काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सवारी साधनमा प्रदुषणको मात्रा धेरै भए मर्मत गर्न आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत शाहले महानगरले ट्राफिक प्रहरीसँगको सहकार्यमा सवारी साधनको प्रदुषण जाँच गरिरहेको भन्दै आफ्नु साधनको अवस्था ठीक नभए मर्मत गर्न सुझाव दिएका हुन् ।
अवस्था ठीक नभएका साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्ने छ ।
बालेनले के लेखे ?
के तपाईंको सवारी साधनको अवस्था ठिक छ , प्रदुषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला ।
हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको छौं ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ ।
सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।
सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ ।
जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।
प्रतिक्रिया