ अर्ब ५९ करोड ४४ लाख ७५ हजार रुपैयाँ लगानी गरेका छन् । यो कुल लगानीको ७७ प्रतिशत हो ।

लगानी विविधिकरण गर्न बिमा प्राधिकरणले निर्देशिका बनाए तापनि कम्पनीहरुको ध्यान मुद्दति निक्षेपमा नै बढी देखिन्छ ।

यी कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंकमा २९ अर्ब १८ करोड १४ लाख ७५ हजार निक्षेप राखेका छन् । नेपाल पुनर्बिमा कम्पनीले १५ अर्ब ६२ करोड ९० लाख २० हजार र हिमालयन रिले १३ अर्ब ५५ करोड २४ लाख ५५ हजार रुपैयाँ एफडी राखेका हुन् ।

यसैगरी पूर्वाधार बैंकको मुद्दति निक्षेपमा २६ करोड लगानी रहेको छ । यो सबै रकम नेपाल रिको हो ।

उनीहरुले वाणिज्य बैंक र पूर्वाधार बैंकमा कुल लगानीको कम्तिमा ३० प्रतिशत रकम निक्षेपको रुपमा राख्न पाउने प्राधिकरणको व्यवस्था छ ।

यसैगरी ‘ख’ वर्गका विकास बैंकमा १ अर्ब ७५ करोड ३० लाख निक्षेप छ । यो रकम नेपाल रिको मात्र हो । ‘ग’ वर्गका वित्त कम्पनीको मुद्दति निक्षेमा नेपाल रिले नै ४० करोड निक्षेप राख्दा हिमालयन रिले १ रुपैयाँ पनि राखेको छैन ।

यस्तै दुवै कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३ अर्ब १० करोड १२ लाख ५० हजार लगानी गरेका छन् । नेपाल पुनर्बिमा कम्पनीले ९ करोड ४७ लाख १८ हजार र हिमालयन रिले ३ अर्ब ६५ लाख लगानी गरेको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ४४ करोड ३५ लाख २४ हजार लगानी गरेका छन् । जसमा नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ३६ करोड १३ लाख र हिमालय रिले १ अर्ब करोड ८ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नागरिक लगानी कोष र म्युचअल फण्डमा ६ करोड ३४ लाख ८९ हजार रुपैयाँ लगानी भएको छ । जसमध्ये नेपाल पुनर्बिमाको ५ करोड ५९ लाख र हिमालयनको ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ९० करोड लगानी भएको छ । त्यो सबै हिमालयन रिको हो । अन्य संस्थापक सेयरमा नेपाल रिको ५९ करोड ६५ लाख र हिमालयन रिको ३७ करोड ९७ लाख रुपैयाँ लगानी छ ।

सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा नेपाल रि एक्लैले ५० करोड ७२ लाख लगानी गरेको छ । अन्य क्षेत्रमा ७५ करोड लगानी गरिएकामा हिमालयनले ६० करोड र नेपाल रिको १५ करोड लगानी छ ।

दुवै पुनर्बिमा कम्पनीले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रशारणलाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छैनन् । यो क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न सकिन्छ । सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्र, घर जग्गामा पनि लगानी गरेका छैन ।

नेपाल रिले घरजग्गा, बोन्ड, डिबेन्चर र ऋणपत्र तथा इन्भेस्टमेन्ट कम्पनीको सेयरमा लगानी गरेको छैन भने हिमालयन रिले सरकारी ऋणपत्र वा बचतपत्र, ‘ख’ र ‘ग’ वर्गका बैंकमा मुद्दति निक्षेप र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा लगानी गरेको देखिँदैन ।