तीन विज्ञले कांग्रेस सांसदलाई पढाए सरकारले जारी गरेको अध्यादेश


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमवारसम्म चल्ने भएको छ ।

आइतवार संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेश,उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरुलाई जानकारी दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उनले जनाए ।

आगामी अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरुको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरुको जवाफ दिएर टुंगोमा पुगिने बताए ।

उनले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पारेको जानकारी दिए ।

उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको उल्लेख गरे ।

बैठकमा तीन जना विज्ञहरुले सांसदहरुलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरुको अन्तरबस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताए ।

उनले पार्टीभित्र धेरै विषयका वादविवाद भए पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरुले बोकेर हिँड्नुपर्ने कर्तव्य भएको बताए ।