कुन विकास बैंकका अध्यक्ष र सञ्चालकले कति बुझे भत्ता ?


काठमाडौं । विकास बैंकका अध्यक्ष तथा सञ्चालकलाई बैंकले तलब दिँदैन । तर, विकास बैंकहरुले अध्यक्ष तथा सञ्चालकलाई बैठक भत्ता, यातायात खर्च, सञ्चार खर्च, इन्टरनेट, इन्धन, पत्रपत्रिका लगायतका शीर्षकमा ठूलो रकम भुक्तानी गरेका हुन्छन् ।

सबै विकास बैंकले अध्यक्ष र सञ्चालक बैठकमा भएको उपस्थिति अनुसार भत्ता दिने गरेका छन् ।

अध्यक्ष तथा सञ्चालकले बैठकबाट लिएको भत्तामा आयकर ऐनले तोकेको व्यवस्था अनुसार कर तिर्नुपर्छ । विकास बैंकका अध्यक्षले न्यूनतम ८ हजारदेखि अधिकतम १५ हजार रुपैयाँसम्म दिने गरेका छन्। यस्तै सञ्चालकले न्यूनतम ७ हजारदेखि अधिकतम १३ हजार रुपैयाँसम्म भत्ता दिएका छन् ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले गत आर्थिक वर्षमा सञ्चालकलाई १८ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले गत आवमा अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र सञ्चालकलाई ९ हजार रुपैयाँ भत्ता दिएको छ । यस्तै सञ्चालक समितिका अध्यक्ष र सञ्चालकलाई टेलिफोन खर्च तथा पत्रपत्रिका बापत मासिक ४ हजार रुपैयाँ दिएको छ ।

बैंकले अध्यक्ष श्याम प्रसाद बस्याललाई २ लाख ३८ हजार, सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठलाई २ लाख ६४ हजार, दिपेन्द्र श्रेष्ठलाई ३ लाख २३ हजार, बिमल पाण्डेलाई ३ लाख २३ हजार, संजिव ढकाललाई २ लाख ४६ हजार, सरस्वती पाठकलाई २ लाख ४६ हजार र मुकुन्द राज आचार्यलाई २ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले गत आवमा सञ्चालकलाई ३२ लाख ८३ हजार ५०० रुपैयाँ भत्ता दिएको छ । जसमा बैठक भत्ता मात्रै २९ लाख ५ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै पत्रपत्रिका, मोबाइल र ईन्टरनेट बापत ३ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र सञ्चालकलाई ९ हजार दिने गरेको छ ।

कामना सेवा

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालकलाई बैठक भत्ता स्वरुप १४ लाख ७६ हजार रुपैयाँ र यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिका खर्च सहित ३६ लाख ८० हजार ११५ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवमा अध्यक्ष सुदिप आचार्यलाई प्रति बैठक भत्ता ९ हजार र अन्य सञ्चालकलाई प्रति बैठक भत्ता ८ हजार रुपैयाँका दरले भुक्तानी गरेको छ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले आव २०८०/८१ मा सञ्चालकलाई भत्ता बापत मात्रै २० लाख ६३ हजार तथा भत्ता र टेलिफोन, पत्रपत्रिकासहित २८ लाख ६४ हजार ६१३ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै यातायातबापत ४ लाख ३७ हजार ७४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकले कामको सिलसिलामा सञ्चालकहरुलाई भ्रमण भत्ता बिल बमोजिम तथा दैनिक भत्ता स्वदेशमा ६ हजार र सार्क मुलुकमा १०० अमेरिकी डलर र सार्क बाहेकका मुलुकमा १६० अमेरिकी डलर प्रति दिनका दरले प्रदान गरेको जनाएको छ ।

बैंकले अध्यक्ष तथा सञ्चालकलाई टेलिफोन सुविधा वापत मासिक २ हजार र पत्रपत्रिका सुविधा वापत मासिक १ हजार ५०० रुपैयाँ प्रदान गरेको जनाएको छ ।

बैठक भत्ता बापत अध्यक्षलाई प्रति बैठक भत्ता ११ हजार र सञ्चालकहरुलाई प्रतिबैठक बापत ९ हजार रुपैयाँ प्रदान गरेको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले गत आवमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकलाई ३९ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम अध्यक्षलाई प्रति बैठक भत्ता १२ हजार र सञ्चालकलाई ११ हजार (कर सहित) दिने गरेको छ ।

बैंकले अध्यक्ष तथा सञ्चालकलाई मासिक टेलिफोन सेवा र पत्र पत्रिका सुबिधा प्रदान गर्ने गरेको जनाएको छ ।

मुुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले गत आव २०८०/८१ मा बैठक भत्ता बापत १७ लाख २९ हजार ५०० रुपैयाँ र यातायात, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका तथा अन्य खर्च बापत १३ लाख ६२ हजार ३२७ भुक्तानी गरेको छ । बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता १५ हजार र सञ्चालकलाई १३ हजार दिने गरेको जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले गत आवमा अध्यक्ष तथा सञ्चालकलाई बैठक भत्ता बापत १० लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता बापत ८ हजार र सञ्चालकलाई प्रति बैठक भत्ता ७ हजार रुपैयाँ दिने गरेको छ । गत आवमा बैंकलेमा सञ्चालकको २३ पटक बैठक बसेको छ ।

उपत्यका भन्दा बाहिरबाट समितिको बैठकमा भाग लिन आउने सञ्चालकहरुलाई दैनिक भ्रमण भत्ता वापत प्रति दिन ३ हजारका दरले प्रदान गर्ने र पत्रपत्रिका तथा टेलिफोन खर्च वापत प्रतिमहिना प्रति सञ्चालक १ हजार ५०० रुपैयाँ प्रदान गर्ने गरेको जनाएको छ ।

यातायात तथा अन्य खर्च वास्तविक खर्चको आधारमा बिल सोधभर्ना गर्ने गरिएको जनाएको छ । गत आवमा सञ्चालक समितिका पदाधिकारीहरुलाई प्रदान गरिएको अन्य खर्च ५ लाख ३४ हजार ६७७ रुपैयाँ रहेको जनाईएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवमा सञ्चालक लगायतलाई विभिन्न भत्ता बापत २५ लाख ६२ हजार ४३० रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र अन्य सदस्यलाई प्रति बैठक ९ हजार भुक्तानी दिएको जनाएको छ ।