विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले सरकारले द्रुतगतिमा आर्थिक क्षेत्रको सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउन बाधकका रुपमा रहेको कानून अध्यादेशबाट संशोधन गरेको बताएका छन् । अध्यादेशले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्दै मुलुकमा उत्पादन, उत्पादकत्व बढने, राजगारीका अवसर सिर्जना हुने र लगानी बढ्ने उनको दाबी थियो ।
उद्योग संगठन मोरङले शनिबारदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा आयोजना गरेको विराट एक्स्पो २०२५ को उद्घाटन गर्दै मन्त्री पौडेलले सुशासनका क्षेत्रमा देखिएका समस्याको समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन विद्यमान कानूनलाई संशोधन गर्न अध्यादेश ल्याइएको जिकिर गर्दै अध्यादेश ल्याउनु पहिला सम्बन्धित क्षेत्रका प्रतिनिधिसँग प्रयाप्त छलफल गरेर अध्यादेश ल्याइएको दाबी गरे ।
अध्यादेशको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परीसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका सबै निजी क्षेत्रका छाता संगठनहरुले स्वागत गरेको उल्लेख गर्दै पौडेलले प्रायोजित मानसिकता भएका केही पात्रहरुले मात्र अध्यादेशको विरोध गरेको बताए । ‘उद्योगी र व्यवसायीका समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको हो । कानुनमा संशोधन सदनबाट गर्न सकिन्थो,’ पौडेलले भने, ‘सदनबाट कानून पास गर्न धेरै समय लाग्ने झण्झटिलो प्रक्रिया भएका कारण सरकार अध्यादेश ल्याउन बाध्य भएको हो ।’ सरकार आर्थिक विकास र निजी क्षेत्रका समस्या प्रति सरकार कति संवेदनशील छ भन्ने उदाहरण अध्यादेश रहेको पौडेलको जिकिर थियो ।
अहिले अर्थतन्त्रको सूचक र राजस्व संकलनमा केही सुधार आएको पौडेलको दाबी थियो । मुलुकको आर्थिक विकास र राजस्व संकलनका क्षेत्रमा सुधार भइरहेको उल्लेख गर्दै पौडेलले मुलुकको विद्ययमान राजस्व नीति, करका दायरा र भन्सार विधेयकमा अनगिन्ती समस्या रहेको बताए । राजस्व नीति, करका दायरा र भन्सार विधेयकमा करेक्सन गर्न जरुरी भएको उल्लेख गर्दै पौडेलले भने, ‘त्यसका लागि वैधानिक प्रक्रिया आगामी जेठ १५ पर्खनुको विकल्प छैन ।’ उनले आगामी बजेटमा राजस्व नीति, करका दायरा र भन्सार विधेयकमा रहेको आर्थिक विकासका अवरोध र निजी क्षेत्र समस्या समाधान हुनेगरी करका बेथिति करेक्सन गरेर राजस्व अभिवृद्धि, व्यवसाय प्रवर्द्धन र उद्योग पुनर्स्थापनको वातावरण बनाउने आश्वासन दिए । आर्थिक विकास, उद्योग र व्यवसायको विकासमा अप्ठयारो पार्ने जुनसुकै नीतिलाई सरकारले संशोधन गर्ने उनको भनाई थियो ।
विराटनगरमा औधोगिक प्रर्दशनी स्थल निर्माण गर्न प्रदेश सरकार र महानगरपालिकासँग मिलेर जग्गा खोज्न पौडेलले यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘जग्गा उपलब्ध गराउनुस्, ‘ उनले भने, ‘विराटनगरमा स्थायी औधोगिक प्रर्दशनी स्थल निमार्णकालागि संघीय सरकार सहकार्य गर्न तयार छ ।’
यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेद्र राउतले विराटनगरलाई कोशी प्रदेशको आर्थिक राजधानीका रुपमा विकास गर्न संघीय सरकारलाई सहकार्य गर्न आग्रह गरेका थिए । उनीहरुले विराटनगरमा स्थायी औधोगिक प्रर्दशनी स्थलको निर्माण गरिनु पर्ने, औधोगिक ग्रामको व्यवस्था हुनुपर्ने, खुला सीमा नाकामा कडाई गरी स्थानीय बजारलाई चलायमान गरिनु पर्ने लगायतका माग प्रस्तुत गरेका थिए ।
शनिबारदेखि सुरु आठौ संस्करणको विराट एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट मोडलमा सञ्चालन भएको छ ।
संगठनले २०५३ सालमा पहिलो एक्स्पोको रुपमा कोशी महोत्सवको नामबाट गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डका रुपमा स्थापित हुन सफल भएको छ । यो विशुद्ध रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यावसायीक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न मद्यत पुग्ने आयोजकको विश्वास छ ।
यसअघि सातौँ संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवं औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा केन्द्रित दैनिकरुपमा फरक फरक विषयमा सेमिनारहरु आयोजना गरिएको थियो । नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागी रोजगार पेभिलियन, पर्यटन प्रवर्धनका लागी पर्यटन पेभिलियन र लगानी पेभिलियनहरुको छुट्टा छुट्टै व्यवस्थापन गरि समग्र औद्योगिक विकासको इकोशिष्टमको प्रवर्धन गर्ने प्रयास गरि केहि फरक र नयाँपन दिने प्रयत्न गरिएको थियो ।
युवा पलायन वर्तमान समयमा सर्वत्र चासो र चिन्ताको विषय भईरहेको अवस्थामा युवालाई स्वदेशमै काम गर्नसक्ने वातावरण तयार गर्न फाउण्डेशनबाटै काम गर्नु पर्छ भन्ने उद्देश्यले आठौं संस्करणको विराट एक्स्पोलाई त्यस प्लेटफर्मको रुपमा प्रयोग गरिने उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले बताए । एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशिलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको उनको भनाई थियो ।
विशेषगरी युवाहरुले डिजीटल प्रविधिमा आधारित रहेर सञ्चालन गरेको उद्योग–व्यावसायले प्राप्त गरिरहेको सफलतालाई ध्यानमा राखेर करियर काउन्सिलिङ, ए.आई. कन्फ्रेन्स, स्र्टाटप भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, बीटुबी विराट बजार, विजनेस क्लिनिकलाई विशेष आकर्षणको रुपमा एक्स्पोमा समावेश गरिएको छ । त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोबाइल लगायतको सहभागिताका अलावा उद्यमशिलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरु प्रदर्शन पनि गरिने बताइएको छ ।
एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक सेसनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रवर्धन गर्नका लागि गन्तव्यहरुको प्रवर्धन, पर्यटन पूर्वाधार, सााँस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्ने फरवार्ड र ब्याकवार्ड लिंकेज अभिवृद्धि गर्ने विभिन्न कृयाकलापहरु सञ्चालन गरिनेछ ।
उद्योग संगठन मोरङले विगत केही समय देखि व्यावसायीक विकासको ईको सिस्टमलाई प्रवद्र्धनगर्ने अभिप्रायले फाउन्डेसनका रुपमा गर्दै आएको कार्यलाई सेन्टर फर एक्सलेन्स स्थापना गर्ने भावनाका साथ यसपटकको आठौं संस्करणमा विराट बजार बीटुबी, बिराटनगर इन्कुबेश सेन्टर एवं भिजन कोशी ह्याकाथन, रोजगार कोशीः प्राविधिक शिक्षाको महत्वबारे करिअर काउन्सेलिङ, डिजिटल कोशीः एआई कन्फेरेन्स, थिमेटिक शेसनहरुलाई विशेष महत्वका साथ एक्स्पोमा समावेश गरेको छ ।
एक्स्पोमा ९ पेभिलियन र २६८ वटा स्टल छन् । त्यसमा विराट बजार बीटुबीका १२ वटा स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथनका १२ वटा स्टल, रोजगार कोशीका १२ वटा स्टल, व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० वटा स्टल, अटोमोबाइल्सका २० वटा स्टल, औद्योगिक क्षेत्रका ७५ वटा स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज ७५ वटा, खाद्यका १० वटा र प्रायोजकका १२ वटा स्टल राखिएका छन् ।
कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापहरुमा डिजिटल प्रविधिको प्रयोग र प्रविधिमा आधारित नविनतम ज्ञान एवं लगानीलाई समन्वयात्मकरुपमा प्रोत्साहन गर्न एक्स्पोमा डिजिटल कोशी ब्रिजिङ इनोभेशन एन्ड इन्भेस्टमेन्ट थिम चयन गरिएको छ ।
प्रतिक्रिया