कर्णाली डेभलपमेन्ट बैंक घोटालामा सीआईबीले सुरु गर्‍यो अनुसन्धान


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा अनुसन्धान सुरु गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समितिले तयार पारेको प्रतिवेदनको आधारमा नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई ११ पुसमा समस्याग्रस्त घोषणा गरी व्यवस्थापन हातमा लिएको थियो । सोही प्रतिवेदन समेतको आधारमा नेपाल राष्ट्र बैंकले आवश्यक अनुसन्धान गर्न पत्र पठाए पनि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रतिवेदनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव बेदप्रकाश ठकुरी र हालका प्रमुख कार्यकारी अधिकृत र वित्त विभाग प्रमुख निरजविक्रम शाहको संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।

प्रतिवेदनमा राष्ट्र बैंकले आन्तरीक रुपमा थप अध्ययन गरी आवश्यक कारवाहीको लागि केन्द्रिय अनुसन्धान ब्युरोमा पठाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट आवश्यक अनुसन्धानको लागि गत साता पत्र पठाएपछि असुसन्धान सुरु गरेको सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक सुधिरराज शाहीले बताए ।

‘राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि संयुक्त छलफल समेत भएको थियो । उहाँहरुले आवश्यक कारवाही अगाडि बढाएर थप अनुसन्धानको लागि हामीलाई पठाउनु भएको छ,’ उनले भने, ‘हामीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेका छौं ।’

कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै मुद्दति निक्षेपको नक्कली प्रमाणपत्र बनाएर नेपाल राष्ट्र बैंकमा पेश गरेको खुलेको थियो । यस्तै बैंकको आन्तरीक अनुसन्धानमा १ अर्ब २६ करोड रुपैयाँको वर्तमान र पुर्व व्यवस्थापन समितिको नेतृत्व र पुर्व अध्यक्षहरुको समेत संलग्नतामा अपचलन भएको खुलेको थियो । सोही अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकमा पुगेपछि बैंकले राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन हातमा लिएको थियो ।

बैंकमा नेपाल राष्ट्र बैंकले गत असारमा अन्तिममा गरेको विशेष अनुगमन प्रतिवेदनको आधारमा ११ मंसिरदेखि शीघ्र सुधारात्मक कारवाही सुरु गर्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाइएको थियो थियो । राष्ट्र बैंकले कारवाही सुरु गरेपछि बैंकले ५ पुस २०८१ मा बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले ८ पुसमा प्रतिवेदन बुझाउँदै व्यवस्थापन बैंकका पुर्व अध्यक्षहरुको संलग्नतामा १ अर्ब २६ करोड रकम हिनामिना भएको हुनसक्ने निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदनपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन लिएको हो ।

राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार राष्ट्र बैंकले गरेको छानविन प्रतिवेदन आउन बाँकी छ । तर, बैंकले तयार गरेको प्रतिवेदनमा राष्ट्र बैंकले व्यवस्थापन लिएपछि भएको अपचलनहरुको विवरण समेत थप गरी सिआईबीमा अनुसन्धानको लागि पठाएको थियो ।