बैंकिङ प्रणालीमा ७७ अर्ब अधिक तरलता, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अत्यधिक तरलता भएको भन्दै केन्द्रीय बैंकले यति धेरै रकम प्रशोचन गर्न लागेको हो ।

आइतबार बोलकबोल माध्यमबाट खिच्न लागिएको यो रकम माघ २७ गते सावाँब्याजसहित फिर्ता हुनेछ । राष्ट्र बैंकले नियमित निक्षेप संकलनमार्फत् तरलता प्रशोचन गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट संकलन हुने निक्षेपको ब्याजदर पनि बोलकबोलमार्फत् नै तय हुनेछ ।

राष्ट्र बैंकका अनुसार हाल बजारमा ७७ अर्ब रुपैयाँ अधिक तरलता छ ।

केन्द्रीय बैंकका अनुसार हाल राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् २ खर्ब ५५ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् ४७ अर्ब रुपैयाँ खिचेर राखेको छ ।

गत आइतबार राष्ट्र बैंकले ४० अर्बको तरलता प्रशोचन गर्न कबोल माग गरेकामा १८ अर्ब १५ करोड रुपैयाँको मात्र आवेदन परी सोही रकम बराबर रकम खिचिएको थियो । यसरी बोलकबोलमार्फत् खिचिएको निक्षेपको ब्याजदर अधिकतम ३ र न्यूनत २.९९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु